साइबर अपराधी–चोरीबाट बच्न डिजिटल सुरक्षा कस्तो छ ?

टंकराज अर्याल | फागुन २, २०७९

नेपाल सरकारका सबै वेबसाइट डाउन भए, २०७९ माघ १४ मा । त्यतिखेर प्रणालीमा डिओएस (डिनाइल अफ सर्भिस) आक्रमण भएकाले डाउन भएको अनुमान गरियो । यही कारणले त्यस दिन तीन घण्टासम्म एयरपोर्ट सेवासमेत अवरुद्ध हुन पुग्यो । सरकारी सर्भरमा रहेको एयरपोर्ट सेवा चल्न सकेन । यो घटनाले नेपालमा डिजिटल सुरक्षाबारे अधिकांश सरोकारवालाको ध्यान खिचेको छ । सामान्यतः डिजिटल सुरक्षा भनेको ह्याकिङ, फिसिङ र आक्रमणबाट कम्प्युटर, मोबाइल यन्त्र–उपकरण, ट्याब्लेट र अन्य इन्टरनेट जडित उपकरणलाई घुसपैठ गर्नेहरूबाट जोगाउनु हो । डिजिटल सुरक्षाले कम्प्युटर प्रणालीको सुरक्षासम्बद्ध काम गर्छ । डिजिटल पैसा, डाटा, तथा पहिचानको संरक्षण र सुरक्षाको सन्दर्भमा पनि डिजिटल सुरक्षाको विषय महत्वपूर्ण छ । 

आजको डिजिटल युगमा इन्टरनेट सबैका लागि जीवनको आधारभूत पक्ष बनेको छ । नेपालमा पनि इन्टरनेटको पहुँच र प्रयोग कोभिड–१९ पछि अत्यधिक बढेको छ । प्रविधि र इन्टरनेटको प्रयोग जीवनका हरेक पक्षमा अभिन्न आवश्यकताको रूपमा स्थापित भइसकेको छ । प्रविधि र इन्टरनेटकोे प्रयोग व्यक्तिको सूचना, सञ्चार, मनोरञ्जन, अध्ययन, रोजगारी लगायत धेरै क्षेत्रमा हुने गरेको छ । जसअन्तर्गत सामाजिक सञ्जाल प्रयोग, व्यक्तिगत तथा व्यावसायिक सञ्चार, अनलाइनमा वस्तु तथा सेवाको किनमेल, अनलाइन बैंकिङ तथा अनलाइन भेटघाट र छलफल समेत पर्छन् । 

प्रविधिको विकाससँगै इन्टरनेटमा नागरिकको पहुँच बढेकाले अनलाइन कारोबार तथा व्यवहार गर्दा जोखिम पनि वृद्धि भएको छ । अनलाइनको माध्यमबाट चोरी, ठगी र धोका दिनेसम्मका धेरै काम भएका छन् । कम्प्युटर प्रणाली बिगारिदिने र त्यसमा रहेका डाटा चोरी हुने कार्य पनि दिनहुँ बढिरहेका छन् । भौतिक जीवनमा सम्पत्ति, गरगहना, बहुमूल्य सामग्री चोरी, डकैती हुनेलगायतका जोखिम रहन्थ्यो । अनलाइन संसारमा पनि यस्तै जोखिम छ र त्यसको प्रकृति भने केही फरक छ । यसर्थ, हामीले समयमा नै डिजिटल सुरक्षाकाबारेमा सचेत र सजग हुनुपर्छ । डिजिटल सुरक्षाबारे जानकारी राख्न, जोखिम न्युनीकरणका लागि आवश्यक पहल गर्न र त्यस्तो जोखिमको प्रतिरक्षाका लागि तयार रहन अत्यावश्यक छ ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै देखापरेका डिजिटल सुरक्षाबारे तल उल्लिखित विषयमा ध्यान दिनु तथा जानकारी राख्नु आवश्यक छ ।

