चोलेन्द्रको चाल, लोकतन्त्रको बेहाल

अर्जुन अपवाद | भदौ २०, २०७९

लेखको सुरुवातमा भर्खरै सम्पन्‍न स्थानीय तह निर्वाचन । स्थानीय तहको निर्वाचनको उम्मेद्वारी दर्ता हुँदै थियो । गठबन्धन गरेका दलमा सामेल एक पार्टीका जिल्ला तहका नेतासँग म चियागफमा थिएँ । उनले गठबन्धनमा सामेल अर्को पार्टीको नेतालाई आफ्नो पार्टीको चुनाव चिह्नबाट उम्मेदवार बनाएका थिए । कुराकानी हुँदा उम्मेदवारी दर्ता भइरहेको थियो । हामी जिल्लामा चुनावी नतिजा कस्तो आउला भन्‍ने बारेमा गफिँदै थियौं ।

त्यसपछि उनकै स्थानीय तहका बारेमा कुराकानी भयो । गठबन्धनबाट उठेका उम्मेदवारका विषयमा पनि कुरा भयो । मैले उनलाई सोधें, ‘उनी त अलि विवादित मान्छे भन्छन् त ?’ मेरो प्रश्नको उत्तरमा उनले भने, ‘उनलाई विवादित बनाएको हामीले नै त हो । अब हामी नै उनलाई असल र इमानदार बनाउँछौं ।’

उनले भनेनन् मात्रै आफैंले खराब मान्छे भन्दै दुत्कार्दै हिँडेका व्यक्तिलाई सबैभन्दा असल र इमानदार भने र काँध हाले । चुनाव जिताए । अहिले भेट हुँदा उनले आफूले जिताएको उम्मेदवारको बखान मात्रै गर्छन् । आफूले एक भोट हालेको नेताले गल्ती गर्दा त पाइलापाइलामा बचाउ गर्ने इमानी जनता भएको ठाउँमा उनी गलत हुन् र ! 

नेपालको राजनीतिको यो अहिलेको कठोर यथार्थ हो । स्वार्थ मिलेपछि सबै गज्जब हुने र नमिल्दा खराबी ! मानसिक उपचारका लागि अस्पताल पठाउनुपर्ने भन्‍ने लिखित निर्णय गरेकाहरू उसैलाई प्रधानमन्त्री बनाएर आफू मन्त्री भए । उसैलाई पहिलो अध्यक्ष बनाएर पार्टी चलाए । सम्भवतः राजनीति सबैतिर यस्तै हुन्छ पनि होला । त्यसैकारण राजनीतिभन्दा बाहेकका मानिसहरू संलग्न हुने न्यायालय लोकतन्त्रमा महत्वपूर्ण अंग हो । लोकतन्त्रका तीन प्रमुख आधारमा बाँकी दुईमा राजनीतिमा संलग्न मानिसहरू प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । न्यायालयमा राजनीति हुँदैन । कार्यपालिका र व्यवस्थापिकाले जहिले पनि कानुन परिवर्तन हुन सक्छ भन्‍ने मान्यता राख्छन् । कानुनमा समस्या भए उनीहरूले परिवर्तन गर्न सक्छन् । नयाँ विषयहरू आएमा कानुन निर्माण पनि गर्न सक्छन् । 

अदालत भने कानुन निर्माण र संशोधनकर्ता होइन । यो कानुनको व्याख्याता हो । यसले कानुनभन्दा बाहिर गएर सोच्न सक्दैन । हाम्रो लोकतन्त्रले यही कुरामा विश्वास गर्छ । व्यवहारमा त्यो नभए पनि ! ठ्याक्कै एक वर्ष अगाडि नेपालमा एक राजनीतिक पात्र सत्ताबाट ओर्लिएका दिन कायापलट हुन्छ भनेर व्यापक प्रचारप्रसार गरियो । एक वर्षको यो अवधिमा त्यो तर्क बहस गफै मात्र थियो भन्‍ने प्रस्ट भएको छ । राजनीतिक अभीष्ट पूरा गर्नका लागि मात्रै यो काम भएको थियो भन्‍ने छर्लंग भएको छ ।

न्यायालयले केपी ओलीलाई सत्ताबाट निकालेपछि हाम्रा विद्वान् वर्गहरूले न्यायालयको उच्च स्वरमा जयजयकार गरे । न्यायालयले गर्नैपर्ने काम गरेर नेपालको संविधान जोगाएको भनेर लामालामा लेख लेखिए । अनि यो देशका सदाबहार रुपमा अग्रगामी भनेर चिनिएकाहरूले पनि न्यायालयले लेखेको १ सय २७ पाने फैसलाको खुलेर प्रशंसा गरे । यस्तो रूपमा प्रचार गरियो कि ‘के भन्‍ने र, देश त भड्खालैमा परेको थियो । उनै चोलेन्द्रको इजलासबाट आएको फसलाले न जोगिएको थियो !’ 

