वडाध्यक्ष सिग्देलद्वारा जाहेरी स्थगित गर्न प्रहरीलाई आग्रह
मकवानपुर - कार्यकक्षमै पिटाइका खाएका वडाध्यक्षले आफैंले दिएको किटानी जाहेरी हाललाई स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको बताएका छन् ।
गलत कार्यमा लाग्नेलाई सबक दिएर भन्दा पनि नरमबाटोबाट सुधार्न सकिने भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल जाहेरी स्थगित गरेका हुन् ।
आफूलाई कार्यकक्षमै कुटपिट गर्ने आफ्नै पार्टीको जिल्ला सदस्य सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सिग्देलले कार्यालयम नै आज पत्रकार सम्मेलन गर्दै जाहेरी दिएको २४ घण्टामा नै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न अनुरोध गरिसकेको बताए । 'कारबाही नै सबैथोक हैन नी, ढुङ्गाले हान्नेलाई फूलले पनि हान्न सकिन्छ,' उनले भने, 'कसैको दबाबमा आएर मैले जाहेरी स्थागित गर्न भनेको हैन ।' उनले आफूमाथि गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको बताए ।
स्थानीय भुटनदेवि माविको व्यवसायिक सटर भाडामा दिने टेण्डरबारेको विवाद हुँदा आफूलाई लामाले पिटेको उनले बताए । एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए ।
उनले सटरको टेण्डरमा आफ्नो कुनै संलग्नता नरहेको र सटरको विषयमा समाचार लेखाएको विषयमा आफूमाथि आरोप लगाएकाले विवाद उत्पन्न भएको बताए । घटनापछि सम्बन्धित भुटनदेवी माविलाई सटरको टेण्डर सम्बन्धी सबैकाम तत्काललाई स्थगित गर्न समेत पत्र काटेको बताए ।