'गद्दार पुष्पलाल'मा के छ ?

इकागज | साउन ७, २०७९

साउन ७ अर्थात् नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस । उपचारका क्रममा भारतमा निधन भएका तथा अस्तु ल्याउनसमेत सरकारी प्रतिबन्ध लगाइएका पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका विचारक र संगठक दुवै हुन् । कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालमा कम्युनिस्ट पार्टी खोल्नुभन्दा पहिल्यै राणाकालमै अनुवाद गर्ने पुष्पलाल श्रेष्ठ १९९७ सालका वीर सहिद गंगालाल श्रेष्ठका भाइ पनि हुन् । पिताको जागिरको क्रममा रामेछापको भंगेरीमा जन्मिएका गंगालाल-पुष्पलालहरूको योगदान नेपालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य छ ।

दरबार हाइस्कूलबाट एसएलसी गरेका पुष्पलाल नेपालमा राणाहरूको जगजगी बढेपछि बनारस पुगेका थिए । त्यहाँ उनी डिल्लीरमण रेग्मी, बीपी कोइरालाहरूको सान्‍निध्यका कारण प्रारम्भमा नेपाली कांग्रेसमा आबद्ध भए । तर पछि अध्ययन र चिन्तन गर्दै जाँदा उनलाई समाजवादी, साम्यवादी कम्युनिस्ट विचारधाराले आकर्षित गर्दै गयो ।

नेपाली कम्युनिस्ट आन्दोलन विभिन्‍न शिविरमा टुक्रा-टुक्रामा विभक्त छ । तर मूल बाटो पुष्पलालहरूले कोरेको गोरेटो नै हो । कम्युनिस्ट पार्टीबाट ६ जना पटक-पटक प्रधानमन्त्री भइसक्दा पनि, कम्युनिजप्रति विश्वास राख्‍दै मतदान गर्ने नेपाली बढी नै हुँदा पनि पुष्पलालहरूको साम्यवादी सपना भने अधुरो नै छ । पुष्पलालकी धर्मपत्नी सहाना प्रधान पनि कम्युनिस्ट आन्दोलनका अग्रणी नेता हुन् । बाँचुञ्‍जेल घातप्रतिघात र आलोचना झेलेका पुष्पलाल बितेपछि भने प्रशंसाको पात्र बने । कांग्रेस पार्टीका संस्थापक बीपी कोइराला र कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस लगालग साउन ६ र ७ गते पर्छ । बीपी र पुष्पलालका पार्टी सधैँ सत्ता वरिपरि नै छन् र तर उनीहरूको निष्ठा र सपना भने न पार्टीमा न सत्तामा जीवित छ ।

आजभन्दा ४९ वर्ष पहिले आनन्दबहादुर क्षेत्रीको नाममा 'गद्दार पुष्पलाल' पुस्तक प्रकाशन भएको थियो । रातो तलवार प्रकाशन, वीरवास नेपालका नामा छापिएको ८० पृष्ठको पुस्तकको मूल्य ३ रुपैयाँ छ । प्रथम संस्करणमा यो एक हजार प्रति छापिएको थियो । आनन्दबहादुर क्षेत्री नेपाली कम्युनिस्ट आन्दोलनमा अर्का चिन्तक र संगठक मोहनविक्रम सिंह नै हुन् भन्‍ने कतै छिपेको छैन । किनकि मोहनविक्रमले गद्दार भन्‍नु गलत रहेछ भनेर विभिन्‍न अन्तर्वार्तामा स्पष्ट पारेका छन् । यो पछुतो 'गद्दार पुष्पलाल' पुस्तकको नयाँ संस्करण 'क्रान्तिमा भ्रान्ति'बाट पनि स्पष्ट हुन्छ ।

उही बहुचर्चित पुस्तक'गद्दार पुष्पलाल'बाट केही पंक्ति यहाँ साभार गरिएको छ । पुष्पलालको स्मृति दिवसमा यी पंक्ति पुष्पलालको विरोधमा नभई तत्कालीन समयमा के भएको रहेछ भन्‍ने आँखीझ्यालका रुपमा प्रस्तुत गरिएको छ । पुस्तकमा मूल रुपमा पुष्पलाललाई नेपाली कांग्रेसको पिछलग्‍गु भएको आरोप लगाएको छ । 