आज चाहिँ रमिता छन् । त्यो फैसला गर्ने टोलीका नायक प्रधानन्यायाधीश संसदीय समितिमा आफैंले न्यायालय ध्वस्त पारेको बारेमा बयान दिइरहेका छन् । अहिले यस्तो कथ्य तयार गरिएको छ, ‘न्यायालयमा चोलेन्द्र भएका कारण न्यायालय रसातल पुगेको थियो । उनी हटे÷हटाइएका दिनदेखि सबै कुरा ठीकठाक हुनेछ ।’

चोलेन्द्रको बयान दिँदा भने ‘न्यायालय न्यायालय भएन । म न्यायाधीश जस्तो पनि भइनँ । मेरा दौंतरीहरू जस्ता थिए । म त्यस्तै थिएँ ।’ तर त्यहाँ बयान सुन्‍ने र मूलधारका सञ्चार माध्यम त्यो भन्दा फरक कुरा सुनिरहेका छन् ।

संसदीय समिति अहिले जमानामा माओवादीले चलाउने कङ्गारु कोर्ट जस्तै भएको छ । जेजस्तो कुरा आए पनि आफूलाई लागेको फैसला सुनाउने । सो बमोजिम कारबाही गर्ने । नत्र महाअभियोग दर्ता भएको यत्ति लामो समयपछि सुनुवाइ सुरु गर्नुपर्ने थिएन । नियममा बसेर प्रक्रिया अगाडि बढाएको भए जमानामै यसको छिनोफानो भैसकेको हुने थियो ।

अदालतले कुनै मुद्दामा फैसला गर्छ भनेर महाअभियोग ल्याइयो भनेर सार्वजनिक भाषण गर्ने नेता हाम्रो समाजको आदर्श नेता हो । यस्ता आदर्श नेता भएका ठाउँमा हामीले रमिता हेर्ने हो । भोग्ने हो । हामीले त्यही पाइरहेका न छौं । 

चोलेन्द्रले संसदीय समितिमा न्यायालयका विभिन्‍न प्रसङ्ग उप्काए । त्यस्ता प्रसङ्गहरू लोकतन्त्रमा कल्पनाबाहिरका कुरा हुन् । अदालतले न्याय कसरी सम्पादन गर्छ ? यसमा कस्तो खालको खेलोमेलो हुन्छ ? न्यायाधीशको विवेक कसरी प्रयोग भैरहेको छ ? यस्ता विषयमा उनले व्यापक सवालहरू उठाइदिएका छन् ।

अहिले सामाजिक सञ्जाल नहुँदो हो त मूलधार भनिएका सञ्चारमाध्यमका हाउस एङलिङ अनुसारका सामग्री मात्रै सर्वसाधारणसम्म पुग्थे । अहिले त्यो अवस्था रहेन । उनले यसो भने रे हैन, भिडियोहरू नै तत्कालै सामान्यजनका पहुँचमा पुग्छन् । यसले को कति पानीमा छ भन्‍ने निर्क्यौल गर्न सर्वसाधारणलाई सहज छ । उनले आफ्ना सहकर्मीका बारेमा पनि गम्भीर सवाल उठाएका छन् । संविधान भनेर सत्ताको रक्षामा तल्लीन सरकारले यसमा कस्तो कारबाही गर्छ त्यो हेर्न बाँकी नै छ । 

चोलेन्द्रको बयान तत्काल सकिने जस्तो देखिँदैन । उनलाई महाअभियोग पारित गर्न नभई अलमल्याउन ल्याइएको हो भन्‍ने अग्रगामी गठबन्धनका नेताले बेलैमा बताएका हुन् । चोलेन्द्रले पनि त्यसलाई संसदीय समितिमा उल्लेख गरे । हामीलाई भने कुनै क्षेत्रमा एक पात्र आउँदा वा जाँदा त्यो क्षेत्र पूराका पूरा परिवर्तन हुन्छ भन्‍ने महान् एवं गौरवशाली मान्यताले डोहोर्‍याएको छ । आफूलाई मन पर्दासम्म उसले जसो गरे पनि विधिसम्मत हुने र मन नपरेका दिन अपराध हुने मान्यता पनि हाम्रो अर्को गौरवशाली मत हो ।

साँच्चै न्यायालय सुधार्नैका लागि सबै काम भएका हुन भने चोलेन्द्रसँगै उनले भनेका अन्य श्रीमान्‌हरूका बारेमा पनि स्वतन्त्र छानबिन गरौं । अदालतले न्याय दिन्छ भन्‍ने नागरिकमा स्थापित गराउन यो जरुरी पनि छ । यसका लागि चोलेन्द्रका कुरा मात्र हैन अदालतबाट निवृत्त भएका श्रीमान्‌हरूले विभिन्‍न समयमा बोलेका कुरा, लेखेका पुस्तक, लेख लगायतका सामग्री र अदालत आफैंले प्रकाशन गरेका प्रतिवेदनहरूलाई आधार मानेर बृहत् किसिमको छानबिन गरौं । छानबिनबाट निस्केको निष्कर्षलाई इमानदारीपूर्वक पालना गर्ने वातावरण सिर्जना गरौं । यसले हाम्रो अदालत स्वतन्त्र हुन्छ । स्वतन्त्र अदालतले आफैंलाई बलियो बनाउनेछ । लोकतन्त्रमा अदालत बलियो हुनु शुभ संकेत हो ।

