'नेपाली अमेरिकन' बाट नेपालले लिन नसकेको फाइदा

शुसिल थापा | माघ २३, २०८०

धेरैका लागि अमेरिका एउटा सपनाको देश हो । धेरै मान्छेहरू अमेरिकालाई धुवाँधार गाली दिन्छन् वा मन नपराएको उत्ताउलो बहाना बनाउँछन् तर अधिकांशलाई अमेरिका पुग्ने तीब्र इच्छा भने जारी नै छ । पाखण्डपनलाई हटाउने हो भने चाहे कट्टर कम्युनिस्ट भन्नेहरू हुन वा पुँजीवादको विरोधी, सबै अमेरिकी विकास, जीवनशैली तथा लोकतन्त्रको प्रत्यक्ष रुपमा नै अनुभूत गर्न लालायित हुन्छन् ।

नेपालको राजनीतिक तथा आर्थिक अवस्थालाई हेर्ने हो भने नेपालीहरूका लागि त अमेरिका पुग्नु भनेको झनै महत्वपूर्ण हुनै नै भयो । त्यही रहरसँगै अहिले अमेरिकामा नेपालीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अमेरिकन जनसंख्या ब्यूरोको सन्‌ २०२० को तथ्यांकअनुसार नेपालीहरूको जनसंख्या दुई लाख पाँच हजारको हाराहारीमा छ । अझ यो तीन वर्षको बीचमा थुप्रै नेपाली अमेरिका प्रवेश गरेका छन्, थुप्रै अमेरिकी नागरिक पनि बनेका छन्  ? यो जनसंख्या २०१० सम्म ५० हजारमा सीमित थियो । यसलाई हेर्दा नेपालीहरूको संख्यामा २७० प्रतिशतको हाराहारीमा वृद्धि भएको देखिन्छ । यसमा अन्य केही टुटफुट तथ्यांक पनि पनि हुन सक्छ ।

तसर्थ नेपालीहरूको संख्यामा भएको उल्लेख्य वृद्धिलाई हेर्दा असामान्य जस्तो पनि देखिन्छ । तर, नेपालीहरू विभिन्न माध्यमहरूबाट अमेरिकासम्म आफ्नो राम्रै उपस्थिति जनाउने अवस्थामा पुग्नुलाई सकारात्मक नै मान्नु पर्दछ । अमेरिकामा नेपाली समुदायको बलियो उपस्थितिसँगै उनीहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियतमा पनि सकारात्मक परिवर्तन आएको छ । तर पनि पहिलो पुस्ता जो नेपालबाट बसाइँसराइको क्रममा अमेरिका आए उनीहरूमा नेपालप्रतिको एउटा लगाव भएको प्रष्ट देख्न सकिन्छ । र, त्यो लगाव नेपालका लागि सहायक सिद्ध हुन सक्छ भन्ने पनि लाग्छ । अर्कोतर्फ हामी अमेरिकामा रहेर पनि नेपालबारेमा हल्काफुल्का टिप्पणी गरिरहेका हुन्छौं जुन समग्र विदेशमा रहने नेपालीहरूका लागि त्यति सहायक भएको पाइँदैन । म यहाँ यिनै विषयमा केही अनुभवहरू साट्ने प्रयास गर्नेछु ।

मेरो लगभग १५ वर्षको अमेरिका बसाइँको अनुभवमा अमेरिकामा तीन प्रकारका (समूह) नेपाली अमेरिकनहरू रहेको पाएको छु । पहिलो वर्ग नेपालमा आफ्नो कुनै न कुनै प्रभुत्व बनाएर बसेको थियो । जस्तो की राजनीतिमा, कर्मचारीतन्त्रमा, सामाजिक संघसंस्थामा वा व्यावसायिकतामा ।

दोस्रो वर्ग, नेपालमा सामान्य जीवनयापन गरेर बसेको थियो र कुनै तवरले अमेरिका बसाइँ सर्‍यो । तेस्रो वर्ग, जो अध्ययन वा अन्य शैक्षिक योग्यतामा आधारित भएर अमेरिकामा आए र यतै समायोजन भए । यी तीन वर्गका नेपालीहरूमा मेरो अनुभवले केही भिन्नता पाएको छ । यसो भन्दै गर्दा मेरो कुनै समूह वा व्यक्तिप्रति पूर्वाग्रह रहने छैन र म के कुरामा प्रष्ट छु भने हरेक व्यक्तिका फरक-फरक व्यक्तित्व हुन्छन् र हाम्रा आचरणलाई पनि व्यक्तिको व्यक्तित्वको विशेषताले फरक पार्दछ ।

