प्राधिकरणले सबै नेपालीको मन जितेको छ : कुलमान

इकागज | भदौ १, २०७९

विसं २०४२ भदौ १ गते स्थापना भएको नेपाल विद्युत प्राधिकरणले आज आफ्नो ३७औं बार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा प्राधिकरणले गत वर्ष भरिमा सम्पादन गरेका गतिविधि, प्राप्‍त उपलब्धी र भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ।

रसिया(युक्रेन युद्धका कारण विश्‍वव्यापीरुपमा देखा परेको अप्रत्यासित ऊर्जा संकट र ऊर्जाको मुल्यमा आएको उतार चढावका बावजुद आफ्ना उपभोक्ताहरुलाई निरन्तर विद्युत सेवा उपलब्ध गराउन प्राधिकरण सफल भएको छ। प्रशारण तथा वितरण प्रणालीको विस्तार, विद्युत उत्पादन, आन्तरिक विद्युत खपत र निर्यातमा भएको वृद्धि एवम् मुनाफा आर्जनको दृष्टिले गत वर्ष उल्लेखनीय रहेको छ।  

प्राधिकरणको सौर्य प्लान्ट सहित कुल ७३५ मेगावाट विद्युत गत वर्ष प्रणालीमा थप भएसँगै वर्षायाममा माग भन्दा बढी विद्युत उत्पादन गर्न सकिने अवस्थामा हामी आईपुगेका छौं। निजी क्षेत्र र प्राधिकरणका सहायक कम्पनीहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरु सम्पन्‍न भई प्राधिकरणको प्रणालीमा विद्युत थप हुँदै जाने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउन र अतिरिक्त उर्जा छिमेकी राष्‍ट्रहरुमा निर्यात गर्ने दिशामा विगतदेखि नै प्राधिकरणले अघि सारेको कार्ययोजनाले सार्थकता पाएको छ ।

भारत सरकारबाट हाल ३६४ मेगावाट विद्युत निर्यात गर्न अनुमति प्राप्‍त भएकोले ४०० केभी ढल्केबर(मुजफ्फरपुर प्रसारण लाइनबाट इन्डियन इनर्जि एक्सचेन्ज लिमिटेडको डेअहेड बजारमा प्रतिस्पर्धामार्फत दैनिक करिव ४०० मेगावाट विद्युत बिक्री गर्न सफल भएकोमा हामी उत्साहित छौं । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्‍ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ।आगामी दिनमा छिमेकी देशहरुमा थप विद्युत निर्यात गर्न सफल हुनेमा प्राधिकरण विश्‍वस्त छ।

३७ वर्षको इतिहासमा प्राधिकरणले गत वर्ष सबै भन्दा बढी रु १६ अर्व १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ। विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिमाणमा भएको वृद्धि, ४५६ मेगावाटको माथिल्लो तामाकोशीको सञ्‍चालन, विद्युत आयातमा कमी तथा निर्यातमा भएको वृद्धि, अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रण आदि कारणले उक्त मुनाफा आर्जन गर्न सम्भव भएको छ। 

विगत तीन वर्षदेखि लगातार विद्युत महसुल घटाउँदै करिब २० देखि २५ प्रतिशत विद्युत महसुल कम हुँदा पनि प्राधिकरणले अहिलेसम्मकै सवैभन्दा बढी नाफा कमाउन सफल भएको छ। 

प्रतिष्‍ठित संस्था इन्टरनेशनल क्रेडिट रेटिङ्ग एशोसिएसन लिमिटेड, नेपालले प्राधिकरणको समग्र स्थितिको मुल्याङ्कन गरी सुदृढ आर्थिक क्षमता रहेको र वित्तिय रुपले सुरक्षित संस्थाको रुपमा ब्ब्‌ं क्रेडिट रेटिङ्ग प्रदान गरेबाट प्राधिकरणलाई आफ्नो केही शेयर सर्वसाधारणलाई बिक्री गरी थप लगानीको स्रोत जुटाउन बाटो खुलेको छ। 

