मधेश प्रदेश सभामुखको मनोयन दर्ता पुस ३० गते
जनकपुरधाम- मधेस प्रदेश सभाको सभामुख पदका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ ।
नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेसँगै शनिबार बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले यस्तो सहमति गरेको हो ।
ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा भएको सो बैठकमा सभामुख र उपसभामुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेश सभामा निर्णयार्थ पेस गरेर निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको कार्य व्यवस्था तथा परामर्श समिति तथा प्रदेश सभा सदस्य रामआशिष यादवले जानकारी दिएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरेपछि कार्य सूचीबारे समेत बैठकमा छलफल भएको बताए । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको तर्फबाट शुभकामना मन्तव्य राख्ने प्रदेश सभा सदस्यहरूको नामावली सिफारिस गरिएको जनाइएको छ ।
प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानुनी व्यवस्था रहेको छ । मधेस प्रदेश सभाले नयाँ सभामुख नपाएसम्म सप्तरी–४ ‘क’ बाट निर्वाचित ज्येष्ठ सदस्य न्यौपानेले प्रदेश सभाको अध्यक्षता गर्नेछन् ।