गरिबको मनमनमा बसेका इधी दम्पतीको प्रेरक इतिवृत्त
आफ्नो हातबाट दुई लाखभन्दा बढी बेवारिसे लास सद्गत गरेका अब्दुल सतार इधीको नाम बीस हजारभन्दा बढी बालबालिकाका बाबुका रुपमा सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । १९२८ फेब्रुअरी २८ मा तत्कालीन अंग्रेज राजमा भारतको गुजरात राज्यको बान्टवामा जन्मेका इधी सन् १९४७ मा स्वतन्त्रताको केही समयपछि आफ्नी आमाको दुखद् मृत्युपश्चात पाकिस्तानको नागरिक बन्न पुगेका थिए ।
त्यहाँ उनले जीवन गुजाराका लागि होलसेलमा कपडा किनेर बेच्ने काम थालेका थिए । तर केही समयपछि काम छाडेर पूर्णकालीन समाज सेवामा लागेका थिए । दुवै मिर्गौलाले काम नगरेकोले करिब तीन वर्ष बिमारी जीवनसहित ८८ वर्षको उमेरमा २०१६ को जुलाई ८ का दिन उनले पार्थिव शरीर त्यागेका थिए ।
सन् १९५१ देखि आधिकारिक रुपमा इधी फाउन्डेसनमार्फत लाखौँ लाख मानव मात्र नभई जनावरहरूलाई समेत सेवा प्रदान गरेका थिए । उनले आफ्नो जीवनकालभरि इधीको ब्यानरमा जन्मदेखि मृत्युपर्यन्त एम्बुलेन्स, अस्पताल, बालबालिका सेवा, आवास तथा अनाथालय केन्द्र, हेल्पलाइन सेवा, शैक्षिक सेवा, फयुनरल सेवा, हराएको व्यक्ति खोजी सेवा, शरणार्थी सहायता सेवा, विवाह ब्यूरो सेवा, ल्याङ्गर सेवा (निःशुल्क खाना), परोपकारी पसल, पशु सेवालय, रिक्सा रोजगार योजना, लागूऔषध पुनर्वास केन्द्र, कल्याण केन्द्र, इन–हाउस बेकरी, रुटी बिरुवा, विभिन्न विषयमा कार्यशाला गोष्ठी, लास व्यवस्थापन, अनलाइन कुर्बानी सेवा, राष्ट्रिय अन्तर्राष्ट्रिय आपतकालीन सेवा प्रदान गर्दै आएका थिए ।
यी सेवाहरूमध्ये इधी फाउन्डेसनले विश्वको सबैभन्दा धेरै संख्यामा एम्बुलेन्स सेवा चलाउने संस्थाका रुपमा सन् १९९७ देखि वर्ल्ड गिनिज बुकमा नाम लेखाउन सफल भएको थियो । सन् १८४८ मा एउटा सेकेन्ड ह्यान्ड हिलमा पिकअप ट्रक गाडी किनेर त्यसैलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेर लाखौँ बिरामीलाई सेवा पुर्याउँदै अहिले १८ सयभन्दा बढी एम्बुलेन्स सञ्चालनमा छन । फाउन्डेसनसँग हवाई तथा सामुन्द्रिक एम्बुलेन्स पनि छन् ।
विद्यालय जाँदा आमाले खाजा खर्चका लागि एक पैसा र अर्को एक पैसा बाटोमा माग्नेलाई दिनु भनेर पठाउने गरेबाट सानै उमेरदेखि नै समाज सेवामा उनको लत बसेको थियो । सुरुमा पाँच हजार जम्मा गरेर सुरु गरेको उनको यो मानव सेवाले यति ठूलो रुप लिँदा पनि सरकार, ठूला कम्पनी तथा अन्तर्राष्ट्रिय सहयोग कहिल्यै पनि स्वीकार गरेनन् ।
उनलाई सहयोग गर्न धेरै संघ संस्थाले प्रस्ताव गरे पनि उनले इन्कार गरे । जब जब पैसाको आवश्यकता हुन्थ्यो आफैँ सडकमा बसेर पैसा संकलन गर्दथे । त्यति बेला गरिब मानिसहरूले पनि आफ्नो औकातअनुसार सहयोग गर्ने हुँदा इधी यसलाई मानिसले आफूले सकेसम्म अन्य मानवलाई सहयोग पुर्याउने माध्यम बनाउन चाहेका बताउँथे । उनले धेरै पैसा हुनेहरूभन्दा थोरै पैसा हुनेहरू बढी मनकारी हुने र धनी मानिस निकै थोरै मात्रै हुने भएकाले थोरै हुने धेरै मानिसहरूबाट जम्मा हुने थोरै थोरै पैसा नै बढी हुने बताएका थिए । त्यसैले उनलाई संसारकै अमिर गरिब मान्छे पनि भन्ने गरिन्थ्यो ।
