नारी दिवसमा योगमायाको सम्झना
आज महिला-पुरुषलाई एक समान मानिन्छ । तर हिजोको दिनमा त्यस्तो थिएन । उहिले–उहिले महिलालाई पुरुषको जुत्ता एवं दासदासी सम्झिने गरिन्थ्यो । अझ त्यतिमात्र होइन नारीलाई भोगको वस्तु सम्झेर हरेक व्यक्तिले आ–आफ्नो ढंगले हेर्ने बेग्लै समाज थियो । जुन अत्यन्तै चिन्ताको विषय थियो । हामीले हिजोको पौराणिक समाजदेखि आजको आधुनिक समाजसम्म आइपुग्दा महिलाहरूको अवस्थामा ठूलै फड्को मारेको पाउँछौं । आज हिजोको त्यो समय रहेन ।
आज हरेक क्षेत्रमा महिला पुरुष सरह योगदान दिँदै आएका छन् । अझ एक शताब्दी यताको मात्र लेखाजोखा गर्ने हो भने महिला श्रम अधिकारका आन्दोलनदेखि आजसम्मको महिला सशक्तीकरणको अभियानसम्म आइपुग्दा महिलाहरू सामाजिक एवं आर्थिकरूपले आत्मनिर्भर र सम्मान प्राप्तिको दिशामा ठूलै उपलब्धी हासिल गरेको पाउँछौं । तथापि सरकारी बजेट अवसर र महिला जागरणको लामो समय पश्चात पनि महिलाहरूलाई सक्षम बनाउन सकिएको छैन । यसको मूलकारण हो विद्यमान समाजमा जरागाडेर रहेको दाइजो प्रथा, यौन–हिंसा, भ्रुणहत्या, घरेलु हिंसा, बढ्दो बलात्कार मानव बेचबिखन जस्ता डरलाग्दो राक्षसी सोचहरू निर्मूल पार्न नसक्न्नु प्रमुख कारकतत्व मनिन्छ ।
विश्व महिला अधिकार प्राप्तिको संघर्षमा सर्वप्रथम सन् १९०८ मा अमेरिकाको न्युयोर्क शहरमा हजारौं श्रमिक महिलाहरूले आफ्नो काम अनुसारको दाम, सम्मान र मताधिकारको माग राखी विशाल विरोध प्रदर्शन गरेका थिए । त्यसपछि अमेरिकाको सोसलिस्ट पार्टीले कपडा मजदुरको उक्त आन्दोलनको स्मरणमा २८ फेबु्रअरी १९०९ मा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाएका थिए । ठीक एक वर्षपछि सन् १९१० मा कोपेनहेगनमा श्रमिक महिलाहरूले अन्तर्राष्ट्रिय महिला सम्मेलन मनाउन क्लारा जेटकिनले प्रस्ताव राख्दा १७ देशका सय भन्दा बढी सहभागीमध्ये अधिकांशले सहमति जनाएपछि ८ मार्च १९११ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय भएको थियो ।
अर्को ८ मार्चको सवालमा के बुझ्न जरुरी छ भने जुलियन क्यालेन्डर अनुसार सन १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेबु्रअरीमा पथ्र्याे, जबकि ग्रेगेरियन क्यालेन्डर अनुसार उक्त दिन ८ मार्च रहेको हुनाले बढी प्रयोगमा आउने ग्रेगेरियन क्यालेण्डर अनुसार ८ मार्चको दिन तय गरिए सँगै पहिलो पटक अष्ट्रेलिया डेनमार्क जर्मन स्वीट्जरल्यान्डले नारी दिवस धुमधामसँग मनाएका थिए । त्यसताका विश्व महिला आन्दोलनमा एउटा जनउभार ल्याएको देखिन्छ ।