प्राधिकरणले लोडसेडिङ अन्त्य मात्र गरेको छैन दूर दराजका जनता जसले बत्तीका उज्यालोसम्म देख्‍न पाएका थिएनन् त्यस्ता जनताको घरघरमा विद्युत पुर्‍याई गरिव जनताको मन जित्‍ने काम पनि गरेको छ । आजभन्दा ६ वर्ष अगाडि करिव ६२ प्रतिशत जनताले मात्र ग्रीडको विद्युत बाल्न पाएकोमा आज करिव ९३ प्रतिशत जनताले ग्रीडको विद्युत उपभोग गर्न पाएका छन् । बैकल्पिक उर्जासमेत गर्दा करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएका छन् । हाल ४२ जिल्ला पूर्ण विद्युतीकरण भैसकेको छ । आगामी दुई वर्षभित्र शतप्रतिशत जनतासामु विद्युत पहुँच पुर्‍याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आफ्नो सम्पूर्ण साधन स्रोत परिचालन गरेको छ । 

विद्युत चुहावट नियन्त्रण प्राधिकरणको आर्थिक अवस्था सुदृढ गर्ने मुल मन्त्र हो। विगत ६ वर्ष अगाडि २५.७८ प्रतिशत रहेको चुहावट हाल १५.३८ प्रतिशतमा झारिएको छ । 

प्राधिकरणको संचालन उपलव्धी, वित्तिय उपलब्धी लगायत आयोजनाहरुको प्रगति विवरण भर्खरै देखाइएको वृत्तचित्र र आजको गोरखापत्रमा सविस्तार प्रस्तुत गरिसकेकोले म अव प्राधिकरणको भावी कार्ययोजना प्रस्तुत गर्न चाहन्छु ।

भावी कार्ययोजना

विद्युतीय ऊर्जामा आत्म निर्भर भर् बढी भएको विद्युत छिमेकी राष्‍ट्रहरुमा निर्यात गरी आर्थिक अवस्था सुदृढ गर्ने प्राधिकरणको दिर्घकालीन लक्ष्य रहेको छ।
प्राधिकरणले सरकारी  तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्नेछ। ६३५ मेगावाटको दुधकोशी, १०६१ मेगावाटको अपर अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी(पाचौं र ६० मेगावाटको मोदी माथिल्लो र तल्लो जलविद्युत आयोजनाहरुको निर्माणलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य अघि बढाइने छ। 

प्राधिकरण र सतलज जलविद्युत कम्पनीबीच ४९०.२ मेगावाटको अरुण(४ जलविद्युत आयोजना निर्माण गर्न संयुक्त उपक्रम कम्पनी स्थापना गरिनेछ। 

प्रतिस्पर्धात्मक प्रकृयाबाट सौर्य ऊर्जा खरिद गरिनेछ भने जलप्रवाहको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्न प्रोत्साहन हुने गरी विद्युत खरिद गर्ने नीति लिइनेछ।

काठमाडौं लगायतका प्रमुख शहरहरुमा वृद्धि भैरहेको उच्च विद्युत मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लगिनेछ। 

हुलाकी राजमार्ग आसपास डेडिकेटेड द्धण्ण् केभी र मल्टी सर्किट २२० केभी लगायतका विभिन्‍न क्षमताका दक्षिण कोरिडोर प्रसारण लाइन निर्माण गर्न आवश्यक वित्तिय स्रोत नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एक्जीम बैङ्कहरु लगायतका विभिन्‍न दातृ निकायहरुबाट जुटाइने छ। 

निकट भविष्यमा नै थप विद्युत आयोजनाहरु सञ्‍चालनमा आई वर्षभरी नै मुलुक आवश्यकता भन्दा अधिक ऊर्जा उत्पादन गर्न सक्ने अवस्थामा पुग्नेछ। स्वदेशमा नै विद्युतको खपत वृद्धि गरी खपत नभएको विद्युत मात्र निर्यात गर्ने नीति अवलम्वन गरी सोही अनुरुप खपत वृद्धि गर्न विद्युतीय चुल्हो, विभिन्‍न विद्युतीय उपकरण, विद्युतीय सवारी साधनको प्रयोग गर्न उपभोक्ताहरु समक्ष चेतना मूलक विद्युत खपत प्रबर्द्धन कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्‍चालन गरिनेछ । यसले थप विद्युतीय ऊर्जा मात्र खपत हुने मात्र नभई पेट्रोलियम पदार्थ तथा ग्याँसमा खर्च हुने राष्‍ट्रको अर्बौ विदेशी मुद्रासमेत बचत हुनेछ।