पाकिस्तानका एक नाम चलेका लेखक मलाला युसुफजाईले अब्दुल सत्तार इधी मुकुट बिनाको राजा हुन भन्दै मोहम्मद अली जिन्‍नाले हामीलाई पाकिस्तान दिए अब्दुल सत्तार इधीले हाम्रो देशलाई आत्मा दिए भनेर लेखेका छन् । एक बोल्न नसक्ने महिला इधी फाउन्डेसनको सम्पर्कमा आएको थियो केही समयपछि उनी भारतीय नागरिक भएको पहिचान भएपछि उनलाई विशेष स्याहारसम्भार गरियो र तन्दुरुस्त भएपछि इधी आफँैले भारत पुगेर प्रधानमन्त्री मोदीको जिम्मा लगाइदिए । इधीको मानव सेवाबाट प्रभावित भएर मोदीले फाउन्डेसनको सहयोग स्वरुप एक करोड रुपैयाँ दिने घोषणा गरे तर इधीले धन्यवाद भन्दै उक्त सहयोग स्वीकार गरेनन् ।
पाकिस्तानभरि करिब तीन सय पचास केन्द्रहरूबाट मानवताको काम गरि रहेको इधी फाउन्डेसनको प्रत्यक केन्द्रमा एक झुला (कोक्रो) राखिएको छ । त्यहा Do not kill, leave the baby to live in the cradle लेखिएको छ । कुनै पनि बाल बालिका जन्मिने बित्तिकै मर्न नपरोस् भन्ने इधीको मान्यता थियो । यही सिद्धान्त अनुसार कसैले कुनै कारण बाल बच्चा पालनपोषण गर्न नसकेमा बिनाजानकारी यो झुलामा छाड्न सक्नेछ । यसरि छाडिएका बाल बालिकाहरूको स्याहारसुसार गर्ने विशेष व्यवस्था गरिएको छ । तर विरोधीहरूले यसलाई गलत क्रियाकलाप गर्न उक्साएको भनेर आरोप पनि लगाउने गर्दथे ।
सन् २००४ मा इस्लामिक कट्टरपन्थी समूहले विभिन्न ठाउँमा आक्रमण गरी यस संस्थाको झन्डै पाँच लाख युएस डलर बराबरको नोक्सानी पुर्याएका थिए । देशमा मरेका मानिसहरूको परिचय नखुल्ने बढ्दो समस्या देखेर उनले त्यस्ता लासहरूलाइ लामो समयसम्म राख्न सकिने गरी शव गृह बनाएका छन् । त्यहाँ राखिएका लासहरू सनाखत भएपछि सदगत गर्न पनि उनले नै सहयोग गर्दथे ।
इधी राजनीतिज्ञ वा धनी बन्न सक्थे तर उनले आफ्नो व्यक्तिगत लाभका लागि गरिबको सेवा गरेनन् । उनले आफ्नो संस्थाबाट कहिल्यै तलब लिएनन् र आफ्नो मुख्य कार्यालयको छेउमा एउटा सानो अपार्टमेन्टमा बस्थे ।
अपाङ्ग तथा मानसिक बिमारीहरूको हेरचाहपछि धेरैजसोले सामान्य जीवन पनि बिताउन सक्ने हुन्छन् । बाटोमा अलपत्र परेका जो कोहीलाई पनि उनले बिनाभेदभाव त्यहाँबाट उठाएर सुरक्षित आवासमा लैजानु उनको दैनिकी थियो । उनले करिब ६५ वर्ष एक दिन पनि छुट्टी नलिएर सेवा प्रदान गरे । आफ्नो चार छोरा छोरीसँग (फैसल, कुबरा, जीनत र अल्मास)बसेर चार दिन पनि खाना नखाएको, कुनै पनि चाडबाड विशेषतः मुश्लिमहरूको इदसम्म पनि मनाउने समय उनले निकाल्न सकेनन् भनेर उनका श्रीमती तथा सहयोगी बाल्किस इधीले एक अन्तर्वार्तामा बताएकी थिइन् ।
