जताततै फोहोरको डङ्गुर, प्रशोधन गर्ने मेसिन नेपालमै बन्छ अनि सरासर विदेशिन्छ
मकवानपुर - जनप्रतिनिधिहरूलाई चुनौती बनेको छ फोहोर व्यवस्थापनको विषय । देशको संघीय राजधानी होस वा प्रदेशको राजधानी वा जिल्ला सदरमुकामहरू प्रायः सबै तिर फोहोर व्यवस्थापनको चुनौती छ । प्लाष्टिकजन्य फोहोरको कारण वातावरणीय सरसफाइ मुख्य समस्याको रुपमा रहेको छ ।
तर त्यही फोहोरलाई प्रशोधन गरेर प्रयाप्त आम्दानी गर्न सकिने मेसिन नेपालमै बन्छ र विदेशिन्छ । तर नेपालमा हालसम्म प्रयोग मै ल्याएको छैन । नजिकको तीर्थ हेला भने झै नेपालमै एक यस्ता व्यक्ति छन् जसले फोहोरलाई प्रशोधन गरेर, विद्युत, ग्याँस, कोइलालगायतको उर्जा उत्पादन गर्ने मेसिन बनाउँछन, र विदेश पठाउँछन् । जुन कुरा नेपालका केही नेतृत्वहरुलाई थाहा छ, तर उनीहरुले चासो नदिएको कारण नेपालमा हालसम्म एउटा पनि खपत भएको छैन ।
फोहोर प्रशोधन गर्ने मेसिनको अवलोकन गर्ने नेपाली नेतृत्वहरु जापान पुग्छन्, तर जापानमा प्रयोग भैरहेको फोहोर प्रशोधन मेसिन नेपालमै बनेको हो । नेपाली भूमिमा नै यस्तो मेसिन बनेको छ जसले फोहोरलाई मोहोर बनाइ रहेको छ । शहर र गाउँलाई प्रदूषित बनाइरहेको प्लाष्टिक, सिसा, टिन जस्ता फोहोरलाई जिरो वेष्ट बेसमा मेसिनले प्रशोधन गर्छ । जसले वातावरणीय प्रभाव जिरो (शून्य) प्रतिशत रहेको दाबी गरिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ कमानेका कृष्ण खतिवडाले विगत चार वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर सो मेसिन निर्माण गर्दै विदेश पठाइरहेका छन् । मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्याँसलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ । शुद्ध ग्याँस जुन वायुमण्डलमा छोड्न मिल्छ, तर त्यो पनि सिधै वायु मण्डलमा नछोडी प्रशोधन गर्नुपर्ने फोहोर सुकाउन प्रयोग गर्ने गरेको उनले बताए । मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने क्षमता राख्दछ । उक्त प्रक्रियाबाट ०.५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिए ।
उनका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिंकर निस्कन्छ । जुन सिमेण्ट उत्पादन गर्न सकिन्छ । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ । उनले हालसम्म ४ वटा मेसिन जापान पठाइसकेका छन् ।
अन्य मुलुकबाट ठूलो परिमाणमा मेसिनको माग भएको तर नेपालबाट पठाउनको लागि नेपाल सरकारबाट प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानमा पार्टपुर्जा लगेर फिट गरेर बेच्नको लागि पार्टपुर्जासहित ५० जना कामदार लिएर आफू जापान जान लागेको उत्पादन कम्पनीका सञ्चालक खतिवडाले जानकारी दिए । उनको उद्योगमा कार्यरत सबै मजदुर जापानबाट तालिम प्राप्त छन् ।