रुसका महिलाहरूले पनि सन् १९१७ मा रोटी र कपडाको माग राखी सशक्त आन्दोलनले अन्ततः त्यहाँको जारशाहीलाई घुँडा टेकाएको ऐतिहासिक उपलब्धि आफैँमा सम्झनायोग्य रहेका छन् । यसैगरी चीनले सन् १९२२ मा र स्पेनिसहरूले १९३६ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाएका थिए । त्यसैताका अष्ट्रेलिया, फिनल्यान्ड, न्युजिल्यान्डले पहिलो पटक महिलालाई मताधिकार प्रयोग गर्ने अधिकार प्रदान गरेको थियो । यसरी चरणवद्ध संघर्षमार्फत महिलाहरूका मागहरू विभिन्न देशहरूमा पूरा हुँदै गरेको देखिन्छ । महिला आन्दोलनलाई यहाँसम्म ल्याउन नारी मुक्त्ति आन्दोलन कि अभियन्ता क्लारा जेटकिन र रोजा लक्जम्बर्गको मुख्य भूमिकालाई हामी कसैले बिर्सन सक्दैनौं ।
यदि आजको परिपेक्षमा नारी दिवस हेर्ने हो भने महिलाहरू कतिपय विषयमा पुरुष भन्दा धेरै अगाडि बढेको पनि पाइन्छ । विश्वपटलमा महिलाहरूले आफ्नो प्रतिभा र क्षमता देखाएर ठुल्ठुला कृतिमान हाँसिलगर्न सफल भएका छ्न् । हिजोको जस्तो महिलाहरूले पर्खाल भित्र गुम्सिएर या भान्सामै रुमलिएर बस्नुपर्ने अवस्थाको अन्त भएको छ । महिला देश समाज र परिवारको मुख्य आधार मानिन्छ । महिलाले समाजलाई सभ्य बनाउन र देश विकासमा आफनो महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यतिमात्र होइन, जबजब पुरुष असहाय हताश या निरास बनेको हुन्छ, तबतब नारीको बलिया काँधहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि सहारा बनेर निकास दिएको पाउँछौं ।
त्यसैले नारी शक्तिको भूमिकाविना अधुरा कार्य पूरा गर्न गाह्रो हुन्छ । नारी पुरुष एकरथका दुई पांग्रा भएपछि नारीहरूको पछौटेपन अज्ञानता तथा राज्यको सौतेनी व्यबहार, उत्पीडन आदिका विरुद्ध महिला पुरुष मिलेर एकसाथ संघर्ष गर्नुको अर्को विकल्प देखिन्न । ८ मार्च केवल नारी दिवस मात्र नभई एउटा जागरुकता दिवसको रुपमा हेर्नु पर्छ । यस अवसरमा नेपाल, अफगानिस्तान, चीन, कम्बोडिया, जर्जिया जस्तादेशहरूमा सरकारले बिदा दिएर धुमाधामसँग नारी दिवस मनाएको पाइन्छ भने कतिपय देशहरूमा छोराछोरीहरूको आमालाई उपहार दिएर पनि नारी दिवस मनाउने चलन रहेका छन् । यसरी हरेक महिलालाई आत्मसम्मानको साथ बाँच्न र आफ्नो बाँकी अधिकार प्राप्तिका लागि प्रण गर्ने दिन पनि हो ।
नेपालको महिला आन्दोलन हेर्ने हो भने बेलाबखतको राजनीति परिवर्तन सँगसँगै नारी जागरण अघि बढाउँदै लगेको पाउँछौं । तथापि महिला आन्दोलनको आरम्भ समाज सुधारक योगमाया न्यौपानेबाट भएको कुरामा कुनै दुईमत नहोला । राणाकालमा पनि आफ्ना २४० जना सामाजिक अभियन्ताहरूको साथ तत्कालीन ब्यवस्थाभित्र रहेका शोषण, दमन, लैंगिक विभेद, छुवाछुत र असमानता रुढीवादी अन्धविश्वास दासप्रथा सतिप्रथा आदि थुप्रै विभेदविरुद्ध आवाज उठाएर राणा शासनको ध्यानाकर्षण गराएर उनले आगोसँग खेल्ने आँट देखाएकी थिइन् ।