इधी आफूलाई पहिला मानव अनि मात्र मुश्लिम हुँ भन्ने मान्यता राख्दथे । धर्म जात जातिको आधारमा विभक्त समाजलाई उनले मानवताको बलियो डोरीले एक गठ बनाउने कोसिस गरे । सिंगो मानवताको इतिहासमा सम्भवतः एक व्यक्तिले यति धेरै समाजमा सकारात्मक परिवर्तन गर्न सकेको यो पहिलो उदारहण हो । उनका यस्ता कामहरूले धेरै धार्मिक कट्टरपन्थीहरूलाई ठूलो चुनौती दिए जस्तो लागेर उनी माथि लाग्न अनेक बहानाहरू खोज्ने गर्दथे । उनका कामहरू रोक्न बिघ्न बाधाहरू खडा गर्नेहरू पनि निस्केका थिए ।
एक व्यक्तिले इधीसँग तिमीले गैरमुश्लिमहरू हिन्दु, क्रिस्चियन, बुद्धिस्ट, शिखहरूलाई पनि सहयोग गर्ने भएकाले आर्थिक सहयोग गर्न सकिएन भनेपछि तिमीभन्दा त मेरो एम्बुलेन्स नै बढी मुश्लिम भयो भन्ने जवाफ फर्काएका थिए । उनी आफ्नो कर्मबाट कहिल्यै पनि पछि हट्न तयार भएनन् । बरु आफूमाथि कुनै पनि बेला जे पनि हुन सक्ने भनेर मर्नुभन्दा २५ वर्ष अगाडि नै कराँचीबाट ५६ किलोमिटर टाढा आफैँले स्थापना गरेको इधी भिलेजमा आफ्नो लास राख्नका लागि स्थान बनाइसकेका थिए । त्यहाँ १५ सयभन्दा बढी घरबारविहीनहरूको सामूहिक बसोबास रहेको छ । त्यही नै पाकिस्तान सरकारले १९ टोपसहितको राष्ट्रिय सम्मानका साथ इधीको अन्त्येष्टि गरिएको थियो ।
इधीले मुख्यतः चार कुराहरू सत्य, सरल जीवनशैली, मेहनत र समयको महत्वलाई विशेष जोड दिने गर्दथे । उनको जीवनशैली निकै सरल थियो । धेरै वर्षसम्म एकै जोर लुगा लगाउने केही दिनमा लुगा धुन पर्दा च्यादरले जिउ छोप्ने र सुकेपछि त्यही लुगा लगाउने गरे । मरेका मानिसहरूको कपडा जुत्ताचप्पलहरू सफा गरेर प्रयोग गर्न उनलाई आदत नै बसिसकेको थियो । एक पटकमा उनीसँग दुई जोर कुर्ता र सुरुवाल मात्रै हुन्थे ।
इधी राजनीतिज्ञ वा धनी बन्न सक्थे तर उनले आफ्नो व्यक्तिगत लाभका लागि गरिबको सेवा गरेनन् । उनले आफ्नो संस्थाबाट कहिल्यै तलब लिएनन् र आफ्नो मुख्य कार्यालयको छेउमा एउटा सानो अपार्टमेन्टमा बस्थे । उनको जीवनभरि एम्बुलेन्सबाहेक अन्य गाडी चढेनन् । कुनै पनि सामूहिक वा पारिवारिक जमघट भोजभतेरमा उनी कहिल्यै पनि सामेल भएनन् ।
तर उनको प्रतिनिधित्व गर्दै उनको श्रीमतीले भने सबै औपचारिकता निभाउने र मानव सेवामा पनि त्यतिकै संलग्न थिइन् । विवाह पछाडि साथीहरू उनलाई श्रीमान्ले रमाइलो घुमघाम गर्न पनि एम्बुलेन्समा राखेर अस्पताल वा चिहानमा लाने त होला नि भनेर भनेको एक अन्तर्वार्तामा सुनाएकी थिइन् । उनले इधीको देहावसान पछाडि दिवंगत हुनुपूर्व गत वर्ष अप्रिल १५ सम्म संस्थाको प्रमुखको हैसियतमा काम गरेकी थिइन् । अहिले यो सबै जिम्मेदारी उनहरूका छोरा फैसल र छोरी कुबराको काँधमा पुगेको छ ।
एक जना व्यक्तिले यति ठूलो काम गर्दा पनि उनले नोबेल पुरस्कार भने पाउन सकेनन् । आफू पुरस्कारका लागि काम नगरेकोले कुनै दुःखी मन भने गरेनन् । पाकिस्तान सरकारको तर्फबाट सन् २०११ मा तत्कालीन प्रधानमन्त्री युसुफ रजा गिलानीले इधीलाई नोबेल शान्ति पुरस्कारका मनोनयनका लागि सिफारिस गरेका थिए । त्यसको पाँच वर्ष पछाडी नोबेल शान्ति पुरस्कार पाएका मलाला युसुफजाईका बुबा जियाउद्दीन युसुफजाईले तीस हजार हस्ताक्षरसहित इधीलाई नोबेल शान्ति पुरस्कार दिन निवेदन दिएका थिए ।