पेट्रोलियम इन्धनमा भएको मूल्य वृद्धि तथा भरपर्दो र लामो दुरी चल्ने विद्युतीय सवारी साधन उपलब्ध भए सँगै करको दरहरुमा कटौती गरी विद्युतीय सवारी साधनलाई थप प्रोत्साहन गर्न, सरकारी निकायहरुमा रहेका सवारी साधनहरुलाई क्रमश विद्युतीय सवारीमा रुपान्तरण गर्न र नयाँ सवारी साधनहरु खरिद गर्नुपरेमा विद्युतीय सवारी साधन नै खरिद गर्ने राष्ट्रिय नीति लिई कार्यान्वयन गर्न आवश्यक पहलकदमी लिइनेछ। 

विद्युतीय सवारी साधनको प्रबर्द्धन गर्न तथा प्रयोगकर्ताहरुको सहजताको लागि प्राधिकरणले मुलुकका प्रमुख शहर तथा राजमार्गहरुमा उल्लेख्य संख्यामा द्रुत चार्जिङ्ग स्टेशनहरु स्थापना गरिनेछ।

मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा ग्राहस्थ खपतको साथसाथै औद्योगिक खपत वृद्धि गर्ने तर्फसमेत जोड दिन आवश्यक भएकोले देशमा उद्योग कलकारखाना स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने एवम् सरकारी लगानीमा उद्योगहरु स्थापना गर्नुपर्ने देखिँदा प्राधिकरणको तर्फबाट सो अनुकुल हुने गरी प्रसारण तथा वितरण लाइनको बिकास र सुधार गर्नुका साथै उद्योगीले बिशेष सेवा र सुविधा प्राप्‍त गर्ने ब्यवस्था मिलाइनेछ ।

नेपालमा उत्पादित विद्युत छिमेकी मुलुकहरुमा निर्यातका लागि आवश्यक प्रसारण संरचना निर्माण गर्न र बजार व्यवस्थापनका लागि प्राधिकरणले उच्‍च प्राथमिकताका साथ कार्य अघि बढाइने छ।

नेपाल र भारतको बिहारबीच विद्युत आदान प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनहरुको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत North Bihar Power Distribution Company Limited बाहेकका निकायहरुलाई समेत बिक्रि गर्न भारत सरकारका सम्बन्धित निकायहरु सँग आवश्यक पहल गरिनेछ। 

नेपाल सरकारबाट विद्युत व्यापारको अनुमति पाएको प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित नेपाल पावर ट्रेडिङ्ग कम्पनीले चालु आव देखि स्वदेशी तथा अन्तर्देशीय विद्युत व्यापार सम्वन्धी कार्य गर्नेछ।

रातामाटे (नेपाल)(केरुङ्ग (चाइना) ४०० केभी प्रसारण लाइन निर्माणका लागि लगानीको प्रारुप तयार गरी कार्यान्वयनमा लगिने छ। 

हरित हाइड्रोजन (Green Hydrogen) को उत्पादन र व्यवसायिक उपयोगको सम्भाव्यता अध्ययनका लागि विभिन्‍न संस्थाहरुसँग सहकार्य गरी कार्यान्वयन गरिने छ। 

आधुनिक सूचना प्रविधि सम्बन्धि पूर्वाधार तथा काम कारवाही सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले प्राधिकरणको सूचना प्रविधि नीति एवम् नेपाल सरकारको डिजिटल नेपालको लक्ष्य अनुरुप प्राधिकरणलार्इ डिजिटल प्राधिकरणमा रुपान्तरण गरिनेछ । 

प्राधिकरणको सूचना तथा संचार प्रणालीलाई अनाधिकृत पहुँच र संभावित सार्इबर आक्रमण लगायतका खतराहरुबाट सुरक्षित राखी अविच्छिन्‍न सेवा प्रवाह गर्न Security Information and Event Management System (SIEMS) कार्यान्वयन गरिनेछ।