तत्कालीन राणाशासक जुद्ध शमशेर श्री ३ महाराजका अगाडि योगमायाले तत्कालीन अवस्थामा २६८ सूत्रीय (सत्य धर्म भिक्षा) माग प्रस्तुत गरेर नारी मुक्ति र ठूलै सामाजिक परिवर्तनको पक्षमा बिगुल फुक्ने अदम्य साहस देखाएकी थिइन् । उतिबेला र त्यो अवस्थामा एउटी नारीबाट सामाजिक परिबर्तनमा उनको त्यो साहस जुटाउनु निश्चय पनि सराहनीय कदम मानिन्छ । यसरी तत्कालीन व्यवस्थाको विरुद्धमा एउटा सीमासम्म डटेर लडिरहिन बाँकी काम आउँदो पुस्तालाई सुम्पिएर अग्नि समाधी लिने निर्णय गरेपछि तत्कालीन राणा शासकले उनीहरूलाई धरपकड गरेर बिथोल्न थालेपछि अन्तमा १९९८ साल १३ गते अरुण नदीमा ४३ जना महिला र १६ जना पुरुषगरी ५९ जना सामाजिक अभियन्ताहरूसँगै योगमायाले जल समाधी लिएको महिला इतिहासमा उनको योगदान बिर्सन या कम आँक्न मिल्दैन । एउटी नारीले लिएको उद्देश्य र चालेको कदमले आज पनि धेरै महिलाहरूलाई केही गरेर देखाउन झक्झक्याएर ब्यूँझाइरहेको प्रतित हुन्छ ।
२००७ सालको प्रजातन्त्रको स्थापनापछि नारी दिवस र संघर्षहरू कहिले खुला र कहिले गोप्य रुपले हुँदै आएका थिए । २०१७ पछिको पञ्चायतीकालमा २०३३ सालमा अंगुरबाबा जोशीको अध्यक्षतामा उच्च घरानिँया महिलाहरूले अन्तर्राष्ट्रिय नारी दिवस मनाएका थिए । त्यसपछि २०३४ सालमा पारिजातको संयोजकत्वमा मनाइयो । २०३७ सालमा झापामा, २०३८ सालमा हेँटौडा कपडा उद्योग आदि स्थानहरूमा आ–आफ्नै ढंगले गोप्यरूपले मनाइएको थियो ।
त्यसैगरी जिफण्ट ट्रेड युनियन पोलिसी इष्टिच्यूटकी अध्यक्ष तथा राजनीतिकर्मी विन्दा पाण्डेको नेतृत्वमा खुलारुपले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । २०५८ फाल्गुन २३ गते राष्ट्रिय महिला आयोगको गठनपछि मात्र विधिवत् ढंगले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेको हो । नेपाली नारी आन्दोलनलाई चिन्हाउने महिलाहरूमा योगदान भन्दा पनि पेशा पद र माथिको अनुकम्पा आदिको आधारले गर्दा नारी आन्दोलनले ठोस दिशाबोध गर्न नसक्दा सोचे अनुसार उपलब्धि हासिल गर्न सकिरहेको थिएन । फेरि पनि संघर्ष र योगदानको आधारमा नारी मुक्ति तथा सशक्तीकरण ल्याउने सवालमा साहाना प्रधान मंगलादेवी, द्वारिकादेवी ठकुरानी, मोतीदेवी श्रेष्ठ आदि महिलाहरूको भूमिका अग्रपंक्तिमा देखिन्थ्यो । कतिपय संघर्षरत महिलाहरूको सत्तामा पहुँच नहुँदा उनीहरूको परिचय र योगदानहरू अझै पनि ओझेलमा परेका छन् ।