उनको श्रद्धाञ्जलीमा बीबीसी उर्दूद्वारा प्रसारित कार्यक्रममा मलालाले पनि 'नोबेल शान्ति पुरस्कार विजेताका रूपमा, मसँग पुरस्कारका लागि व्यक्तिहरूलाई मनोनयन गर्ने अधिकार छ र मैले अब्दुल सत्तार इधीलाई मनोनीत गरेको छु' भनेकी थिइन् । त्यस्तै गरी पाकिस्तान क्रिकेट बोर्डका गभर्निङ बोर्ड सदस्य नजम सेठीले गद्दाफी स्टेडियमको नामलाई इधीको नाम राख्ने प्रस्ताव राखेका छन् । उनले समाजलाई पुर्याएको सहयोगको उच्च सम्मान गर्दै दुई सय पचासभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका थिए ।
उनले आफ्नो सेवा पाकिस्तानमा मात्रै सीमित गरेनन् । इधी फाउन्डेसनले दक्षिण एसियाका प्रायः सबै देशहरू, मध्य पूर्व, अफ्रिका, काकेशस क्षेत्र, पूर्वी युरोप र संयुक्त राज्य अमेरिका, बेलायत, जापानमा पनि राहत कार्यहरू सञ्चालन गर्ने गरेको छ ।
२००५ मा फाउन्डेसनले कैटरीना तूफान आउँदा युएस एक लाख डलर दान गरेको थियो । सन् २०१५ मा नेपालमा र अहिले टर्की तथा सिरियामा आएको भूकम्पमा पनि सहयोग गरेका छन् । २०२० सम्म, फाउन्डेसनको संयुक्त राज्य अमेरिका, बेलायत , संयुक्त अरब इमिरेट्स, क्यानडा, अस्ट्रेलिया, नेपाल, बंगलादेश, भारत र जापानमा अन्तर्राष्ट्रिय मुख्य कार्यालयहरू स्थापना गरिएको छ । बेला बखत इधी विभिन्न देशमा जाने आउने पनि गरेका थिए । कतिपय अवस्थामा उनलाई यस्तो भ्रमणमा रोक लगाउने प्रयास पनि भएका थिए । इधीलाई सन् १९८० मा लेबनान प्रवेश गर्दा इजरायली सेनाद्वारा गिरफ्तार गरियो ।
सन् २००६ मा क्यानडाको टोरन्टो एयरपोर्टमा अधिकारीहरूले उनलाई १६ घण्टाभन्दा बढी समयसम्म हिरासतमा राखेका थिए । जनवरी २००८ मा, न्यूयोर्क सहरको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले उनको राहदानी र अन्य कागजातहरू जफत गरेपछि आठ घण्टाभन्दा बढी अनुसन्धान गरे । पारम्परिक पाकिस्तानी कपडा र लामो दाह्रीका कारण उनले यस्तो झमेला व्यहोर्न परेको उनको बुझाइ थियो ।
उनले विद्यालयमा खासै औपचारिक शिक्षा हासिल गर्न पाएनन् । मानिसहरू शिक्षित भइसकेका छन्, तर अझै मानव बन्न सकेका छैनन् भन्ने मान्यताका उनी एक अबल उदाहरण हुन् । एघार वर्षको उमेरमा सन् १९३९ मा स्ट्रोक भए पछि आमा पक्षघातको बिमारी भएपछि उनको सम्पूर्ण स्याहार सुसार गर्ने जिम्मेदारी इधीको नै भयो । आमाको अवस्था त्यस्तो देख्दै गर्दा समाजमा अरु कति धेरै मानिसहरू यस्तो पीडामा होलान्, कतिका हेरचाह गर्ने त म जस्तो छोरा पनि नहोलान्, उनीहरूको अवस्था कस्तो होला भनेर उनि सोच्ने गर्दथे ।
आफूले सकेसम्म गाउँका अन्य आवश्यकता पूरा गर्न नसक्नेहरूको पनि बेलाबखत सहयोग गर्न पुग्थे । आफू २० वर्षकै हुँदा उनले कराँचीमा एउटा क्लिनिक र पुरानो गाडी किनेर त्यसैबाट एम्बुलेन्स सेवा सुरु गरेका थिए । उनले उपचार गराउन नसक्नेहरूका लागि सानो औषधि पसलबाट काम सुरु थालेका थिए । एक महिलाले गरिबीको कारण आफ्ना छ बाल बच्चासहित आत्महत्या गरेको खबरले गर्दा उनले आफूले सक्दो समाजमा सहयोग सुरु गर्ने निर्णय गरेका थिए ।