पुष्पलालमाथि मोहनविक्रमका एक दर्जन तत्कालीन आरोप :

- पीएल गुट स्वयम् नै विश्‍व कम्युनिस्ट आन्दोलनमा इलाकावाद र तटस्‍थतावादको सिकार बन्‍दै गइरहेको छ । 
- भारतीय मार्क्सवादीहरू अर्थात ज्यो-तिवसु-नम्‍वुदरीपाद गुटले तटस्‍थतावादी गुट समातेको छ । पीएल गुट संशोधनवाद तथा अन्धराष्ट्रवादको दलदलमा फस्‍न पुगेको छ ।
- पीएलको मार्क्सवाद, लेनिदवाद र माओको विचारको व्याख्या यान्त्रिक र किताबी प्रकारको छ । र त्यसको सिर्जनात्मक प्रकारले प्रयोग गर्ने क्षमताको उहाँमा एकदम कमी छ ।
- पीएललाई प्लेखानोभको कार्टुन मान्‍न सकिन्छ ।
- पीएल समाजवादतिर बढ्‍‍नका लागि संसदीय बाटो स्वीकार गर्नुहुन्छ ।
- पीएल गुटले राजा र नेपाली कांग्रेस दुवैलाई दुश्‍मन सम्‍झने विचारलाई सिद्धान्तत: नै गलत बताउँछन् ।
- यदि रायमाझी राजावादी र पीएल कांग्रेसवादी हुन पुग्‍नुभयो भने त्यसको कारण यति मात्र रह्‍यो । आ-आफ्‍नो समझदारी अनुसार एउटाले नेकालाई र अर्कोले राजालाई बलियो शक्ति ठानेका छन् ।
- नेपाली कांग्रेसले दुश्मन वर्गहरूको प्रतिनिधित्व गर्छ भनेर त्यसलाई स्वीकार गर्न पीएलको कांग्रेस परास्त स्वभावले रोक्‍दछ । मित्रवर्गको पार्टीभन्दा नेपाली कांग्रेसलाई मित्रवर्गको पार्टी सम्झनुहुन्‍छ ।
- पीएल कथित पञ्चायती प्रजातन्त्रको तुलनामा कांग्रेसी प्रजातन्त्रलाई प्रगतिशील देखाउने प्रयत्न गर्नुहुन्छ । आफ्‍नो उदारवादी वकवादलाई छिपाउने प्रयत्न गर्नु भएको छ ।
- पीएलको कार्यक्रम नयाँ जनवादी कार्यक्रम होइन । यो पुँजीवादी र संशोधनवादी कार्यक्रम हो । 
- को प्रधान दुश्मन हो र को गौण ? नेपाली कांग्रेसले पुँजीपति वर्गको सबैभन्दा प्रतिक्रियावादी भाग दलाल पुँजीपति वर्ग र सामन्त वर्गको प्रतिनिधित्व गर्दछ । त्यसले क्रान्ति होइन प्रतिक्रान्ति र गद्दारीको बाटो समात्दै आएको छ । पीएल यसलाई क्रान्तिको सहयोगी सम्झिनुहुन्छ ।
- राजा र नेकाका बीचको झगडा कुकुर झगडा मात्रै हो । जबकि दुवैको नीति एकै दिशातिर लक्षित छ । उहाँ राजा र नेकालाई दुई भिन्‍न डालीमा बसेका चराहरू सम्झिनुहुन्छ । जबकि वास्तविकता यो हो- ती दुवै एउटै वर्ग चरित्र भएका चराहरू हुन् ।
 

हैमरस्क्जोंल्ड भेटेर ‘मर्किङ्स्’ पढेर बीपी जे भन्दछन्...

डा. विपिन अधिकारी | साउन ६, २०७९

प्रसिद्ध कूटनीतिज्ञ डाँग हैमरस्क्जोंल्डको सन् १९६२ मा छापिएको ‘मर्किङस्’ भन्ने पुस्तक उसबेला अत्य...

पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान, राणा शासन र बीपी कोइराला

प्रकाश वस्ती | साउन ४, २०७९

हरिप्रसाद प्रधानका पूर्वज कसजुहरू भक्तपुरबाट भोजपुर हुँदै त्यसबेलाको स्वतन्त्र राज्य सिक्किम बसाइँ सरेका थि...