टिकटकको लत, नयाँ कुलत  !

सन्जु पौडेल | माघ २१, २०७९

२६ पुस २०७९ मा अन्‍नपूर्ण पोस्टमा छापिएको टिकटकले भैंसी बेचायो भन्‍ने शीर्षकको समाचार देख्दा पङ्तिकार टक्‍क अडिन् । उक्त समाचारअनुसार उमेरको उत्तरार्धमा पुगेकी अछामको मेल्लेख गाउँपालिका-०४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको उल्लेख छ । यो समाचार त एउटा प्रतिनिधि मात्र हो । अहिले युवापुस्तामा मात्र हैन पाका भनिएका मानिसमा समेत सामाजिक सञ्‍जालको विगबिगी छ ।  

हामी चाहेर पनि नचाहेर पनि सामाजिक सञ्‍जालको यो परिधिबाट टाढिन सक्दैनौँ । पछिल्लो समय भित्रिएको नयाँ सञ्‍जाल होः टिकटक । अहिले हामीले धेरै समय टिकटकमा बिताइरहेका हुन्छौँ किनभने आजभोलि टिकटकमा भिडियो अपलोड गर्ने मात्र हैन फुर्सदमा लाइभ बस्ने ट्रेण्ड बढि नै चलिरहेको छ । यो एउटा फजुल समय बिताउने राम्रो माध्यम पनि भएको छ । यसबाट पैसा कमाउनेदेखि लिएर नाचगानका मनोरञ्जनात्मक प्रस्तुतिहरूदेखि कम्पनीहरूको विज्ञापन र समाचार सम्प्रेषण गर्ने गरेको पाइन्छ । यही विषयवस्तुहरू केलाउँदा अहिलेको पुस्ताले टिकटकबाट धेरै नै फाइदा लिन सक्नुपर्ने हो । किनकि छोटो समयमा केही  राम्रो कुरा सिक्न पाइन्छ भन्‍ने ठान्छन् ।

सन् २०१६ देखि टिकटकको सुरुवात भएको तर यो यति छोटो समयमा यसले आफ्नो मार्केटमा फड्को मारिसकेको छ । २०२१ मा टिकटक सबैभन्दा बढी डाउनलोड भएको एपको रुपमा देखा परेको छ । यो विश्वभरमा छैठौँ र सबैभन्दा लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो । यो युवा पुस्तामा एकदमै लोकप्रिय भएको छ । जसको वृद्धि कोभिड-१९ महामारीको समयमा बढी नै भएको थियो । त्यसकै प्रभावले होला अहिले टिकटकको लतले त हामी नेपालीहरूलाई पनि जेष्ठ नागरिकदेखि बाल्यकालमा रमाउनुपर्ने साना साना बालबच्चासम्मलाई समेत अरु सामाजिक सञ्‍जालभन्दा बढी लागे जस्तो देखिन्छ ।

घर जग्गा कारोबारदेखि काठमाडौँमा त रुम खोज्ने कामसम्म अहिले टिकटकको प्रयोगले सजिलो भएको छ । राम्रो कामको लागि यो एउटा राम्रो प्ल्याटफर्म पनि हो तर यसले हाम्रो गाउँ ठाउँमा नराम्रा कुराहरू पनि धेरै भित्र्याइरहेको छ जुन हामीले प्रष्टसँग देखेका छौँ र भोगेका छौँ ।यसरी सबैले सधै हेर्ने टिकटकमा नराम्रा वा अनैतिक कार्यहरू गर्न थालियो भने ती हेर्ने व्यक्तिले के सिक्छन् त ? हो म मान्छु कि कुनै पनि चिजको राम्रा पक्ष र नराम्रा पक्ष दुवै हुन्छन् ।

तर हामीले राम्रो पक्ष भन्दा पनि नराम्रा पक्षको बढी सिको गरिरहेका छौँ ।अब हजुरहरूले भन्‍नु होला नराम्रा कुराहरू त हामी छुट्याउन सक्ने भएका छौँ राम्रा कुरा हेर्ने वा नराम्रा कुरा  कुन नहेर्ने भन्‍नुहुन्छ होला ? त्यो ठीक हो  तर पनि हामीहरूले के गर्छौँ आजकाल त्यो हामीले चाहेर मात्र हुँदैन् । अहिलेका बच्चाबच्चालाई मोबाइल नदिई खानासम्म खुवाउन सक्दैनौँ । बालबच्चाहरू रोएको बेला फकाउन छाडेर,उनीहरूसँग खेल्न छाडेर,उनीहरूलाई महाभारतका कथाहरू, कविताहरू सुनाउन छाडेर तिनीहरूको हातमा मोबाइल थमाइदिन्छौ अनि टिकटक देखाइदिन्छौँ भने त्यो बच्चाले राम्रो नराम्रो कुरा  कासरी छुट्याउन सक्छ त्यो आफै सोच्नुहोस् त ?