सन् १९५७ मा कराँचीमा फ्लू महामारी फैलिएको थियो र उनीहरूको उपचार गर्ने कोही थिएनन् । सडकमा थुप्रै मानिसहरू रोगले ग्रस्त थिए । त्यसैले उनले बेन्चहरू बटुले र मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई स्वयं सेवा गर्न लगाए । उनीसँग पैसा थिएन त्यसैले सडकमा चन्दा माग्न थाले र जनताले दिए । त्यसलाई नै क्रमशः अस्पतालको रुप दिएका थिए । अहिले उनको संस्थामा काम गर्ने प्रशिक्षित नर्सको संख्या मात्र चालिस हजारभन्दा बढिरहेको छ ।
एउटा पुरुषको सफलतामा महिलाको पनि धेरै भूमिका हुन्छ भन्ने प्रचलनभन्दा भिन्न दुबैले मिलेर काम गरे झन् धेरै उचाइ लिन सकिन्छ भन्ने उदाहरण इधी परिवार हो । पढाइमा खासै अब्बल नभएकी किशोरी बिल्किस ८ कक्षामा पढ्दा नै इधी नर्सिङ ट्रेनिङ सेन्टरमा नर्सिङ तालिममा सामेल भइन् । अब्दुल सतारले प्रस्ताव गरेपछि घर परिवारको अनुमतिमा सन् १९६६ अप्रिलमा यी दुई विवाहा बन्धनमा बाँधिएका थिए । उमेरले ठ्याक्कै डबल अर्थात् त्यतिबेला बिल्किस १९ वर्षकी थिइन् भने अब्दुल ३८ वर्षका थिए ।
अब्दुल काममा धेरै व्यस्त हुने हुँदा उनको पहिलो श्रीमती अस्पताल र दोस्रो बिल्किस भन्ने चर्चा पनि चलेको थियो । बिलक्विस बानो इधीले परिबार सम्भालेर समाज सेवाको काममा पनि उत्तिक्कै सक्रिय रहिन् । अब्दुलका प्रत्येक पाइलामा उनको सहयोग मात्र हैन साथ साथै हिँडेकी थिइन् । त्यसैले उनलाई पाकिस्तानकी आमा भनेर पनि चिनिन्थ्यो । अब्दुललाइ बाल बालिकाहरूले अब्बू (उर्दूमा) बुबा वा नाना (उर्दूमा) हजुरबुबा भनेर सम्बोधन गरिन्थ्यो ।
सिँगो समाजले उनलाई पाकिस्तानको पिता, बेसहाराको सहारा, ‘रहमेट का फिरिश्ता’ अर्थात् दयाको परी जस्ता विभिन्न उपनामले सम्बोधन गरिन्थ्यो । महिलाप्रति अब्दुलको निकै धेरै सम्मान थियो । त्यसको एउटा प्रमाण इधीलाई पछि बिक्लिश इधी फाउन्डेसन नामकरण गरिनु हो ।
अब्दुल सतार इधीको दुवै मिर्गौला नचल्ने भएपछि अस्पताल भर्ना भएर डाइलोसिस गरेको तीन वर्ष पछाडि मृत्यु भएको देखिन्छ । यस बीचमा मिर्गौला प्रत्यारोपण गरिएको र त्यो पनि असफल भएको भन्ने देखिँदैन । यति धेरै मानव सेवा गर्ने मान्छेलाई मिर्गौला दान गर्ने मानिस नभेटिएको पक्कै पनि हैन होला । सायद उनले आफ्नो लागि अरुका अंग नलिने बाचा गरेको हुनुपर्छ । मृत्यु पर्यन्त आफ्नो सबै अंग दान गर्ने भनिए पनि स्वास्थ अवस्थाको कारण आँखाबाहेक अन्य अंग दान गर्ने उनको अन्तिम इच्छा भने पूरा हुन सकेन ।
आफ्नो एउटा जीवन सहज ढंगले बिताउन नसकिने यो समाजमा लाखौँलाई सहयोग गर्ने अब्दुल सतार इधीलाई उनको ९५ वर्षको जन्मदिनको शुभकामना ! संसारका सबै मान्छेले चिन्नुपर्ने स्वर्गीय इधी दम्पतीलाई हार्दिक श्रद्धाञ्जलि साथै उनको उत्तराधिकारिहरूलाई बाबुआमाको पथ थप फराकिलो गर्न सकोस् भन्ने शुभकामना ।