पहिलो वर्गको नेपाली जो हरेक दिन नेपालका धेरै विषयहरूमा चासो राख्दछ, किनभने उनीहरूलाई त्यो पुरानो लिगेसीबाट बाहिर आउन कठिनाइ भइरहेको छ । अपवाद बाहेक यो समूहसँग कुनै न कुनै रुपमा राजनीतिक लहरो जेलिएको पाइन्छ र नेपालका राजनीतिक दल भनौँ वा समूहहरूसँग जोडिएका छन् । अर्को महत्वपूर्ण कुरा उनीहरू नेपालसँग आर्थिक रुपमा पनि जोडिएका छन्, किनभने उनीहरूको पुरानो व्यापार व्यवसाय वा जायजेथा आदिको चिन्ता र चासो छ ।

यी अस्वाभाविक विषयहरू हैनन् र उनीहरूको यो चासोले नेपाललाई कुनै न कुनै रुपमा सहयोग नै पुग्ने देखिन्छ । दु:खका कुरा के भने अमेरिकामा पनि यो समूह राजनीतिक रुपमा विभक्त छ । यसको उदाहरण गैरआवासीय नेपालीहरूको निर्वाचन ताका देखिने गैरजिम्मेवारपूर्ण र छुद्र आचरण हो । साथै यो समूह विभिन्न संघसंस्थामा पनि आबद्ध छ, भनौँ यहाँ प्रायः हरेक नेपालीको एउटा संस्था छ । कतिपय व्यक्तिहरू त एक, दुई वा तीनभन्दा पनि बढि संघसंस्थाहरूमा आबद्ध छन् । यो किन ? के सामाजिक काम गर्नकै लागि हो त ? होइन त कसरी भनौँ ! तर, विडम्बना अपवाद बाहेकले खासै केही उल्लेखनीय कार्य गरेको पाइँदैन । अर्कोतर्फ हरेक जातजातिको संस्थाहरू छन्, क्षेत्रीय आधारमा खुलेका संस्थाहरू छन् र विभिन्न नेपाली राजनीतिक पार्टीहरूसँग आबद्ध छन् । मेरो विचारमा यो आवश्यक थिएन कि भन्‍ने मात्र हो ।

दोस्रो समूह, नेपालमा सामान्य जीवनयापनमा रहेको समूह हो र कुनै माध्यमबाट अमेरिकामा आइपुग्यो । यो समूह आफ्नो जीवनयापनलाई सहज बनाउनमा नै व्यस्त छ । उनीहरूलाई नेपालबारेमा चासो त छ तर आफ्ना विभिन्न कठिनाइका कारणले गर्दा त्यति अगाडि आएको पाइन्न । र, उनीहरू अमेरिकी जीवनशैलीसँग अभ्यस्त हुने क्रममा नै छन् । तर, यसै समूहलाई आधार बनाएर पहिलो वर्गमा चर्चा गरिएको समूहले आफ्नो आत्मरति पूरा गर्दछ भन्दा चाहिँ अतियुक्ति नहोला ।

तेस्रो समूह चाहिँ गुमनाम समूह हो । जो आफ्नो काममा व्यस्त छ । यो समूह सीप, शैक्षिक योग्यता वा बौद्धिकतामा  आधारित छ । यो समूहलाई नेपालको राजनीतिमा अनावश्यक चासो छैन र हलुका टिप्पणी गर्न रुचाउँदैनन् । यो समूहका नेपाली अमेरिकनहरू महत्वपूर्ण जिम्मेवारीका क्षेत्रहरूमा काम गर्छन्, र जिम्मेवारपूर्ण तर्क मात्र गर्न चाहन्छन् । यसर्थ यो समूह पहिलो र दोस्रो समूहको नेपाली अमेरिकनहरूभन्दा भिन्‍न छ भन्‍ने देखिन्छ । यो समूहलाई नेपालले विभिन्न नीति निर्माण तथा सीपको आदान-प्रदानमा उपयोग गर्न सके दीर्घकालीन लाभ लिन सकिने देखिन्छ । जसरी भारतले ८० वा ९० को दशकमा विदेशिएका भारतीयहरूको सीप र अनुभवलाई उपयोग गरेर भारतको आर्थिक विकासमा फाइदा लिइरहेको छ ।

