सिनेमा

हेरिदिने कोही छैन तर प्रदर्शन जारी छ

अघिल्लो महिना प्रदर्शन भएको ‘पासो’ फिल्मका निर्माता आठौँ आश्चर्य भएको भन्दै नजिकका साथीभाइलाई एउटा खबर सुनाइरहेका थिए । उनले आठौँ आश्चर्य भन्दै सुनाएको खबर थियो, ‘पासो’ फिल्म हेर्न दर्शकले एउटा पनि टिकट नलिनु । आफ्नो फिल्म हेर्न देशभरिका हलमा एक जना पनि दर्शक नआएको खबरलाई उनले आठौँ आश्चर्य भएको भन्दै नजिकका साथीभाइलाई सुनाएका थिए ।

रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको यो फिल्मको प्रचार ठीकैको थियो । विदेशतिर ‘सर्भाइभल ड्रामा’ भनिने यसको मेकिङ पनि राम्रै रहेको निर्माताको सौजन्यमा फिल्म हेर्नेको प्रतिक्रिया थियो । तर यो फिल्मले पहिलो दिनको पहिलो सोदेखि नै दर्शक पाएन । 

कात्तिक ११ मा रिलिज भएको ‘महापुरुष’पछि रिलिज भएका सबै फिल्मको हालत लगभग ‘पासो’ जस्तै छ । तर यो बीचमा ठूला स्टार कहलाइने आर्यन सिग्देल, साम्राज्ञीराज्य लक्ष्मी शाह, ऋचा शर्मा, प्रियंका कार्की, पुष्प खड्का आदिका फिल्म रिलिज भएका छन् । प्रचार प्रसारमा मात्र लाखौँ रुपैयाँ खर्च भएको छ । तर यी फिल्म हेर्ने कष्ट दर्शकले गरेका छैनन् । अघिल्लो शुक्रबार रिलिज भएको फिल्म ‘तिम्रो मेरो साथ’ले यो सिलसिलालाई निरन्तरता दिएपछि कलाकारमाथि घोचपेच सुरु भएको छ । निर्देशक शोभित बस्नेतले त लेखिहाले, ‘हाम्रा हिरोइनहरू १८ लाख लिन्छन् तर देशभर ८ सो पनि हाउसफुल गर्न सक्दैनन् ।’

कलाकारले युट्युब अन्तर्वार्तामा गर्ने हल्लाखल्ला, पारिश्रमिकको डंका र बक्स अफिसमा उनीहरूका फिल्मले कमाउने पैसामा आकाश–जमिनको अन्तर छ । बढी पारिश्रमिक मागेर रेट बढाउने चक्करमा लागेका कलाकार फिल्म नचलेपछि भने प्रहारको पहिलो निशाना बन्‍ने गरेका छन् । निर्माता/निर्देशकदेखि पत्रकारसम्मले कलाकारलाई फिल्म फ्लप बनाउने अपराधीका रुपमा चित्रण गर्ने गरेका छन् । तर के फिल्म नचलेको दोष कलाकारले मात्र लिनुपर्ने हो ? के फिल्म नचलेको जिम्मेवारी निर्माता/निर्देशकले चाहिँ लिनु पर्दैन ?

बलिउडका लागि बितेको साल इतिहासमै बिर्सन लायक साल रह्यो । साना न ठूला, कुनै पनि स्टारका फिल्म चलेनन् । अझ ठूला स्टारका फिल्म त झनै चलेनन् । तर फिल्म नचलेकामा सारा आरोप झेल्नुपर्यो कलाकारले । अक्षयकुमार, ऋतिक रोशन, सैफअलि खान, आमिर खानले खानसम्मको गाली खाए । यो भिडमा नवाजुद्धिन सिद्धिकी अपवाद थिए । उनले भने प्रतिवाद गर्दै भने, ‘यदि कुनै फिल्म फ्लप भयो भने यहाँ निर्देशकको कमजोरी मानिन्‍न । फिल्म खराब भएको सारा अपजस कलाकार एक्लैले बोक्नुपर्छ ।’