कम्प्युटर प्रणालीको सुरक्षा

डिजिटल सुरक्षाको कुरा गर्दा कम्प्युटर वा डिभाइसमा प्रयोग भएको प्रणाली कस्तो छ त्यो महत्वपूर्ण हुन्छ । सामान्य कुरामा प्रयोग गरिएको अपरेटिङ सिस्टमको आधिकारिकता, ती सिस्टमको नियमित अपडेट, बलियो एण्टी भाइरसको प्रयोग, फायरवालको प्रयोग जस्ता विषय पर्छन् । त्यस्तैगरी कस्तो प्रणालीमा वेभसाइट बनेको छ, कस्तो सिस्टम चलेको छ, सुरक्षाका लागि के कस्ता उपाय अवलम्बन गरिएका छन्, वेभसाइटहरू कहाँ होस्ट गरिएका छन्, जस्ता विषय पनि डिजिटल सुरक्षाका विषयका रूपमा रहेका हुन्छन् ।

त्यस्तैगरी कम्प्युटर प्रणालीमा प्रवेश गर्ने पासवर्ड र त्यसको सुरक्षा कम्प्युटर प्रणालीको सुरक्षाको सम्बन्धमा अर्को महत्वपूर्ण पक्ष हो । मालवेयर आक्रमण, डिनाइल अफ सर्भिस आक्रमण, फिसिङ, कमजोर पासवर्ड यसका मुख्य कारण हुने गर्छन् । यसकाबारेमा प्रयोगकर्ता तथा कम्प्युटर प्रणालीको रेखदेख गर्ने व्यक्तिले विशेष ध्यान दिनुपर्छ । अज्ञात वा अविश्वसनीय स्रोतहरूबाट कुनै एप वा फाइल डाउनलोड गर्नु हुँदैन । नियमित रूपमा महत्वपूर्ण डाटा ब्याकअप गर्ने र बलियो पासवर्ड वा बायोमेट्रिक प्रमाणीकरण विधिहरू अपनाएर डिजिटल सुरक्षामा ध्यान दिन आवश्यक छ ।

डाटा तथा गोपनीयताको संरक्षण

इन्टरनेटको बढ्दो प्रयोगको सन्दर्भमा व्यक्ति तथा संस्थाका धेरै सूचना तथा डाटा कम्प्युटर प्रणाली तथा इन्टरनेमा रहेका छन् । हरेकले आफ्नो त्यस्तो व्यक्तिगत जानकारी वा डाटा कम्प्युटर प्रणाली तथा अनलाइनमा सुरिक्षत तवरमा राख्न जरुरी छ र यस्ता जानकारी कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बुझ्नु जरुरी छ । 
व्यक्तिगत जानकारीमा आफ्नो नाम, ठेगाना, फोन नम्बर, इमेल ठेगाना, र आफ्नो क्रेडिट कार्ड विवरणहरू जस्ता जानकारी समावेश हुन्छन् । तथ्यांक उलंघन र साइबर आक्रमणको बढ्दो संख्यालाई विचार गर्दा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत जानकारीको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनु आवश्यक छ । प्रणालीमा राखिने डाटा तथा तथ्यांक इन्क्रिप्सन गर्ने, पासवर्ड राख्ने तथा समय सापेक्ष सुरक्षाका उपाय अपनाउने गर्नुपर्छ । त्यसैगरी, अनलाइनमा शेयर गरिने डाटा तथा तथ्यांकमा संकीर्ण हुने वा सामाजिक सञ्जालमा जन्ममिति, पासवर्ड, घरको ठेगाना, क्रेडिटकार्ड र मोवाइल सम्बन्धी सूचनासमेत सेयर गर्नुहुँदैन ।

वित्तीय सुरक्षा

अनलाइन बैंकिङको प्रयोग धेरै मात्रामा बढेको छ । मोवाइल बैंकिङको सबैको अभिन्न कारोबारको साधन बनेको छ । यसका साथै विभिन्न वालेट वा अनलाइन वित्तीय कारोबार गर्न सहयोग गर्ने विभिन्न प्रणालीहरू सञ्चालनमा छन् । सामान किनमेल गर्न, लगानी वा भुक्तानी गर्न, वित्तीय लेनदेन गर्न, विद्यालय वा अन्य संस्थामा शुल्क तिर्न, सरकारी संस्थामा तिरिने राजस्व वा शुल्क तिर्न समेत अनलाइन प्लेटफर्म तथा वालेटहरूको प्रयोग गरिने गरिएको छ । यस्ता प्लेटफर्महरूले सुविधा र पहुँच प्रदान गरे पनि धोखाधडीको सम्भावना, पहिचान चोरी, र वित्तीय खाताहरूमा अनधिकृत पहुँच जस्ता जोखिम पनि देखिएका छन् । 