आखिर हामी जुन रुपमा अमेरिकामा रहे पनि नेपालबारेमा चिन्ता र चासो व्यक्त गर्न पाउनु अस्वाभाविक होइन । हामीलाई विश्वका अन्य भूभागमा भइरहेको राजनीतिक वा सामाजिक विषयमा चिन्ता र चासो हुन्छ भने आफू हुर्के-बढेको र आफन्तजनहरू रहेको देशको बारेमा कुराकानी हुनुलाई नराम्रो मान्‍नु हुँदैन । तर, पनि विदेशमा रहेका नेपालीहरूले नेपालका बारेमा नकारात्मक टिप्पणीहरू मात्र गर्दछन् भन्ने भाष्यको निर्माण भएको छ । यो भाष्यको निर्माणमा पहिलो वर्गमा चर्चा गरिएका नेपालीहरूको महत्वपूर्ण योगदान छ भन्दा उपयुक्त होला । किनकि यो समूह सामाजिक रुपमा अलि बढि नै सक्रिय छ, कुराकानी गर्दछ, मिडियामा आउँछ र सामाजिक सञ्‍जालमा सक्रिय छ । साथै गैरआवासीय नेपालीहरूको संगठनलगायतका संघसंस्थाहरूमा पनि यही समूहको अगुवाइमा हालिमुहाली छ । हामीमध्ये धेरैले देखेका छौँ केही नेपाली अमेरिकनहरू हरेक दिन नेपालको राजनीतिक दल, व्यवस्था तथा प्रवृत्तिबारेमा हलुका गाली व्यक्त गरिरहेका हुन्छन् । जसले गर्दा समग्र विदेशमा रहेका नेपालीहरूप्रति नेपालमा रहेका नेपालीहरूले नकारात्मक टिप्पणी गराउनमा सहयोग पुगेको पाइन्छ ।

अमेरिकामा रहेका नेपालीहरूले नेपाल र नेपालीसँग भाइचाराको अभिवृद्धिका साथै आफ्ना सीप र अनुभवहरूलाई आपसमा साट्दा समग्रमा हामीले लाभ उठाउन सक्छौँ भन्‍ने लाग्छ । अमेरिकामा रहेर पनि कुनै अमुक दल वा व्यवस्थाप्रति भद्‌दा गाली गलौजले हामी आफैँले आफूलाई सस्तो देखाएका त छैनौँ ? अन्य नेपालीहरू जो नेपालमा कुनै न कुनै रुपमा सकारात्मक योगदानमा सरिक हुन चाहन्छन्, उनीहरूलाई पनि अप्ठ्यारोमा पारिरहेका छौँ भन्ने लाग्छ । तसर्थ हाम्रो उद्देश्य विभाजन उन्मुख हुनु भएन भन्ने मेरो भनाई हो । यदि हामीले नेपालको व्यवस्था वा विषयहरूप्रति प्रसंग उठाउनु छ भने सकारात्मक र विश्लेषणत्मक ढंगले विचारहरू राख्‍न सक्छौँ । हामी सभ्य भएको देखिएला र नेपालमा रहेका नेपालीहरूले पनि हामीप्रति सकारात्मक टिप्पणी गर्लान् भन्ने लाग्छ । यदि हामी हाम्रा कुण्ठाहरू सामाजिक सञ्‍जालमा असभ्य तरिकाले लगातार व्यक्त गरिरहन्छौँ र जसले कुनै खास योगदान पनि दिन सक्दैनौँ भने किन त्यसो गर्ने ? हामी सबैको आ-आफ्ना विचार वा विश्वास होलान्, अझ भनौँ एउटै मान्छेको मस्तिष्कभित्र त कैयौँ विचारहरूले प्रतिस्पर्धा गरिरहेको हुन्छ भने फरक व्यक्ति र समूहका बीचमा भिन्नता हुनु स्वाभाविक छ । तर, विचार वा विश्वासको प्रतिस्पर्धा तर्क र प्रमाणहरूका आधारमा हुनु पर्दछ । यदि त्यसको भएन भने त हामी फेरि कसरी एउटा सभ्य नागरिक भएको दावा गर्न सक्छौँ र ?