उनले मेसिन निर्माणको लागि आवश्यक कच्चा पदार्थहरु चीन, इटाली, जापान र केही सामग्री नेपालबाट लिने गरेका छन् । मेसिनको सेट उनले ५ लाख डलरमा बेच्ने गरेका छन् ।
नेपालमा उद्योगीहरुलाई प्रोत्साहन भन्दा हतोत्साही बनाउने गरेको उनले गुनासो गरे । आफूले भन्सारमा तिरेको कर रिलिज नगर्ने तर आफूसँग सरकारले क्षणभरमै तिर्नुपर्ने बाध्यकारी नियमको कारण पनि उद्योगलाई सहज रुपमा चलाउन समस्या भएको उनले बताए । जापानबाट सामान नपुगि पैसा नआउने र यता आफूले पहिलै लगानी गर्नुपर्ने भएकोले समस्या हुने गरेको उनले गुनासो गरे ।
`केही दिन अघि पुलचोक इञ्जिनियरिङ क्याम्पसले यसबारे चासो राखेको थियो, उहाँहरुले यस्तो ग्याँसिफिकेसन गर्ने मेसिन खोज्नु भएको रहेछ` खतिवडाले भने । रासायनिक मल बनाउनको लागि आवश्यक कार्बन र हाइड्रोजन ग्याँस यसबाट पाइने र नाइट्रोजन ग्यासको मात्रै आवश्यक हुने उनले बताए ।
हाल बंगलादेशबाट रासायनिक मल ल्याउने गरेकोमा नेपाल आत्मनिर्भर भई यहाँबाट बंगलादेश पठाउन गरी उत्पादन गर्न सकिने पुल्चोक इञ्जिनियरिङ क्याम्पसका टिमले आफूसँगको भेटमा बताएको खतिवडाले स्मरण गरे ।
यही मेसिनले फोहोर प्रशोधन गर्दा प्राप्त हुने कच्चा पदार्थबाट इट्टा समेत बनाउन सकिन्छ । रोड ढलान गर्ने सामग्रीहरु पनि बनाउन सकिन्छ । कति तौलको गाडी गुड्ने त्यो भार अनुसारको कडा हुने गरी भुइँ पनि ढलान गर्न सकिने उनले बताए । खतिवडाले आफ्नो उद्योगमा आफैले उत्पादन गरेको कच्चा पदार्थको प्रयोग गरेर भुइँ ढलान गरेका छन्, जुन ३ घण्टा मै सेट हुने गाडी गुडाउन मिल्ने उनले बताए ।
फोहोरमा बाँचेको राजनीति
फोहोर प्रशोधन गर्न नसकेको कारण चौतर्फी आलोचना खेपिरहेका नेताहरु फोहोर व्यवस्थापनलाई किन दीर्घकालीन उपाय खोज्दैनन् । कारण उनीहरुको लागि नियमित आम्दानीको स्रोत त्यही फोहोरको डङ्गुर बनिरहेको छ ।
यो मेसिनले फोहोरमा भएका टिन, फलामलगायतका बस्तु छानेर अलग गरिदिन्छ र मनग्गे आम्दानी हुन्छ । कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र प्राङ्गारिक मललगायतका सामग्री उत्पादन हुने खतिवडाले बताए । उनले तयार गरेको यो उद्योगबाट उत्पादित मेसिन वातावरणमैत्री भएको प्रमाणित गरेर जापान सरकारले बिक्रीको लागि इजाजत पाएका छन्, तर नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै व्यवस्था नभएको कारण समस्या भएको जवाफ आफूले पाएको खतिवडाले बताए ।
`आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको छ` खतिवडाले भने । `नेपालमा वातावरण मैत्री कुरा गर्दा इँटाभट्टा लगायतको उद्योगहरु समस्या पर्छन, उनीहरुलाई बचाउँन यो कुरा रोकिएको हो` उनले भने ।