स्टेशनहरुलाई SCADA प्रणालीमा आबद्ध गरी प्राधिकरणको सम्पूर्ण कार्यालयहरुलाई स्युचाटारमा अवस्थित डाटा सेन्टरबाट समन्वयात्मकरुपमा सञ्‍चालन गर्न सम्पूर्ण कार्यालय तथा सवस्टेशनहरु जोडिने गरी सूचना प्रविधि सञ्‍चार नेटवर्क (IT Communication Network)   विस्तार गरिने छ ।


विगतमा कार्यान्वयन गरिएको ऊर्जा माग व्यवस्थापन तथा ऊर्जा दक्षता कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने छ। भोल्टेज सुधार तथा प्राविधिक चुहावट न्यूनीकरणको लागि विभिन्‍न वितरण ट्रान्सफर्मर, वितरण सवस्टेशन र ग्रिड सवस्टेशनमा क्यापासिटर बैङ्क जडान कार्य प्रभावकारी देखिएकोले त्यसलाई निरन्तरता दिइने छ। गुणस्तरीय विद्युतीय उपकरणहरु तथा विद्युतीय सवारी साधनको प्रयोग गर्न देशभरि नै प्रचार प्रसार तथा जनचेतना मूलक कार्यक्रमहरु सञ्‍चालन गरिनेछ।

प्राधिकरणमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न स्वदेश तथा विदेशमा आवश्‍यक तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने छ।
सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्दै उपभोक्ताहरूलाई उत्कृष्‍ट सेवा प्रदान गर्ने लक्ष्य सहित सुदृढ र सबल प्राधिकरण निर्माण गर्न हाम्रो सम्पूर्ण प्रयासहरु केन्द्रित रहने छन्।

आभार

ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्राधिकरणलाई स्पष्‍ट मार्ग निर्देशन गर्नु भएकोमा सम्माननीय प्रधान्मन्त्रीज्यूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
प्राधिकरणले चालेका हरेक गतिविधिहरुमा सहजीकरण एवम् समन्वय गरी समस्या समाधानको पहलकदमी लिनु भएकोमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विशेष धन्यवाद दिन चाहन्छु।

प्राधिकरणलाई स्पष्‍ट दिशानिर्देश गरी सफल संस्थाको रुपमा विकास गर्न गतिशिल एवम् सक्रिय नेतृत्व प्रदान गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् प्राधिकरण सञ्‍चालक समितिका अध्यक्ष माननीय श्री पम्फा भुसालज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । 

प्राधिकरणलाई निरन्तर मार्गनिर्देश गरी तोकिएका लक्ष्यहरु प्राप्‍त गर्न सहयोग गर्नु हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री सुशिल चन्द्र तिवारीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

प्राधिकरणको सफलताको लागि अनुकुल वातावरण तयार गरी सहयोग प्रदान गर्नु हुने निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिवज्यू प्रति आभार व्यक्त गर्दछु । 
संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि हुने गरी आवश्यक नीतिगत निर्णय गर्नसमेत अमूल्य सहयोग र सुझाव प्रदान गरी सहयोग गर्नुहुने प्राधिकरण सञ्‍चालक समितिका सबै पदाधिकारीज्यूहरु प्रति आभार व्यक्त गर्दछु ।  

ऊर्जा क्षेत्रको विकासका लागि संरक्षकत्व प्रदान गर्दै निरन्तर रुपमा आवश्यक सहयोग र समन्वय प्रदान गर्ने नेपाल सरकार, प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयहरु एवम् सम्बद्ध सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

हाम्रा नियमित काम कारबाहीहरूलाई अनुगमन, पुनरावलोकन र समर्थन गरी सहयोग गर्नुहुने संसदीय समिति, संवैधानिक निकाय र विद्युत नियमन आयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।  

प्राधिकरणका विभिन्‍न काम कारबाहीहरूमा संलग्न भई सहयोग गर्नुहुने महालेखा परीक्षक, स्थानीय तह, सार्वजनिक निकायहरु, बैंक तथा वित्तीय संस्था, प्रवर्द्धक, परामर्शदाता, निर्माण व्यावसायी तथा आपूर्तिकर्तासमेतलाई धन्यवाद दिन चाहन्छु । 