आफ्नो वित्तीय जानकारी सुरक्षित राख्दै कारोबार वा व्यवहार गर्दा संभावित जोखिमका बारेमा पनि सबैले बुझ्नु महत्वपूर्ण छ । आर्थिक तथा वित्तीय सुरक्षाका लागि डिजिटल सुरक्षाका बारेमा उचित जानकारी राख्नु र आवश्यक उपाय अबलम्वन गर्नु आवश्यक छ । यसका लागि वित्तीय लेनदेन गर्दा सार्वजनिक वाईफाईको प्रयोग नगर्ने, किनमेलका लागि सुरक्षित वेबसाइटहरू प्रयोग गर्ने, वित्तीय जानकारी माग्ने इमेल वा सन्देशहरूबाट सावधान रहनुपर्छ । त्यस्तै आफ्नो बैंक खाता, कार्ड, वालेट सम्बद्ध जानकारी अरु कसैलाई नदिने वा अनलाइनमा पोस्ट नगर्ने जस्ता उपायहरू प्रभावकारी हुनसक्छन् ।

साइबर आक्रमणबाट सुरक्षाः

साइबर अपराधीको संख्यामा वृद्धि भएको छ र आक्रमण गर्ने तरिकामा परिवर्तन आएका छन् । डिजिटल माध्यममा रहेका  रहेका व्यक्तिगत तथा संस्थागत सूचनाको सुरक्षाका उपायका बारेमा बुझ्नु तथा तयार रहनु आवश्यक छ । 

साइबर चोरी गर्ने तथा आक्रमण गर्नेहरूले यस्ता तथ्यांक तथा जानकारीमा अनधिकृत पहुँच कायम गरी व्यक्ति तथा संस्थासँग ठूलो रकम माग गर्ने गर्दछन् । माग अनुसारको पैसा नदिए ती तथ्यांक नष्ट गरिदिने वा डार्कवेभमा राखिदिने, सार्वजनिक गरिदिने जोखिम समेत रहन्छ । 

साइबर आक्रमणकारीले लोभ देखाउने र भावनात्मक रूपले बाध्य बनाउने गरेको देखिएको छ । यसर्थ, अनलाइनमा आउने उपहार, सित्तैमा उपलब्ध हुने, सस्तोमा उपलब्ध हुने आश्वासनमा बहकिनु हुँदैन । भावनामा बगेर व्यक्तिगत जानकारी यस्ता वेभसाइट, लिंक वा एप्लिकेसनमा राख्नु/दिनु हुँदैन ।

साइबर आक्रमणबाट बच्न बलियो पासवर्ड प्रयोग गर्ने, आफ्नो पासवर्ड कसैलाई नदिने, पासवर्ड नियमित परिवर्तन गर्ने, सार्वजनिक वाईफाई नेटवर्कहरूको प्रयोग सकेसम्म नगर्ने, र नचिनेको व्यक्तिबाट आएका लिंकहरू नखोल्ने जस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ । यस्तै एप्सहरू डाउनलोड गर्दा वा व्यक्तिगत जानकारी माग्ने अनलाइन सेवाहरूमा साइन अप गर्दा सावधान हुनुपर्छ । यदि शंका लागेमा कुनै पनि व्यक्तिगत विवरण प्रदान गर्नुअघि कम्पनी वा सेवा आधिकारिक हो होइन भन्ने बारेमा अनुसन्धान गर्नुपर्छ । आधिकारिक जस्तो देखिने नक्कली पेज वा साइटहरू पनि सञ्चालन हुने गर्दछन्, त्यसबारेमा सचेत हुनुपर्छ ।

राष्ट्रिय सुरक्षा

डिजिटल सुरक्षासँग जोडिएर आउने अर्को पक्ष भनेको राष्ट्रिय सुरक्षामा अनलाइन गतिविधिले पार्ने प्रभाव हो । आजको अन्तरसम्बन्धित विश्वमा साइबर खतराका दूरगामी परिणामहरू हुन सक्छन् । साइबर अपराधीहरूले विभिन्न कारण देखाउँदै देशका महत्वपूर्ण पूर्वाधारमा अनधिकृत पहुँच कायम गर्ने हुँदा यसले राष्ट्रिय सार्वभौमसत्तामासमेत आघात पुर्‍याउन सक्छन् । 