यसरी हेर्दा बच्चाहरूले टिकटकमा कयौँ समय खर्च गर्छन । अब यसबाट बच्चाहरूले राम्रो कुरा सिकेका छन् भने त ठीक छ यदि नराम्रो कुरा सिकिरहेका छन् भने त्यसको जिम्मेवारी कसले लिने? त्यसको जिम्मा बच्चालाई मोबाइल दिने व्यक्तिले लिने कि बाबाआमाले लिनेँ हामीले आफैँ आफ्नो बच्चाको ख्याल राख्न सकेका छैनौँ सानै उमेरमा बच्चाले जे देख्छ त्यो एकदमै छिटो सिक्छ त्यसकारण बच्चालाई के सिकाउने कस्तो बाटो देखाउने आफै सोचेर बच्चालाई टिकटक देखाइदिनु होला ।

यसरी हेर्दा टिकटक प्रयोगकर्ताहरूमा युवाहरूको सहभागिता बढिरहेको देखिन्छ । यसमा युवाहरूले पनि राम्रो कुराहरूलाई केन्द्रित गर्ने हो या नराम्रा कुराहरूमा त्यो हजुरहरूले नै सोच्ने कुरा हो । हामीलाई यो एपले यसरी लतारिरहेको छ कि पाँच मिनेट मात्रै टिकटक हेर्छु भनेर एप खोल्यो ४-५ घण्टा बितेको पत्तै हुँदैन् । अनि समय बितिसकेपछि किन टिकटक हेरेछु भनेर आफैँलाई पछुतो लाग्नु स्वाभाविकै हो । नचाहिने कुरामा समय बितेपछि पछुतो त लाग्छ नै ।

यसमा कुनै पनि भिडियो छिटो हेर्न सकिन्छ । आजभोलि हामीहरूले धेरै समय लगाउने कुराहरूतिर ध्यान दिँदैनौं ।  किनकि हामीलाई जुन सुकै कुरा छिटो सिक्नुछ ।टिकटकले यस्तो बानी पारेको छ कि हामीले युटुबमा गएर लामो भिडियो हेर्नै सक्दैनौँ । छोटो-छोटो भिडियो हेर्ने बानी परेको छ । यो कुरा ठीक पनि हो  । हामीले छोटो समयमा राम्रो कुरा थाहा पाउँछौँ तर यसले गर्दा हामीमा धैर्य गर्ने क्षमता हराउँदै गएको छ जुन नराम्रो पक्ष हो ।

साथीले टिकटक चलाउँदैन भने आज भोलिको जमानामा पनि टिकटक नचलाउने कस्तो हो ? तिमी त कुन जमानामा छौँ ?  भन्छौँ । उसलाई यस्तो महसुस गराइदिन्छौँ कि टिकटक नचलाएर ठूलो गल्ती गरिरहेको छ । किशोरकिशोरीहरूले आफूले टिकटक नचलाएमा अरुभन्दा पछाडि परेको सोच्छन् । यसमा एकदमै सक्रिय देखिने पनि किशोर किशोरी नै बढी छन् जसले गर्दा उनीहरूको धेरै भन्दा धेरै समय टिकटकमा बितिरहेको छ । जुन बढी खेदजनक छ ।

यसमा हामी जहाँ जान्छौ जे गर्छौं त्यहाँको भिडियो अपलोड गरिरहेको हुन्छौँ । यसो गर्दा गाउँ-ठाउँ जहाँ जान्छौ त्यो कुरा अरुले पनि थाहा पाउँछन् । भाइरल हुने चक्करमा तर हामीले आफ्नो गोपनीयता छरपस्ट पारेको वास्ता गर्दैनौँ । धेरैजसो समय टिकटकमा बिताइरहेका हुन्छौँ जसले गर्दा मोबाइलबिना बस्न नसक्ने भएका छौँ । यो समयमा धेरै कामहरू मोबाइल ल्यापटपबाट हुन्छन् तर यसो हो भन्दैमा यिनीहरूबिना बस्न नसक्ने अवस्था बनाउनु हुँदैन ।

वृद्धवृद्धा हजुरबुबा- हजुरआमाहरूलाई साथमा कोही बोल्ने मान्छे हुँदैनन् । सबैलाई कामको बेला काम अरु समयमा धेरै जसो टिकटक हेरेर समय बिताउन रमाइलो लाग्छ । घरमा भएका बूढा आमाबुबाले जहाँसम्म मोबाइल चलाउन जान्‍नुहुन्‍न । त्यसकारण कोही नबोलेपछि उहाँहरूले एक्लो महसुस गर्नुहुन्छ ।

यसरी हेर्दा टिकटकबाट सबै सकरात्मक कुराहरू मात्रै आइरहेका छैनन् । धेरैजसो नकरात्मक प्रभाव हाम्रो समाजमा परिहेको छ । जुन हामीले प्रशस्तै देखिरहेका छौँ । अब टिकटक कसरी हेर्ने, कसले हेर्ने र किन हेर्ने भन्‍ने कुरा हजुरको हातमा छ ।

बाँकेमा किन फैलियो दादुरा ? नियन्त्रण र रोकथाममा के गरियो ?

दादुरा एक संक्रामक रोग हो  जुन मिजल्स भाइरसको कारणले गर्दा हुन्छ। यो भाइरस प्यारा म्याक्सो समूह अन्त...

मोहम्मद मोहसिन र रमेशनाथ पाण्डेहरूले सम्झाएको ‘राष्ट्रिय कथा’

हरिबहादुर थापा | माघ १९, २०७९

२७ साउन, २०५६ । राष्ट्रिय सभा अध्यक्षका निम्ति चुनाव हुँदै थियो । त्यो चुनावले निकै कौतूहल जगाएको थियो ...

एक सातामा दुईवटा ठूला साइवर आक्रमण, सरकार किन उदासिन ?

सन्तोष सिग्देल | माघ १७, २०७९

गत हप्ता नेपालमा साइवर सुरक्षासम्बन्धित दुई घटना भए। पहिलो घटनामा नेपाल प्रहरीको आन्तरिक सञ्चार प्रणाली ह्...

कांग्रेस संवैधानिक रूपमा प्रमुख प्रतिपक्ष हो कि होइन ?

नारायण कँडेल | माघ १६, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसको संसदीय भूमिकाका सन्दर्भमा अनेक थरी व्याख्याहरू भएका ...