अहिलेजस्तै एकलाई जोगाउन अर्कोलाई खाडलमा हाल्ने, निहित स्वार्थपूर्तिका लागि मोलमोलाई गर्ने काम हुने हो भने एक चोलेन्द्र जाँदैमा केही फरक पर्नेवाला छैन । त्यसपछिको अवस्था झनै खराब हुनेछ । शक्ति केन्द्र र नेता नरिझाए केही हुन सक्दैन भन्‍ने मान्यता स्थापित हुनेछ । यसले गर्दा त्यस्ता ठाउँ रिझाउन हाम्रा श्रीमान्‌हरू लाइन लाग्नेछन् । मुद्दामा कानुन हैन वादी प्रतिवादीको अनुहार हेरिनेछ । तिनीहरूको कहाँसम्म पहुँच छ त्यसका आधारमा मुद्दा छिनोफानो हुनेछ । 

हामीले पक्कै यस्तो मत्स्य न्याय खोजेका हैनौं । पटकपटक ठूलो मूल्य चुकाएर स्थापना गरेको शासनव्यवस्था विधिका लागि हो । पद्धतिका लागि हो । हामीलाई विधिको शासन चाहिएको हो । विधिको शासनका लागि आफ्नो मान्छे हुँदा ८० सेमिमा १ मिटर हुने र अर्काको मानिस हुँदा १२० सेमिको १ मिटर हुने दोहोरो चरित्र त्याग्नैपर्छ । नत्र जित्न सबै सामर्थ्य हुँदा पनि युद्ध हार्ने कर्णको नियति हामी निरन्तर भोगिरहनेछौं । 

अन्तिममा महाभारतको कर्णको प्रसङ्ग
महाभारतको युद्ध चलिरहेको थियो । कर्णसँग भीमसेनको छोरा घटोत्कच लडिरहेको थियो । दुवै आफ्नो सामर्थ्यमा लडिरहेका थिए । कर्णले युद्धमा घटोत्कचलाई पराजित गर्‍यो । घटोत्कच मरेपछि अर्जुन साह्रै अत्तालिए । कृष्णलाई भन्‍न लागे ‘हामीले एक महत्वपूर्ण योद्धा गुमायौं । तपाईमा कुनै पनि चिन्ता देखिन्‍न त ?’

अर्जुनका कुरा सुनेपछि कृष्णले भने, ‘तिमी चिन्ता नगर । हाम्रो महत्वपूर्ण योद्धा गुम्नु अवश्य पनि चिन्ताको कुरा हो । तर यसमा हर्ष मान्‍नुपर्ने कुरा छ ।’ यो महाविपत्तिमा हर्ष मान्‍नुपर्ने कृष्णको कुराले अर्जुन चकित परे । कृष्णले अर्जुनसँग भने । ‘कर्णले घटोत्कच मार्न आफूसँग भएको विशेष हतियार प्रयोग गर्‍यो । जुन उसले तिमीलाई मार्नका लागि जोगाइरहेको थियो । अब तिमीले उसलाई सजिलोसँग मार्न सक्छौ ।’ 

यो कथा यहाँ प्रयोग गर्नुको कारण छ । कैलेकाहीँ लाग्छ, कतै हामीले पनि कर्णको जस्तै आफ्नो विशेष शक्ति त गुमाइसकेका त छैनौं । महान् उद्देश्यका लागि भनेर जोगाएको सपना मामुली काममा खर्च भएर सकिएन र ! नत्र गत वर्ष हामीले भनेका भाष्यमा एकपटक चिन्तन गर्दा आज कस्तो देखिन्छ ? यस्तै एक वर्ष पनि नटिक्ने गफ लगाएर अझ भनौं सपना देखाएर हामी अझै कति वर्ष यात्रा गर्छौं हँ !

अपवादका लेखहरू

‘देशभक्तिविनाको राजनीतिक राष्ट्रवाद’मा प्राण भर्दै सैन्य कूटनीति

विनोद न्यौपाने | भदौ १९, २०७९

सैन्य कूटनीतिले दुईपक्षीय र बहुपक्षीय सम्बन्ध बलियो बनाउँछ भन्‍ने अन्तर्राष्ट्रिय मान्यता छ । हरेक मुलुक...

‘नेताहरू मिटरब्याजी साहुको पैसामा चुनाव लड्छन्, त्यसैले नुनको सोझो गरिरहेका छन्’

कमल विष्ट | भदौ १७, २०७९

काठमाडौं– मिटरब्याज पीडित किसानहरूले बिहीबार न्यायको माग राख्दै बालुवाटार मार्च गरे । आफूलाई भू...