`चार वर्ष पहिलो बिक्रीकै लागि अनुमति थिएन, अहिले अनुमति छ तर नेपालमा बिक्री भएकै छैन` उनले भने `बिक्रीको त परको कुरा मैले सरकारसँग मेसिन राख्ने स्थान दिनुस्, फोहोर दिनुस्, कामको अनुमति दिनुस्, सबै काम मै गर्छु तपाईंहरुको लगानी नै पर्दैन भनेको छु` खतिवडाले भने `हामीले सोचेको जस्तो फोहोर दिन सहज सरकारलाई पनि रहेनछ, सबैभन्दा बढी राजनीति त त्यै फोहोरमा रहेछ ।`
काठमाडौंको फोहोर प्रशोधनको लागि आफूले चासो दिएको तर नेतृत्वबाट साथ नपाएको उनले बताए । पूर्व मेयर विद्यासुन्दर शाक्यले हेटौंडामा आएर मेसिन अवलोकन गरेर फर्केको सुनाउँदै उनले भने `त्यै फोहोरको कारण सिसडोलमा तेत्रो समस्या छ, मलाई कम्तीमा १५/२० वर्ष काम गर्ने अनुमति दिनुस् सित्तैमा काम गर्छु भन्दा मेयर सापले धेरै कोशिस गर्नुभयो तर सक्नु भएन ।` पूर्व मेयर शाक्य मेसिन खरिदको लागि अवलोकन गर्न जापान पुगेका थिए, उनले जापान पुगेर त्यो मेसिन नेपालकै हेटौंडामा बनेको थाहा पाएपछि उनी हेटौंडा आएका थिए । `मेयर शाक्यले धेरै कोशिस गरेका हुन्, फोहोर व्यवस्थापनको जिम्मेवारी मलाई दिन, तर उहाँकै पनि केही लागेन” खतिवडाले भने “फोहोरभित्रै धेरैको राजनीति बाँचेको रहेछ ।`
बागमती प्रदेशका पूर्व मन्त्री डोरमणि पौडेलले पनि हेटौंडामा मेसिन राख्ने वचन दिएको तर, त्यो सवाल उसै सेलाएको उनले बताए । अन्य दुइ जिल्लामा पनि मेसिन राख्ने तयारी हुँदै गर्दा निःशुल्क मेसिन माग हुन थालेपछि आफूले सित्तैमा दिन नसकेको उनले बताए । मेसिनको नेपाली मुल्य २ करोड पर्ने उनले बताए ।
मेसिनबाट निस्कने विद्युत् र क्लिंकरले लगानी उठाउने भएकाले आफूले जिम्मा पाएमा उक्त काम गर्ने मनसाय भएको खतिवडाले बताए । यही मेसिनको सहायतामा नेपाललाई प्रयाप्त रासायनिक मल उत्पादन गर्न सकिने उनले बताए ।
खतिवडाले फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिनसमेत उत्पादन गर्ने साना किसिमका मेसिन पनि बनिरहेको जानकारी दिए। “फोहोरमा फोहोरमात्रै हुँदैन । त्यसमा अनेकन खालका अन्य जैविक तत्वसमेत हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिन्छ” उनले भने ।
मुख्यमन्त्री पाण्डे पनि सकारात्मक
बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त मेसिनको निरीक्षण गरेका छन् । `स्वदेशी उद्योगलाई हामीले प्राथमिकता दिंने छौ` पाण्डेले भने `फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिंकर उत्पादन हुने मेसिनको निरीक्षण गरे, त्यसको विस्तारका बारेमा अन्यपक्ष संग पनि बुझ्दैछु ।`
मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुड्डा सावित हुने बताए । यस्ता कामको प्रोत्साहनको लागि कार्यविधि बनाउने र कार्यान्वयनमा ल्याउने उनले बताए । फोहोर व्यवस्थापन गर्न समस्या रहेको सहरी क्षेत्रलाई उक्त मेसिन उपयोगी हुने मुख्यमन्त्री पाण्डेले बताए । फोहोरबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सन्दर्भमा यो राम्रो माध्यम भएको उनको बुझाइ छ ।
यसो भन्छन् खतिवडा
