विद्युत् व्यापार किन निजी क्षेत्रलाई दिने ?

प्रदीप गोंगल | चैत २२, २०७९

विगतमा नेपालमा बैकिङ क्षेत्रमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकहरु मात्र थिए । ती बेलामा बैंकबाट पैसा निकाल्न मानिसहरुले दुःख पाउँथे, घण्टौं लाग्थ्यो । जब निजी क्षेत्रका बैंकहरु आए, मान्छेहरुले सुविधा पाए । उनीहरुले नयाँ–नयाँ प्रविधि पनि ल्याए । यसबाट उपभोक्ताले सुविधा पाए । यसैगरी उड्डयन क्षेत्रमा पनि पहिला नेपाल वायुसेवा निगम मात्र थियो । एउटा टिकटका लागि सोर्सफोर्स लगाउनुपर्थ्याे । बिहान चार बजेदेखि लाइनमा बस्नुपर्ने अवस्था थियो ।

जब निजी क्षेत्रका विमान कम्पनीहरु आए, टिकट लिन समस्यै भएन । त्यस्तै दूध क्षेत्रमा पनि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान मात्र थियो । ती बेलामा आठ बजेभित्र दूध लिन गयो भने पाइयो, नत्र पाइँदैनथ्यो । निजी क्षेत्रले जसरी कुशलतापूर्वक काम गर्न सक्छ, सरकारी क्षेत्रले त्यति सक्दैन । जस्तो कि नेपाल दूरसंचार संस्थान मात्र हुँदा जाबो एउटा सिम कार्ड लिन रातभरि लाइनमा बस्नुपथ्र्याे । त्यसकारणले पनि विद्युत् क्षेत्रमा पनि निजी क्षेत्रको सहभागिता सुरु भयो । निजी क्षेत्रको उल्लेखनीय योगदानकै कारण आज देश लोडसेडिङमुक्त छ । विद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागितापछिको स्थिति सबैलाई छर्लंग नै छ । यति धेरै निजी क्षेत्र आए, यसको लोड यति धेरै छ कि अब नेपाल विद्युत् प्राधिकरणले मात्र व्यापार गर्न नसक्ने स्थिति आयो । त्यसकारणले विद्युत् उत्पादनमा मात्र होइन, व्यापार गर्न पनि निजी क्षेत्रको आवश्यकता परिसकेको छ । 

नेपालभित्रै पनि सबै उत्पादनमूलक उद्योगहरुले अझै पनि भनेजति बिजुली पाउन सकिरहेको छैन । नेपाल उद्योग परिसंघले उत्पादनमूलक उद्योगहरुबारे गरेको एउटा सर्वेक्षणले के देखायो भयो ८१ प्रतिशतले डिजेल जेनेरेटर ब्याक अप राखेको देखायो । कहिले भोल्टेज तलमाथि हुने, कहिले अचानक बत्ती जाने आदि कारणले गर्दा बाध्य भएर डिजेल ब्याक अप राखेको पाइयो । त्यसले गर्दा वैकल्पिक विद्युतकाे व्यवस्थापन गर्दा आयातीत डिजेल र जेनेरेटर किन्नु पर्‍यो । यसरी खरिद गर्दा हाम्रा लागि विदेशी मुद्राको भार भयो । होङ्सी सिमेन्टले त कर्याैं वर्षसम्म बिजुली नपाएकै कारण डिजेल चलाएर उत्पादन गरेको थियो ।  यी कारणले विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता हुनुपरेको हो । निजी क्षेत्र आउँदा के हुन्छ भने ‘मोर इफिसेन्ट’ (अझ बढी प्रभावकारी) हुन्छ ।

निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार छन् । तर एउटा कुरा के हो भने हामी निजी क्षेत्र आफैले नयाँ प्रसारण लाइन भने आफै बनाउने होइन । नेपाल विद्युत् प्राधिकरणकै प्रसारण लाइन उपयोग गर्ने हो । अब प्रश्न के हुन सक्छ भने प्राधिकरणलेसमेत चाहिने भोल्टेजमा बिजुली दिन सकेको छैन भने तपाई) (निजी क्षेत्र) ले कसरी सक्छ ? यसमा के हुन्छ भने नेपाल विद्युत् ट्रान्समिसन कम्पनीसँग हाम्रो सम्झौता हुन्छ । सम्झौतामा के हुन्छ भने तपाईंहरुको प्रसारण लाइन प्रयोग गरेबापत हामी प्रसारण शुक्ल तिर्छाैं । यो बापत तपाईंहरुले हामीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेछ भन्छौं । उपभोक्तालाई गुणस्तरीय भोल्टेज आपूर्ति गर्नुपर्छ, तलमाथि भयो भने चाहिं जरिवाना तिर्नुपर्नछ, ट्रान्समिसन कम्पनीले । यस्तो सम्झौताले गुणस्तरीय भोल्टेज आपूर्ति गर्न उक्त कम्पनी बाध्य हुन्छ । 
निजी क्षेत्रले गर्न लागेको विद्युत् व्यापार भनेको नेपालभित्र पनि हो र बाहिर पनि । 

