लामाचौर राष्ट्रिय भलिबल : रेफ्री र खेलाडीमाथि बोतल प्रहार
पोखरा– पोखरामा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा खेलाडी र रेफ्रीमाथि बोतल प्रहार भएको छ ।
पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ र गण्डकी प्रदेशबीच भइरहेको खेलमा बोतल प्रहार भएको हो । नव आदर्श विकास समाजको आयोजनामा लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेल चलिरहँदा रेफ्री र एपिएफका खेलाडीमाथि दर्शकले बोतल प्रहार गरेका हुन् ।
खेलको तेस्रो सेट चलिरहँदा आफ्ना खेलाडीको फउल नभएको भन्दै गण्डकीका खेलाडीले सहायक रेफ्री अमित आलेसँग कुराकानी गरिरहँदा दर्शकले रेफ्री आलेलाई बोतलले प्रहार गरेका हुन् । उक्त खेलमा पहिलो र दोस्रो सेट एपिएफले २५–२२ को समान अंकले जितेको थियो । तेस्रो सेटमा दुवै टिमको २२ बराबरी रहेको अवस्थामा एपीएफको कोर्टबाट आएको बलमा गण्डकीका खेलाडी यम क्षेत्री प्रहार गर्दा फउल भएको भन्दै सहायक रेफ्रीले एपीएफलाई अंक दिएपछि विवाद भएको थियो ।
फउल विवादका विषयमा गण्डकीका खेलाडीले सहायक रेफ्री आलेसँग कुरा गरिरहेका थिए । सोही समयमा दर्शकले प्रहार गरेको बोतल सहायक रेफ्री आलेको गर्दनमा लागेको थियो । गण्डकीको पक्षमा रहेका दर्शकहरुले त्यसपछि एपीएफका खेलाडीहरुलाई पनि बोतल प्रहार गरेका थिए । केही समय मैदानमा बोतलको वर्षा भएको थियो । सोही कारण खेल केही समय रोकिएको थियो ।
विवाद समाधानपछि एपीएफलाई अंक दिएर २३–२२ को अवस्थामा खेल पुनः सुरु भएको थियो । सो खेलमा गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट २५–२३ ले आफ्नो पोल्टामा पार्यो । पहिलो दोस्रो सेटमा पराजित गण्डकी यसपछिको लगातार ३ सेट जित्दै फाइनल पुगेको हो । चौथों सेटमा २५–१६ र अन्तिम सेटमा १७–१५ को अंकले एपिएफलाई पराजित गर्न सफल भएको हो । अहिले दाेस्रो सेमिफाइनलमा आर्मी र पुलिसबीचको खेल चलिरहेको छ ।
महिला तर्फ भने न्यू डायमण्ड र पुलिस फाइनल पुगेको छ । मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा आर्मीविरुद्ध सुरुवाती सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । यस्तै दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । एपिएफ अन्तिम समयमा सहभागी भएन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता छ ।