माथिल्लो तामाकोशी, चिलिमे र यसका सहायक कम्पनीहरु लगायतका प्राधिकरणका अन्य सहायक कम्पनीहरुबाट प्रबर्द्धित विभिन्‍न आयोजनाहरुमा लगानी गरी देशको जलविद्युत विकासमा महत्वपूर्ण योगदान गर्ने नेपाल टेलिकम, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी र राष्ट्रिय विमा संस्थानलाई विशेष धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणको क्षमता अभिवृद्धि र संस्थाबाट सञ्‍चालित विकास निर्माणका लागि ऋण तथा अनुदान सहयोग गर्नु हुने विश्व बैंक, एसियाली विकास बैंक, युरोपियन ईन्भेष्‍टमेन्ट बैंक, एसियन ईन्फ्रास्ट्रक्चर ईन्भेष्‍टमेन्ट बैंक, जाईका, केएफडव्लु, नोराड, ईन्डियन एक्जिम बैंक, चाईनिज एक्जिम बैंक, कोरियन एक्जिम बैंक लगायतका दातृ निकायहरुलार्ई विशेष धन्यवाद दिन चाहन्छु । 

नेपालको जलविद्युत विकास गरी विद्युतमा आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान गर्ने निजी क्षेत्रका प्रवर्द्धक एवम् स्वतन्त्र ऊर्जा उत्पादक संघप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

नेपालको अतिरिक्त ऊर्जा भारतीय बजारमा बिक्री गर्न उल्लेखनीय सहयोग गर्ने एनटिपिसी विद्युत व्यापार निगम र पिटिसी इन्डियालाई धन्यवाद दिन चाहन्छु ।
प्राधिकरणका नियमित काम कारबाहीहरूको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्‍याउनु हुने सञ्‍चार गृह तथा पत्रकार मित्रहरुमा धन्यवाद दिन चाहन्छु ।

कोभिड(१९ संक्रमणको जोखिम लगायत जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक प्राधिकरणका हरेक कार्यहरुमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित प्राधिकरणका सम्पूर्ण कर्मचारीहरु एवम् क्रियाशिल ट्रेड युनियनलाई धन्यवाद दिन चाहन्छु ।

कठिन परिस्थितिमा समेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्‍न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्‍त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

आवश्यक सुरक्षा र सतर्कताका बाबजुद गत वर्ष पनि विद्युतीय दुर्घटनाका कारण आफ्नो ज्यान गुमाउनु हुने प्राधिकरणका कर्मचारी तथा सर्वसाधारण प्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आगामी दिनहरुमा विद्युतीय दुर्घटना हुन नदिन थप सतर्कता अपनाइने र प्रभावकारी सुरक्षा उपाय अवलम्वन गरिने विश्‍वास दिलाउन चाहन्छु। 

अन्त्यमा, नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार प्रकट गर्दै सबैको निरन्तर सहयोग र समर्थनबाट प्राधिकरणले नेपालको उर्जा बिकास गरी समृद्ध नेपाल निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुने विश्‍वास ब्यक्त गर्दछु ।

धन्यवाद 

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण ।

प्राधिकरणको ३७ ओ वार्षिकोत्सवको उपलक्ष्यमा कार्यकारी निर्देशक घिसिङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनबाट

राजनीति नहुने हो भने काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या छैन

काठमाडौ उपत्यकामा विगत केही सातादेखि फोहोरको पहाड बन्दै गएको छ । ठूलो पानी पर्दा फोहोर बगाएर ढल थुनि...

जीवनभर कांग्रेस भएर बाँचेकाहरू पाँच-दलीय ठेकेदारका ‘लेबर’ भएर बस्‍नुपर्ने ?

विनोद न्यौपाने | साउन २७, २०७९

निर्वाचन लोकतन्त्रको विशेष पर्व हो । आउँदो मंसिर ४ गते आमनिर्वाचन हुँदै छ । राजनीतिक नेतृत्वको कारण यो ...

विद्युत् प्राधिकरणको १६ अर्ब नाफामा लाग्यो नेताका लोभी आँखा

विकास थापा | साउन २६, २०७९

संघ र प्रदेशको चुनाव घोषणा भइसकेको छ । गठबन्धनकारी दलहरू उम्मेदवार छनौटमा व्यस्त छन् । अब उम्मेदवारीका ल...