अहिले धमाधम नयाँ जलविद्युत् आयोजनाहरुबाट बिजुली उत्पादन भइरहेका छन् र आगामी दिनमा अझ बढ्दै जानेछ । १५ सय मेगावाट थप उत्पादन हुँदा नै प्राधिकरण तर्सिसक्यो, कहाँ बेच्ने भनेर । अरु पनि धमाधम आउँदैछ, कसरी उसले व्यवस्थापन गर्छ र प्राधिकरणको व्यवस्थापनमा भएको कमजोरीले किन सरकार र उपभोक्ताले दुःख पाउने ? अनि किन नेपालको अर्थतन्त्र प्रताडित हुने ? हो, यस्तो अनिश्चिय हटाउन पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिनुपर्छ । यसका लागि थप र नयाँ अनि ठाउँ ठाउँमा प्रसारण लाइन तथा सवस्टेशनहरु बनाउनुपर्छ । यी संरचना बनाउँदा सरकारसँग प्राधिकरणले थप बजेट मागिरहनु पर्नेछैन । किनभने निजी क्षेत्रका व्यापार  गर्ने कम्पनीहरुले प्राधिकरणलाई तिर्ने प्रसारण शुल्कबाटै पुग्छ ।

यसले प्राधिकरण र निजी क्षेत्रबीच पनि प्रतिस्पर्धाको वातावरण सिर्जना गर्छ । कतिपयलाई लाग्दो नेपालका निजी क्षेत्र विद्युत् प्राधिकरणसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ ? प्राधिकरणसँग १० हजार कर्मचारी छन्, तिनलाई पाल्नुप¥यो । त्यो कर्मचारी लागत पनि जोडिन्छ । निजी क्षेत्रको त १० हजार कर्मचारी छैन-हुँदैन । यो खर्च हामीले जोड्नुपर्दैन । यो कारण पनि हामी प्रतिस्पर्धा गर्न सक्छौं । यी त गौण कुरा भए । यीभन्दा पनि महत्वपूर्ण पक्ष भनेको विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई पनि दिएपछि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न प्राधिकरणकै भर पर्नु पर्नेछैन । निजी क्षेत्रले नै पीपीए गरेर उनीहरुको बिजुली बिकाइदिन्छ । पीपीए गर्न झन्झटबाट प्राधिकरणमुक्त हुन्छ । प्राधिकरणले दिएको रेटभन्दा प्रतियुनिट २० पैसा, ५० पैसा दियो भने निजी जलविद्युत् प्रवद्र्धकहरु विद्युत् व्यापार कम्पनीसँगै पीपीए गर्न आउनेछन् । निजी क्षेत्रका जलविद्युत् उत्पादकहरुका लागि पनि यो धेरै राम्रो कुरा हो । निजी क्षेत्रका विद्युत् व्यापार कम्पनीले पीपीए गरिदिने भएपछि विद्युत् उत्पादन क्यू १७ मै पनि गर्न सक्छ । अहिलेको जस्तो क्यू ४५ वा प्रस्तावित क्यू २५ मै गर्नुपर्छ भन्ने छैन । यसले देशको प्राकृतिक स्रोतको पनि उचित र यथेष्ठ सदुपयोग हुने भयो । आखिर यी साधन भनेको मुलुकको अर्थतन्त्र अझ बढी बलियो बनाउने हुन् । भारतमा बेच्न सकियो भने क्यू २५ होइन, क्यू १७ मै ल्याउन सकिन्छ । यसो गर्न प्राधिकरणले आँट्न नसक्ला, तर निजी क्षेत्र सक्छ ।

निजी क्षेत्रलाई पनि विद्युत् व्यापार गर्न अनुमति दिनु पर्‍यो भनेर हामी (निजी) क्षेत्रले आवेदन हालेको एक वर्ष पुग्न लाग्यो । ऊर्जा मन्त्रालय नीति–नियम, कानुन बनेको छैन भनेर पन्छिरहेको छ । यसमा दुई विकल्प छन् । पहिलो, प्रस्तावित विद्युत् विधेयक (चार वर्ष लगाएर बल्ल बल्ल राष्ट्रिय सभाबाट पारित भएको, प्रतिनिधि सभाबाट फिर्ता भएको) पारित गर्नु र दोस्रो अध्यादेश । विधेयक पारित गर्न फेरि पनि चार वर्ष लाग्छ । एकपटक अघिल्लो सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रलाई लाइसेन्स दिनेसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रिपतिकहाँ पनि पठाएको हो । तर राष्ट्रपतिबाट जारी भएन । हामी फास्ट ट्रयाकमा विद्युत् विधेयक पारित होस् भन्ने चाहन्छौं । नत्र दु्वै सदनबाट पारित हुन कम्तीमा पनि चार वर्ष लाग्ने हाम्रो अनुमान छ । किनभने यसमा धेरै संशोधन प्रस्तावहरु परेका छन् । यसका प्रक्रिया पूरा गर्दागर्दै समय घर्किन्छ । त्यसैले यो फास्ट ट्रयाकबाट हुनुपर्छ । यसो गर्न सजिलो पनि छ । विद्यमान विद्युत् ऐन, २०४९ को दफा ३५ मा ‘निजी क्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने’ प्रावधान राख्न ऐन संशोधन गर्न सकिन्छ । 