त्यसो त फिल्म चलिहाल्यो भने पनि लेखक–निर्देशकले कमै मात्र जस पाउँछन् । यस्तो अवस्थामा यसको सारा नाफा कलाकारले एक्लै कुम्ल्याउँछन् । एउटा फिल्म हिट हुनेबित्तिकै कलाकारको भाउ बढेर कहाँबाट कहाँ पुग्छ तर निर्देशक अर्को निर्माता नपाएर छटपटाइरहेको हुन्छ । फिल्म सफल हुँदा यसको सारा जस कलाकारले लिने र फ्लप हुँदा निर्देशक अचानोमा पर्ने संसारकै चलन छ । 

तर फिल्म न निर्माता/निर्देशक एक्लैको हो, न कलाकारको । भनिन्छ, कुनै पनि फिल्म राम्रो बन्‍न स्पटब्वाईदेखि निर्देशकसम्मले एउटै ‘वेभलेन्थ’मा बसेर काम गर्नुपर्छ । तर नेपालमा कलाकार फिल्म हिट गराउने अनावश्यक दबाबमा छन् । यसैको असर कलाकार अनेक थोक बोल्न र गर्न थाल्छन् । पुष्प खड्काले फिल्म नचले आफूले लिएको पैसा फिर्ता गर्ने घोषणा यही अनेक थोकको सबैभन्दा ज्वलन्त उदाहरण हो । उनले फिल्ममा आफ्नो समय र श्रम दिएबापत पैसा पाएको हो, फिल्म हिट गराउन होइन । कलाकारले आफूलाई यति धेरै पनि ‘ओभरस्टिमेट’ गर्नुहुन्‍न । 

अनि प्रश्न उठ्न सक्छ, यस्ता फिल्मबाट कलाकार आफूलाई किन अलग्याउँदैनन् ? यसको सजिलो उत्तर छ– एउटा दुइटा मात्र यस्ता फिल्म बन्‍ने भए पो अलग्याउनु । साराका सारा यस्तै फिल्म बनेपछि कलाकारले के गरेर पेट पालोस् ?

फिल्ममा निर्देशकलाई जहाजको क्याप्टेनसँग तुलना गर्ने गरिन्छ । गन्तव्य निश्चित भए पनि कुन बाटोबाट त्यहाँसम्म पुग्ने, क्याप्टेनकै तजबिज हुन्छ । फिल्म निर्माणमा पनि निर्देशक सर्वोपरि हुन्छ । तर भोलि फिल्म बिग्रिँदा उसले आफूबाहेक सबैलाई दोषी देख्छ । लेखक, निर्माता हुँदै कलाकारकोमा गएर दोषको भारी थुपार्छ । अनि अर्को निर्माता यस्तो जिनियस निर्देशकलाई काम गर्न नदिएकामा निर्देशकसँगै स्वर खापेर अघिल्लो फिल्मको ‘कास्ट एन्ड क्रु’को निन्दा गर्छ । 

नेपालमा फिल्म निर्माणको प्रक्रियामा सबैभन्दा अनौठो भूमिका निर्माताको छ । नेपालमा विगत केही वर्षयता ९० प्रतिशत बढी नयाँ निर्माताले फिल्ममा लगानी गर्ने गरेको देख्न सकिन्छ तर यी निर्माताहरू दोस्रो फिल्म विरलै बनाउँछन् । यसरी फिल्म बनाउन रहर गर्नेहरू एउटा यस्तो चक्रमा फसेर निर्माणमा आएका हुन्छन् जहाँ उनीहरूलाई न फिल्म निर्माणमा कति खर्च लाग्छ भन्‍ने यकिन ज्ञान हुन्छ न आफूलाई बनाएको फिल्म कुन दर्शक समूहले हेर्छ भन्‍ने जानकारी । उनीहरूलाई आफूले गरेको लगानी कहाँबाट ? कसरी ? उठ्छ भन्‍ने पनि थाहा हुन्‍न । यस्तो अवस्थामा फिल्म राम्रो बन्‍ने कुरा ‘भगवान् भरोसा’ नै हो । अनि यसै गरी बनेको फिल्ममा हामी अपजस थुप्राउने चरित्रको खोजी गर्छौँ र यसमा अधिकांश समय कलाकार पर्छन् । 