डिजिटल सुरक्षा र राष्ट्रिय सुरक्षाको अन्तरसम्बन्ध तथा सुरक्षाका उपायहरूबारे जानकार रहनु र सुरक्षाका उपायहरू अबलम्बन गर्नु आवश्यक छ । यसका लागि अनधिकृत सफ्टवेयरको प्रयोग नगर्ने र कुनै पनि शंकास्पद गतिविधिको रिपोर्ट गर्ने जस्ता सवधानी अपनाउन सकिन्छ । साइबर अपराधसँग सम्बन्धित कानून र नियमहरूका बारेमा पनि सचेत हुनुपर्छ । अवैध गतिविधिमा संलग्न हुनुको परिणामहरू बुझ्नुपर्छ । जस्तै ह्याकिङ वा प्रतिलिपि अधिकार सामग्री डाउनलोड गर्नु जस्तो विषय र यसले पार्न सक्ने प्रभावबारे सचेत हुनु आवश्यक छ । 

निष्कर्षमा, डिजिटल सुरक्षा एक महत्वपूर्ण मुद्दा हो जुन विषयमा व्यक्ति, संस्था तथा राज्य स्वयम् सचेत हुन र गम्भीरतापूर्वक लिन आवश्यक छ । प्रविधि र इन्टरनेटमा बढ्दो निर्भरताको साथ, तथ्याङ्क गोपनीयता, वित्तीय सुरक्षा र राष्ट्रिय सुरक्षाको विषय कसरी डिजिटल सुरक्षासँग सम्बन्धित रहेको छ भन्ने  बुझ्न आवश्यक छ ।

डिजिटल स्पेसमा सक्रिय भई रहँदा आफ्नो डिजिटल फुटप्रिन्टलाई कम तथा सुरक्षित गर्न आवश्यक कदम चाल्नु व्यक्ति र राष्ट्रको सुरक्षाका लागि अपरिहार्य विषय हो । जसले सुरक्षित वर्तमान र भविष्य सुनिश्चित गर्न मदत गर्न सक्छ । यसमा बलियो पासवर्डको प्रयोगको महत्व बुझ्नु, सार्वजनिक वाईफाई नेटवर्कको प्रयोग नगर्नु, फिसिङ स्क्यामहरूबाट सावधान रहनु र कुनै पनि शंकास्पद गतिविधिको रिपोर्ट गर्नु जस्ता कार्य समावेश भएका हुन्छन् ।

यसका अतिरिक्त, अनलाइनमा पोष्ट तथा सेयर गरिएको विषय र जानकारीका बारेमा सचेत हुन, सबै उपकरणहरू सुरक्षित गर्न, र डिजिटल सुरक्षामा नवीनतम विकासहरूका बारेमा सूचित रहन महत्वपूर्ण हुन्छ । यसो गरेर सबैले आफूलाई, आफ्नो व्यक्तिगत  सूचना, संवेदनशील जानकारी र उनीहरूको वित्तीय कारोबार सुरक्षित गर्नुका साथै देशको डिजिटल पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।

राज्यले आवश्यक नीति तथा कानुनको तर्जुमा र सुरक्षित पूर्वाधारको बारेमा आवश्यक योजना र त्यसको कार्यान्वयनमा सबै सरोकारवालको सहकार्यमा अगाडि बढ्नु आवश्यक छ । नेपालमा राष्ट्रिय साइवर सुरक्षा नीतिको बारेमा छलफल भएको लामो समय भए पनि त्यसलाई पारित गर्ने तथा कार्यान्वयन गर्नेतर्फ उचित ध्यान अझै पुग्न सकेको छैन । 

(अधिवक्ता तथा अध्यक्ष, डिजिटल राइट्स नेपाल)

नेपालमा २०८३ सालसम्म आर्थिक मन्दीको ग्रहयोग, नोटबन्दीको निर्णय पनि हुनसक्ने

आकाशमा छरिएर  रहेका ग्रहहरुका परिवर्तनसँगै यसले पार्ने प्रभाव क्रमशः सामाजिक, आर्थिक, राजनैतिक र प...

माफ गर्नुहोला, ‘ह्यारीकी प्यारी’लाई प्यार गर्न सकिएन

युवकलाई गाउँमा स्वास्थ्य चौकी बनाउन पैसा चाहिएको छ । यसका लागि एउटै उपाय छ, पुर्ख्यौली सम्पत्ति धरौटी रा...