धनगढी नगरप्रमुखले चढ्ने गाडी वडा क्लिनिक सञ्चालन गर्न स्वास्थ्य शाखालाई हस्तान्तरण
कैलाली - धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले चढ्ने गाडी विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न स्वास्थ्य शाखालाई प्रदान गरेका छन्। हमाल आफू नीजि गाडी प्रयोग गर्दै आइरहेका छन ।
नगर प्रमुखको रुपमा नगरपालिकाबाट कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए। वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरका प्रमुखले चढ्ने गाडी श्री १००८ स्वामी देवराज आचार्यले स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई आज हस्तान्तरण गरेका छन ।
धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलब र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको थियो । त्यस्तै उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ।
साउन १ गतेदेखि धनगढीका सबै वडामा स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने नगर प्रमुख हमालले बताए। उनले उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षणसँगै ल्याब सेवा, अल्ट्रासाउन्ड र इसिजी सेवा निःशुल्क उपलब्ध गराउने बताए ।