गैरीगाउँको प्यास मेटाउने 'पानी पधेरो'

अतिन आचार्य | साउन ११, २०७९

काठमाडौँ- खाली जारका लाम । वरिपरि पानी भर्ने पालो कुरेर बसेका मान्छे । काठमाडौँ महानगरपालिका-९ स्थित 'पानी पँधेरो'मा अचेल सधैँ यस्तै दृष्य देखिन्छ। साँझ पर्नेवित्तिकै गैरीगाउँको पँधेरोमा स्थानीय जार लिएर पुग्छन् । काकाकुल काठमाडौँलाई पानी पधेरोले राहत प्रदान गरेको छ ।

मंगलबार छेउमा उभिएका एक पुरुषले 'सिक्का' हाले । सिक्का हाल्नेवित्तिकै धाराबाट कलकल पानी आयो । 

छेउमै जार राखेर श्याम कार्की उभिएका थिए । पधेरोमा उनी नियमित पानी लिन आउँछन् । धारामा पानी थाप्नु उनको दैनिकीजस्तै बनेको छ ।

घरको धारामा सातामा एक पटक मात्र खानेपानी आउँछ । नवनिर्मित धाराबाट निःशुल्क पानी थाप्न पाउँदा उनी मख्ख छन् । साँझ हुनासाथ जार थाप्न आउने गरेको उनले बताए ।

'निःशुल्क पानी प्रयोग गर्न पाइएको छ । वातावरण सफा छ' उनी भन्छन्,' एक सातादेखि हामीले धाराबाट निःशुल्क पानी लैजान पाइरहेका छौँ । सिक्का हाल्नसाथ एक जार पानी पाइन्छ ।' घरको धारामा भन्दा पनि पँधेरोको धारमा शुद्ध पानी पाइने उनी बताउँछन् । तर, धारामा बेलेका मात्रै पानी आउँछ । 'बिहान पनि पानी आइदिए हुन्थ्यो,' उनी भन्छन् । ​

गाउँको सम्झना

उपत्यकामा खानेपानीको अभाव छ । केही महिनाअघि मेलम्चीको पानी आए पनि अहिले बन्द छ ।

पर्याप्त खानेपानी नहुँदा अधिकांश घर-घरका धारा बन्द छन् । खानेपानी नहुँदा मानिसहरू जारको पानी किनेर पिउन बाध्य छन् । काठमाडौँमा खरिद गरिएका पानी शुद्ध पाइँदैनन् । विभिन्न स्थानमा केही समयअघि जारको पानीमा हैजाको किटाणु फेला परेको थियो । पानीको हाहाकार भइरहँदा टोलमा व्यवस्थित तथा धाराबाट शुद्ध खानेपानी पाउँदा स्थनीय हर्षित छन् ।

धारामा भेटिएकी स्थानीय अर्की दिलमाया तामाङ्ग सफा वातावरणमा शुद्ध पानी पाइने भएकाले दैनिक धारामा पुग्न थालेको बताउँछिन् । उनले पँधेरोको नामले गाउँमा पानी लिन गएको सम्झना आउने भएकाले धारामा पानी थाप्न आएको बताइन् ।

गाउँमा पानी थाप्ने ठाउँलाई पँधेरो भन्ने गरेको स्मरण गर्दै उनले सुनाइन् । उनका अनुसार पँधेरोको ठाउँ ठूला-ठूला कंक्रिटको पानी टंयाकी लिएको छ । पाइपद्वारा घर-घरमा खानेपानी पुगेको छ ।' काठमाडौँमा भएको धारामासमेत कयौ हप्तासम्म पानी आउदैन,' उनी भन्छिन् ।

पँधेरो नाम देख्दा विगत ताजा भएर आएको उनले बताइन् । किनेको पानी शुद्ध  नभएकाले धारामा धाउने गरेको उनको भनाइ छ । 'गाउँघरमा पाइने पानी जस्तै शुद्ध र चिसो छ,' उनले भनिन् ।

१० रुपैयाँमा २० लिटर पानी 

महानगरभित्र धेरैले टयांकरका पानी प्रयोग गर्छन् । टयांकरबाट ल्याइएको पानी शुद्ध हुन्छ/हुन्न त्यो पनि थाहा हुन्न । टयांकरको पानी प्रयोग गरिरहेका वडा ९ बासीलाई सफा र शुद्ध खानेपानीको व्यवस्था शक्ति विनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गरेको हो ।

पानी पँधेरो जेठको दोस्रो सातादेखि सुरु भएको थियो । करिब डेढ महिना निर्माण सम्पन्न भएको समितिका अध्यक्ष विकाश गौतमले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको पहलमा खानेपानी डिभिजन कार्यालय पाँच भक्तपुरमार्फत टंयाकीसहितको धारा निर्माण भएको हो । करिब ३५ लाख लागतमा बनेको हो । स्थानीयले कुल लागतको १० प्रतिशत श्रमदान गरेका हुन् ।