निश्चय पनि अहिले आन्तरिक र अन्तर्देशीय प्रसारण लाइन संरचना पर्याप्त छैन । तर हाम्रो सोच भने जति सकिन्छ, त्यतिबाट सुरु गर्ने भन्ने हो । यो वर्ष ५० मेगावाट निर्यात गर्न सकिन्छ भने त्यति नै गरौं । अर्काे वर्ष सय मेगावाट होला, त्यसपछि संरचनाहरु पनि बन्दै जालान् । निजी क्षेत्रले तिर्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) बाटै प्राधिकरणलाई प्रसारण लाइन तथा सवस्टेशनहरु मर्मत–सम्भार गर्न समस्या पर्दैन । हुनत प्राधिकरणको उत्पादन, वितरण र प्रसारण गरी तीन छुट्टाछुट्टै कम्पनी हुनुपर्ने हो, ट्रेड युनियनहरुका कारण त्यो सम्भव नहोला । तर कम्तीमा सरकारको छुट्टै प्रसारण कम्पनी र भार प्रेषण केन्द्र जोडेर एउटा कम्पनी होओस् । यो चाहिं स्वायत्त होस् । किनभने यथास्थितिमा कुनै निश्चित ठाउँबाट बिजुली आयो, हामीले भारत पठाउनुपर्ने हुन्छ ।

यस्तो अवस्थामा प्राधिकरणले पहिले मेरो पठाउँछु, त्यसपछि मात्र तिम्रो (निजी क्षेत्रको) पठाउँला भन्न सक्छ । तर निजी क्षेत्रले यति बजे यति यति बिजुली दिन्छौं भन्ने प्रतिबद्धता गरेको हुन्छ । त्यही भएर जसको पहिला आयो, उसको पठाउन व्यवस्था गर्न बिजुली पठाउने त्यस्तो निकाय स्वायत्त हुनुपर्छ भनिएको हो । यसलाई स्वतन्त्र प्रणाली सञ्चालक (आईएसओ) भन्छन् । प्रसारण लाइन भनेको प्राधिकरणको मात्र होइन, राज्यको हो भनेर सरकारले यस्ता कुरा ऐनमै ल्याउनुपर्छ । 

निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने हो भने भारत र बंगलादेशमा बिजुलीको बजारीकरण (मार्केटिङ) गर्न समस्या हुनेछैन । भारतीय पावर ट्रेडिङ कम्पनीहरुसँग नेपालका कम्पनीहरुको कुराकानी भइरहेको छ । हामी भारतीय कम्पनीहरुसित सम्झौता गर्छाैं । यता हामीले अनुमति पाउनेबित्तिकै भारत वा बंगलादेश पठाउन समस्या हुनेछैन । हाम्रो नेपाली कम्पनीमै भारतीय कम्पनीहरुको स्वपुँजी (इक्वीटी) लगानी हुन्छ । भारतीय कम्पनीहरुले सीमासम्म बिजुली ल्याउने जिम्मा नेपालका निजी क्षेत्रको र त्यसपछि उहाँहरुले नै लैजाने कुरा भएको छ । बजारीकरणमा समस्या छैन । हामीसँग लाइसेन्स नभएकाले मात्र उहाँहरुले पत्याइरहनुभएको छैन । यसबाट प्राधिकरणको बिजनेसमा कुनै असर पर्नेछैन । हामीले त प्राधिकरणले सम्हाल्न नसक्ने, गर्न नसक्ने काम गर्ने हो । प्राधिकरणकै भर पर्ने हो भने बिजुली निर्यात हुन अझ समय लाग्ला । हामीले अनुमति पायौं भने सजिलै निर्यात हुन्छ । नेपालका निजी क्षेत्रले विद्युत् निर्यातको अनुमति प्राप्त भएपछि भारतमा के कति दरमा बिजुली बेच्न सकिन्छ अथवा भारतले के कति दरमा नेपालको बिजुली खरिद गर्छ, त्यसपछि उजागर गर्ने भनेका छन् । नेपालको बिजुली भारतीय बजारमा प्रतियुनिट कति रुपैयाँमा निर्यात हुन सक्छ भन्ने विश्लेषण गर्न हामीले परामर्शदाता नियुक्त गरी अध्ययन गर्न लगाएका छौं । अर्थात् यसमा गृहकार्य भइरहेको छ । तर हामीलाई अनुमति दिने विषयमा नेपाल सरकार त्यति गम्भीर देखिएको छैन । यो पोहोर सालमै हुनुपर्ने हो । 

(कुराकानीमा आधारित)

(गोंगल पावर ट्रेडिङ एण्ड इनर्जी एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)
 

विद्यार्थी संगठनमाथि तेर्सिएको औचित्यको प्रश्न

जब देशमा निर्वाचन समय हुन्छ तब सहरूमा बस्ने नेतागणहरूको गाउँघरमा बाक्लै चहलपहल हुन्छ । हो त्यसरी नै विश्...