म सुरुबाटै औद्योगिक क्षेत्रमा आबद्ध व्यक्ति हुँ । हुन त म पहिले शिक्षक हुँ । शिक्षण पेश छोडेर २०४८ देखि औद्योगिक क्षेत्रमा उद्योग धन्दा मै काम गरे । त्यहाँ पनि म मेसिनरी पार्टहरु नै बनाउँथे । रोजीरोटी चलेकै थियो । २०५५ मा मेरी श्रीमती बिरामी भइन्, यहाँ उपचार संभव नभएपछि उपचारकै सिलसिलामा बेल्जियम गएँ । उपचार समय पनि लामै लाग्यो । अहिले पनि उपचार चलिरहेको छ उनको । त्यही बस्नुपर्ने बाध्यता भएपछि सन् २००७ बाट मैले त्यहीँ जापानिज स्टोर खोले । त्यहाँ जापानी सामानहरु युरोपको अन्य मुलुकमा सप्लाइ हुन्थ्यो ।
यसै क्रममा जापानीहरूसँग मेरो सम्बन्ध राम्रो हुँदै गयो । त्यसपछि सन् २०१५ बाट मैले यो सुरु गरे । यो मेसिन बनाउने विचार चाहिँ प्लाष्टिकको बेहाल देखेर आएको हो । संसारको प्लाष्टिकको समस्या एकदम ठुलो छ । युरोपमा झन् यसको अवस्था भयावह छ । यसलाई कसरी नियन्त्रण गर्ने, वातावरण कसरी बचाउने भन्ने कुरामा पुगेपछि मैले यो कसरी गर्ने भन्नेबारे यो काम थाले ।
यो काम थाल्नु अघि मैले जापानी धेरै इञ्जिनियरहरूसँग कार्यशालाहरूमा सहभागी भएँ । कसरी प्लाष्टिकलाई वातावरण मैत्री तरिकाले नष्ट गर्न सकिन्छ भन्नेमा जापानीहरुसँग सेमिनारमा सहभागी भएँ । त्यसबेला हाम्रो टोली इण्डियासम्म आयो । अन्य धेरै देशहरुमा पनि हामी पुग्यौं । धेरै छलफल अनुसन्धानपछि हामीले पटक पटक आर एन डी ( रिसर्च एण्ड डेपलभमेन्ट) ग¥यौ । हाम्रो टिममा युरोपियन र एसियन वैज्ञानिकहरू पनि हुनुहुन्थ्यो । पहिले जापानमा त्यसअघि नै बनेको एउटा मेसिन हामीले हे¥यौ । हाम्रो टिममा एक वैज्ञानिक थिए । उनी आईटीमा नोबेल पुरस्कार पाएका व्यक्ति हुन् ।
धेरै चरणमा हामीले आर एण्ड डी गरेपछि हामी अन्तमा फिलिपन्सको सेफु टापुमा आर एण्ड डी गर्यौ । त्यहाँ काम गरेपछि त्यो भन्दा पछिल्लो अपडेट भर्सन हामीले नेपालको मकवानपुर जिल्लाको मनहरीमा चलायौं । त्यहीबाट मैले ३ वर्ष अघिमात्रै हेटौंडामा यसलाई सारको हुँ । त्यहाँ ५२ कठ्ठा जग्गामा हाम्रो उद्योग थियो, यहाँ खुम्च्याएर सात कठ्ठा जग्गामा छौं ।
यहाँ आएपछि हालसम्म ४ वटा मात्रै मेसिन मैले बाहिर पठाएँ । त्यस अघि हामीले जहाँ जहाँ आर. एण्ड. डी गर्यौ त्यहाँ अझैसम्म मेसिन चलेकै छ । इण्डोनेसिया, सेफूलगायतको आर.एण्ड.डी निर्माण गरेको मेसिनहरु चलिरहेकै छ । यहाँ पछि हामीले अपडेट भर्सन जापानमा बनायौं र पछि यही (हेटौंडा) बनिरहेको छ ।
नेपालले हामी उद्योगीलाई खासै माया गर्दैन, हामी समस्यामाथि समस्या खेपेर काम गरिरहेका हौ, बरु मलाई जापानले डोनेशन गर्छ, उनीहरुले तत्परता पनि देखाएका छन्, नेपालले त्यो गरेको छैन । जापानको रेल वे स्टेशनहरुमा फ्री अफ कष्टमा यसको विज्ञापन गरिरहेको छ, यहाँ (नेपाल) पाटपुर्जा पठाउँदा पनि हामीलाई तर्साउने, फसाउने जस्तो कुरा आउँछ ।