हालसालै नेपाल सरकारले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने भएको छ, जसले हामीबीचमा सहयोग आदान-प्रदानमा सहयोग बढाउने अपेक्षा गर्न सकिन्छ । जब भारतीयहरू नेपालमा कुनै रोकटोक घुम्‍न सक्छन् तर विदेशिएका नेपालीहरूलाई भिसाको व्यवस्था नाजायज नै देखिन्थ्यो । गैरआवासीय नागरिकतासँगै गैरआवासीय नेपालीहरूको नेपालमा आवतजावत सहज हुने अपेक्षा गर्न सकिन्छ । जसबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा सहायता पुग्छ भन्ने नै लाग्छ ।

खास गरी मैले चर्चा गरेको तेस्रो समूहको नेपाली र दोस्रो पुस्तापछिका नेपालीहरूलाई नेपालतिर आकर्षण बढाउन सकियो भने नेपालले पक्कै लाभ लिन सक्छ । उदाहरणका लागि अमेरिकी पासपोर्ट भएको नेपाली विश्वका अन्य कैयौँ देशहरूमा बिनाभिसा आवतजावत गर्न सक्छन् । जब ऊ आफू जन्मेको वा आफ्ना बुवाआमा जन्मे-हुर्केको देशमा भ्रमण गर्न अनेकन झन्झट व्यहोर्नुपर्छ भने उसले नेपालको भ्रमण गर्नभन्दा अन्यत्र जान रुचाउँछ । तसर्थ उनीहरूलाई नेपालमा आवतजावतमा सहजता आउँदा केही मात्रामा भएपनि उनीहरूको नेपाल भ्रमण बढाउन सकिन्छ, जसबाट नेपालले थोरै भए पनि लाभ लिन सक्छ भन्ने लाग्छ । यसरी गैरआवासीय नेपालीहरूको नेपालसँग हुनसक्ने सम्बन्धले सूचना प्रविधि, ज्ञान, सीप तथा आर्थिक आदानप्रदानमा योगदान पुर्‍याउन सक्छ तर त्यसका लागि फेरि पनि हामी विदेशमा रहेका नेपालीहरूले नै जिम्मेवारपूर्ण आचरण प्रस्तुत गर्नुपर्ने देखिन्छ ।

समग्रमा हामी विदेशमा रहेका त्यसमा पनि विकसित मुलुकमा रहेका नेपालीहरूले देखाउने आचरणले नै हाम्राबारेमा धारणा बन्ने भएकाले हामी अनुशासित हुनै पर्दछ । चाहे गैरआवासीय नेपालीहरूको संगठनलगायतका संघसंस्थाहरूको माध्यमबाट होस् वा हाम्रा व्यक्तिगत तवरबाट । हामीले आफ्नो असल पहिचान प्रदर्शन गर्न सकेनौँ भने हामीलाई पलायनवादी, स्वार्थबस विदेशिएका वा देशलाई माया मार्नेहरू, जे जसरी विशेषण लगाइए पनि स्वीकार्नु पर्नेछ । हामीले नेपालमा रहेका नेपालीलाई रिझाएर काम गर्ने हो, न की बिझाएर । एक आपसमा सहयोगी हुने भनेकै भाइचाराको माध्यमबाट हो, तसर्थ हामी सबैले आफ्नो क्षेत्रबाट जिम्मेवार भएर कुरा र काम गरौँ यसैमा हामी सबैको राम्रो हुन्छ ।

र, यो पनि

क्यान्सर मृत्यु होइन, निको हुने रोग हो

नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुई तिहाइ मृत्यु यिनै नसर्...

निर्वाचन प्रणाली खर्चिलो भएकाले महिलाको उम्मेदवारी कमजोर

कुसुमदेवी थापा | माघ १९, २०८०

संघीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्मा...

सहिदलाई सम्मान गरौँ : राजनीति नगरौँ

विश्वमा आफ्नो देशका बहुसंख्यक जनताको स्वार्थको अगाडि लामो सङ्घर्ष गर्दागर्दै उद्देश्य प्राप्तिका लागि आफ्नो जीव...

‘नोना कोइराला’ अर्थात राजनीतिको परिभाषा बदल्ने व्यक्तित्व

दुर्गा आचार्य | माघ १४, २०८०

नोना कोइराला अर्थात नेपाली प्रजातान्त्रिक आन्दोलनकी साहसिक व्यक्तित्व, ममताकी खानी, विराटनगरस्थित कोइराला ...