अनि प्रश्न उठ्न सक्छ, यस्ता फिल्मबाट कलाकार आफूलाई किन अलग्याउँदैनन् ? यसको सजिलो उत्तर छ– एउटा दुइटा मात्र यस्ता फिल्म बन्‍ने भए पो अलग्याउनु । साराका सारा यस्तै फिल्म बनेपछि कलाकारले के गरेर पेट पालोस् ? यति हुँदाहुँदै पनि बजारमा हैकम चल्ने एउटा कलाकारले निर्माता, लेखक र निर्देशकलाई कम्तीमा राम्रो फिल्म बनाउन प्रेरित गर्न नसक्ने चाहिँ होइन । तर चर्कै पारिश्रमिक लिने कलाकारमा पनि राम्रा फिल्मको चेत छ भन्‍ने कुरामा चाहिँ प्रशस्तै शंका गर्ने ठाउँ छ । 

सुटिङपछाडि दर्शकलाई फिल्मसँग जोड्ने बलियो नेटवर्क कलाकार हुन् । निर्माण टिमले पनि कलाकारलाई नै फिल्मको प्रवक्ता बनाएर दर्शकसम्म पठाएको हुन्छ । यही भूमिकाको दायित्वले पनि भोलि फिल्म तलमाथि हुँदा दर्शकदेखि बाँकी साराले कलाकारलाई अपराधी देख्छन् । यो दृष्टिदोषमा कलाकार चाहिँ चोखा छन् भन्‍ने होइन । उनीहरूका बेग्लै समस्या छन् । तर कम्तीमा अहिले फिल्म नचलेको दोष कलाकारको थाप्लोमा मात्र हाल्नु चाहिँ जायज हुन्‍न । किनकि खराब स्क्रिप्टमा जसरी एउटा सक्षम निर्देशकले पनि गतिलो फिल्म बनाउन सक्दैन, खराब फिल्मलाई कलाकारले पनि बचाउन सक्दैन । अहिले फिल्म नै खराब बनिरहेका छन्, त्यसैले फिल्म हिट नबनाएको दोष कलाकारलाई मात्र थोपरेर तपाईं उम्कनु सक्नुहुन्‍न । 

यदि कलाकारले बढी पारिश्रमिक मागेको देखेर, तपाईं हामी यो तर्क गरिरहेका छौँ भने यसका दुइटा पक्ष छन् । एउटा त निर्माता तिर्न तयार भएर कलाकारले मागेजति पैसा दिइरहेको छ भने यो माग्नेको समस्या होइन, दिनेको हो । अलिकति यो पक्षलाई नरम भएर हेर्ने हो भने कलाकार पनि यो क्षेत्रको उन्‍नतिको साझेदार भएकाले उसले बोक्न सक्ने भारी मात्र बोक्छु भन्‍न पनि सक्छ ।

यो चाहिँ नितान्त नैतिकता र स्वविवेकको कुरा हो । किनकि सिनेमाकला पैसा लिने दिने कुरामा मात्र सीमित छैन, यो मानव जीवनको अभिन्‍न अंग बनिरहेको अवस्था हो । अनि त्यसमा कलाकारको पनि दायित्व हुन्छ, आफूले लिएको पैसाबाट दर्शकले अपेक्षा गरेको कलाको स्वाद चखाऊँ । यदि त्यसो नगर्ने हो भने चाहिँ आफ्नो भागको आलोचनाको हलाहल कलाकारले पनि घुटुघुटु पिउनुपर्छ ।  

किन बनेन सिनेमा ?

लिलाराज | माघ ७, २०७९

यहाँ जे असम्भव छ, त्यही अवश्यम्भावी पनि छ । सिनेमा असम्भव कुरा होइन । सिनेमा बन्नु एक सामान्य काम हो । ...

‘आमाको रगत धेरै भएको मन्त्रालय’ मा ऊर्जामन्त्रीका चुनौती

विकास थापा | माघ ४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष तथा नवनियुक्त उपप्रधान एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले सार्वजनिक रुपमा ...

संसद्‌मा कांग्रेस : लोकतन्त्र नमान्‍ने घोषणा अब कहिले हुन्छ ?

बेलायती प्रसिद्ध राजनीतिक अर्थशास्त्री जोन स्टुअर्ट मिलले भनेका छन्, 'जतिञ्जेल मैदानमा कुनै दुश्मन हुँद...