आजको २१ औं शताब्दीमा पनि हामीले महिलाविरुद्ध आफ्नो पुरानो चिन्तन बदल्न र संवैधानिक तथा कानुनी प्रावधानमा पनि परिवर्तन ल्याउन जरुरी छ । यद्यपि वर्तमान अवस्थामा नेपालको कानुनले तलदेखि माथिसम्म महिलाहरूको ३३ प्रतिशतको अनिवार्य सहभागिताले धेरै महिलाहरूलाई राज्यको जिम्मेवारी पद तथा निर्णायक शक्तिको रुपमा उभ्याएको पाउँछौं । जसको कारण राज्यको महत्वपूर्ण पदहरूमा राष्ट्रपति, प्रधानन्यायाधीश, उपसभामुख, मन्त्री, राजदूत जस्ता गरिमामय पदमा पुगेर राष्ट्रलाई चिनाउने कामसम्म भएका छन् । तर पनि आधा जनसंख्या ओगटेको नारीजातिभित्र केही सीमित टाठाबाठाहरूको हालीमुहालीको राजनीतिले अधिकांश पिठ्युँमा बच्चा बोकेर गिट्टी कुट्ने महिला, दाउरा बेच्ने बृद्धआमा, होटल रेष्टुरेन्टमा काम गर्ने युवती र स्कुलको मुख नदेख्ने बालिका अनि न्यायको खोजीमा भीख माग्दै हिँड्ने तमाम हिंसा–पीडित महिलाहरूलाई राज्यको तर्फबाट शिक्षा रोजगार र न्याय जस्तो आधारभूत आवश्यकताको अत्यन्तै खाँचो छ । बहुसंख्यक ग्रामीण क्षेत्रका महिलाहरूको अभाव पीडाको सम्बोधन या उनीहरूको आँसु पुच्छ्न सकेमात्र नारी दिवस मनाउनुको सार्थकता रहने छ । किनकि महिलाहरूको सामाजिक र आर्थिक प्रगतिमा नेपालको तस्वीर झल्किएको हुन्छ ।
हामीकहाँ अझै पनि लैंगिक आसमानता छ । नेपालमा औंठा छाप महिलाहरूको संख्या धेरै छन् । नारी सशक्तीकरणको असली अर्थ् बुझ्न उनीहरूलाई गुणस्तरीय शिक्षामार्फत हरेक क्षेत्रमा स्वतन्त्र भएर स्वयं निर्णय लिन सक्नुपर्छ । महिला सशक्तीकरणको अर्थ महिलाहरूको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउनु हो । ताकि उनीहरूलाई भोली शिक्षा दीक्षा र आय–आर्जनको अवसर सहजै प्राप्त हुनसकोस् । यो त्यो तरिका हो जसबाट महिलाहरू पनि पुरुष सरह आफ्नो हरेक आकांक्षाहरू पूरा गर्न सकून् । समाजमा उनीहरूको वास्तविक अधिकार प्राप्त गर्न उनीहरूलाई सक्षम र योग्य बनाउनु नै महिला सशक्तीकरण हुन् ।
लेखिका तसलीमा नसरिन भन्छिन्, ‘वास्तवमा महिला जन्मदेखि अबला हुँदैनन्, तिनीहरूलाई अबला बनाइन्छ । सामाजिक परम्परा रीति–रिवाज एवं जीवनका मूल्यहरूद्वारा महिलालाई सबलाबाट अबला बनाउँछन् । उनीहरूभित्रको आन्तरिक शक्ति जगाउनु पर्छ । जसरी कुनै चराको एउटा पखेटाको सहाराविना उड्न सक्दैन त्यसरी नै कुनै राष्ट्रको प्रगति केवल पुरुषको भरमा हुन सक्दैन ।’ यिनै सारगर्भी भनाइ र योगमायाबाट शिक्षा र ऊर्जा समस्त नारीहरूमा थप्न सकोस्, सबैमा नारी दिवसको शुभकामना । शुभकामना । शुभकामना ।