महानगरभित्र हालसम्म २ वडा पँधेरो निर्माण गरेको छ । ३२ वटामा ४ निर्माण भइसकेको छ । ९ मा एउटा बनिसकेको र ३ वटा बन्न बाँकी रहेको छ ।

'पँधेरोको पानी साउन १ गतेबाट परीक्षण सुरु गरिएको हो,' समितिका अध्यक्ष गौतमले भने,' दुई सातासम्म सबैलाई निःशुल्क पानी प्रयोग गर्न दिइन्छ । प्रत्येक दिन साँझ एक घण्टा पानी प्रयोग गर्न दिएको छ ।'

समितिले बिहान र बेलुकाको समय गरेर जम्मा चार घण्टा पानी वितरण गर्ने योजना बनाएको छ ।  चार घण्टामा २ हजार लिटर पानी उत्पादन हुन्छ । बिहान २ घण्टा ७ देखि ९ र बेलुका ५ देखि ७ बजेसम्म पानी वितरण हुनेछ । एक जार पानीको मूल्य १० रुपैयाँ तोकिएको उनले जानकारी दिए ।

पिउन योग्य पानी 

सिक्का हालेपछि धाराबाट पानी झर्ने व्यवस्था गरिएको गौतम सुनाउँछन् । एउटा धाराबाट २० लिटर पानी झर्ने उनले जानकारी दिए । एउटा सिक्काको १० रुपैयाँ पर्ने उनले प्रस्ट पारे ।

पँधेरोमा चार वटा धारा छन् । जार भरेर पानी लैजाने ग्राहकलाई शुल्क लिए पनि पँधेरोमा पिउनेलाई शुल्क नलिने उनले जानकारी दिए । पिउनका लागि धाराबाट एक लिटर पानी झर्छ । पानीलाई ल्याबमा परीक्षण गरिएको उनले बताए । पिउन योग्य पानीको स्वीकृति पाइसकेको छ ।

'जमिन मुनिबाट बोरिङ गरेर पानी निकालिएको छ,' पँधेरोको प्राविधिक पक्षको जानकारी दिँदै उनी सुनाउँछन्,' भित्र २ वटा सिलिण्डर छ । टंयाकीको क्षमता २ हजार लिटर छ । पानीमा भएको फलाम हटाउँछ । 'र' टयांकीले पानी संकलन गर्छ । आर ओ, युभी र ओजनबाट फिल्ट्रेसन गरी केमिकल डोजिङ गरिन्छ । खान योग्य बनाउन सय-सय लिटर टयांकीमा डोजिङ गरिन्छ ।'

अन्तर्राष्ट्रिय गुणस्तरको पिउने पानी

समितिले अत्याधुनिक मेसिनबाट पानी उत्खनन् गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तरको पिउने पानी रहेको गौतम दाबी गर्छन् ।

सिक्काको बदलामा रिचार्ज कार्डबाट पानी पाउन सक्ने व्यवस्था मिलाइने उनले बताए । 'मेसिनको माध्यमबाट रिचार्ज हुन्छ । समितिको कर्मचारीसँग मास्टर कार्ड हुन्छ,' उनले कार्डको बारेमा थप्दै भने,' उपभोक्तासँग कार्ड हुन्छ । उनीहरूले पानी लिन आएको समयमा रिचार्ज गरेर पानी पाउन सक्छन् । पाँच पटक रिचार्ज गरेमा ५० पटकसम्म पानी पाउन सक्छन् । उपभोक्ताले क्वीन लिने झन्झटबाट मुक्ति पाउँछन् ।'

दैनिक सय जना पँधेरोमा आउने गरेको उनले जानकारी दिए । 'उपभोक्तालाई धारामा नुहाउन प्रतिबन्ध लगाइएको छ,' उनी भन्छन् । आगामी १४ गते पँधेरोको उद्घाटन गरिने गौतमको भनाइ छ । उद्घाटन भएपछि सबैलाई शुल्क लाग्ने उनले प्रस्ट पारे ।

चन्द्रागिरि नगरको ‘शून्य फोहर अवधारणा’ : छ किसिमबाट वर्गीकरण, फोहर राख्न नगरवासीलाई झोला वितरण

इकागज | साउन १०, २०७९

काठमाडौँ - फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरु...

गर्मी तथा वर्षायामका कारण संक्रामक रोगको जोखिम बढ्दो : स्वास्थ्य मन्त्री लामा

इकागज | साउन ९, २०७९

हेटौंडा - बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्र...

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या, भाग्‍न खोज्दा श्रीमानको पनि मृत्यु

इकागज | साउन ९, २०७९

चितवन- चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भर...

संघीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न मुख्यमन्त्री पाण्डेको आग्रह

इकागज | साउन ८, २०७९

हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदे...