२०७८ मा प्रदेश सरकार : संघीयताप्रति विश्वास बढाउनुपर्नेमा वितृष्णा बढाए

गाउँ–सहरलाई स्थानीय तहको चुनावले छपक्कै छोएको छ । चैतकोे चर्को घाममा असिन–पसिन हुँदै नेताहरू गाउँ/सहर फर्किएका छन् । पाँच वर्ष नेतालाई नमस्कार गर्दै थाकेका जनतालाई नमस्कार फर्काउन भ्याइनभ्याइ छ । नेताहरू घर–घरै पुगिरहेका छन् हात जोड्दै । जनतालाई नयाँ वर्षभन्दा नेतालाई स्वागत गर्ने चटारो छ । जिन्दावाद र मुर्दावादका नाराले गाउँ/सहर घन्किएका छन् । रंगीविरंगी झण्डाले रंगिएका छन् ।
चुनावको चटारोमा नयाँ वर्ष २०७९ आँगनमै आइपुगेको छ । नयाँ वर्ष आइरहँदा बितेको वर्षलाई स्मरण गर्नेपर्छ । एउटा वर्ष सकिनु भित्तामा पात्रो फेरिनु मात्रै होइन । विगतमा भएका घटना र यसबाट पाठ सिक्दै आगामी सम्भावनाको खोजी पनि नयाँ वर्षले गर्छ ।
वर्ष सम्झिँदा वर्षभरिका राम्रा/नराम्रा घटना/परिघटना मानसलटलमा आउने नै भए । कोभिड–१९ को महामारीले २०७८ लाई पनि छोडेन । महामारी नियन्त्रणको वर्ष बन्यो ०७८ । धेरैले भाइरसविरुद्धको खोप पाए । ०७८ सुरु हुँदा महामारी केही मत्थर भएको थियो । अन्त्य हुँदा मन्द छ । लकडाउनको रापताप सेलाएको छ । महामारीले आक्रान्त मानव जगत् नयाँ वर्षको उत्साह, उमंग र उल्लासमा छ ।
तर, यहाँ चर्चा गर्न खोजिएको विषय फरक छ । संघीय व्यवस्थाअन्तर्गत बनेका प्रदेश र स्थानीय सरकारले २०७९ मा आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्दैछन् । ०७८ साल प्रदेश सरकारहरूका लागि निकै सकसपूर्ण रह्यो । पाँच वर्ष स्थिर भनिएका सरकारले २०७८ कटाउन सकेनन् । अनेक कसरत र प्रपञ्च रचे पनि सत्ता टिकाउन सकेनन् । कोही सत्ताबाट प्रतिपक्षीमा पुगे, कोहीलाई सत्ता सम्हाल्ने अवसर आयो । प्रदेश सरकार फेरबदलमा प्रदेश प्रमुखलाई संघीय सरकारले मोहरा बनायो । केन्द्रमा आफू अनुकलका प्रदेश प्रमुख प्रदेशमा नियुक्ति गरियो ।
२०७८ साल प्रदेश सरकारहरूका लागि निकै सकसपूर्ण रह्यो । स्थिर भनिएका सरकारले २०७८ कटाउन सकेनन् । कोही सत्ताबाट प्रतिपक्षीमा पुगे, कोहीलाई सत्ता सम्हाल्ने अवसर आयो । स्थानीय तहका लागि ०७९ विशेष वर्ष हुनेछ । देशभरका पालिकाले नयाँ नेतृत्व पाउनेछ ।
२०७८ सुरु नहुँदै देखिएको तत्कालीन नेकपा विवादले नयाँ मोड लियो । एमाले–माओवादी ब्युँतियो । नेकपा एमाले विभाजन भयो । यसको असर गाउँदेखि प्रदेश सरकारसम्म पर्ने नै भयो । सातमध्ये दुइटाले मुस्किलले मुख्यमन्त्री पद जोगाए । पाँच सरकारका प्रमुख प्रतिपक्षीको कुर्सीमा पुगे । दुई प्रदेश (बागमती र प्रदेश १) मा त एक वर्षमै तीन सरकार देख्न पाइयो ।
स्थानीय तहका लागि झन् ०७९ विशेष वर्ष हुनेछ । देशभरका ७५३ पालिकाले नयाँ सरकार पाउँदैछन् । राजनीतिक किचलोको मारमा स्थानीय सरकारमा पनि परे । नयाँ वर्षको सुरुवातमै पुराना सरकार बिदा हुने तरखरमा छन् । कतिपय दोहोरिने दाउ हेरिरहेका छन् । संघीय सकसमा २०७८ मा प्रदेश र स्थानीय सरकारमा देखिएका राम्रा/नराम्रा पक्षबारे चर्चा गरौँ ।
प्रदेश १ को नामै नराखी बित्ने भयो पाँच वर्ष
प्रदेश १ ले २०७८ मा तीनवटा मुख्यमन्त्री पायो । २०७४ फागुन २ मा मुख्यमन्त्री बनेका राजेन्द्र राईले भदौ १० मा राजीनामा दिए । राईको राजीनामापछि एमालेकै भीम आचार्य सत्ता सम्हाल्न आइपुगे । उनले एक महिना सरकारले सम्हालेर कात्तिक १५ गते राजीनामा दिए । आचार्यको बहिर्गमनपछि राजेन्द्रकुमार राई सत्ता सम्हाल्न आइपुगे ।
उनले हालसम्म सत्ता सम्हालिरहेका छन् । पाँच वर्षका निम्ति मुख्यमन्त्री बनेका राई बाहिरिएसँगै प्रदेश १ मा दुई सरकार बने । स्थिरताको नारा दिएर गत निर्वाचन जितेका एमाले–माओवादीले नै अस्थिरताको बिउ रापे । उनीहरूकै कलहका कारण एक वर्षमा तीनवटा सरकार फेरिए । एक वर्षमा तीन सरकार बने पनि हालसम्म प्रदेशको नामकरण गर्न सकेको छैन ।
मधेशको न्वारन
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पाँच वर्षे कार्यकाल पूरा गर्ने तरखरमा छन् । कुनै राजनीतिक दुर्घटना भएन भने पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी दोस्रो मुख्यमन्त्री हुनेछन् । सरकारको नेतृत्व स्थिर भए पनि मन्त्री फेरिनेमा भने मधेश सरकार पनि अगाडि नै रह्यो । स्थिरताका नाममा नेतृत्व मात्रै कायम रह्यो । अरु धेरै कुरा फेरिए । सत्ता साझेदारहरू फेरिए । विपक्षी फेरिए । चार/चार पटक मन्त्रिपरिषद् विस्तार भयो । जसपा विभाजनसँगै लोसपा सरकारबाट बाहिरियो । विपक्षीमा रहेका कांग्रेस, माओवादी र नेकपा एस सरकारमा सहभागी भए । लामो रस्साकस्सीपछि प्रदेशको न्वारन गर्न भने मधेश प्रदेश सफल रह्यो ।
बागमतीमा कीर्तिमानै कीर्तिमान, पहिलो महिला मुख्यमन्त्रीदेखि जम्बो मन्त्रिमण्डलसम्म
वर्ष २०७८ मा बागमती सरकारले धेरै कीर्तिमान बनायो । पहिलो महिला मुख्यमन्त्री पाउनेदेखि सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाउनेसम्मका कीर्तिमान बागमतीले बनायो । बागमतीमा एक वर्षमै तीन मुख्यमन्त्री बने ।
२०७८ को सुरुवातमा डोरमणि पौडेल मन्त्रिपरिषद् विस्तार गर्दै थिए । भदौमा पौडेल बाहिरिए । उनी बाहिरिएसँगै बागमतीले पहिलो कीर्तिमान बनायो । नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा एमालेकै अष्टलक्ष्मी शाक्यले सरकार सम्हालिन् । पहिलो महिला मुख्यमन्त्रीको पहिलो कार्यकाल तीन महिना नपुग्दै सकियो । कात्तिकमा उनले राजीनामा दिइन् । कात्तिक ११ गते बागमतीको तेस्रो मुख्यमन्त्री बन्न आइपुगे नेकपा एसका राजेन्द्र पाण्डे । तेस्रो मुख्यमन्त्रीका रूपमा आएका पाण्डेले पनि अनेक कीर्तिमान बनाए । मुख्यमन्त्री भएको ६ महिनामै उनले चार पटक मन्त्रिपरिषद् विस्तार गरे । सबै प्रदेशभन्दा जम्बो मन्त्रिमण्डल बनाउने कीर्तिमान पनि उनैले राखे । एउटै भवनमा चार/मन्त्रालयका होडिङ बोर्ड सामाजिक सन्जालमा भाइरलै भयो । बागमतीमा १८ सदस्यीय मन्त्रिमण्डल छ ।
गण्डकीको हालत पनि उस्तै
गण्डकी प्रदेशमा पनि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता टिकाउन धेरै कसरत गरे । २०७८ को सुरुवातमै उनीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव पेस भयो । अविश्वास प्रस्तावमाथि निर्णायक छलफल हुनुअघि नै अल्पमतमा परेको थाहा पाएपछि राजीनामा दिए । वैशाख २६ मा उनले राजीनामा दिए । तर, वैशाख २९ गते फेरि उनै मुख्यमन्त्री बने । जेठमा मन्त्रिपरिषद्समेत विस्तार गरे । तर, विपक्षीले उनलाई टिक्न दिएनन् ।
फेरि अविश्वास प्रस्ताव दर्ता भयो । अन्तत: जेठ २७ गते उनी सरकारबाट बाहिरिए । विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमत सांसदले अस्वीकृत गरेपछि उनले पद गुमाएका थिए । जेठ २९मा मुख्यमन्त्रीमा नेपाली कांगे्रसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भए । हालसम्म पनि पोखरेलले सरकारको नेतृत्व गरिरहेका छन् । अन्य प्रदेशजस्तै गण्डकीमाा पनि स्थिर सरकार रहेन । केन्द्रमा आएको राजनीतिक समीकरण फेरबदलको मारमा प्रदेश सरकार पर्यो ।
लुम्बिनीमा मुख्यमन्त्रीमाथि नै ‘सांसद अपहरण’को आरोप, जोगिएन सत्ता
२०७८को सुरुवातसम्म लुम्बिनीमा शंकर पोखरेलको नेतृत्वमा दुई तिहाइ बहुमतसहितको सरकार थियो । केन्द्रमा भएको राजनीतिक उथलपथलले दुई तिहाइ सरकार धर्मरायो । एमाले–माओवादी आ–आफ्नो बाटोमा लागेपछि पोखरेल सरकार अल्पमतमा पर्यो ।
सत्ता जोगाउन मुख्यमन्त्री पोखरेलले अनेक गरे पनि बचाउन भने सकेनन् । वैशाख १९ गते अविश्वास प्रस्तावको सामना गर्न नसकेर राजीनामा दिए । राजीनामा दिए पनि सत्ता भने केही समयलाई जोगाए । प्रदेश प्रमुखमार्फत बहुमत संसद्को सूची पेस गरेर सत्ता सम्हाले । वैशाख २६ दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भयो । साउन १९मा तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भयो । साउन २७ मा सदनमा अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर सत्ताबाट बाहिरिए ।
२८ साउनमा लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भए । केसीले जम्बो मन्त्रिमण्डल बनाए । मुख्यमन्त्री केसी नियुक्त भएदेखि नै नेकपा एमालले लगातार सदन अवरुद्ध गरिरहेको छ । लुम्बिनीको राजधानी दाङ देउखुरी तोकिए पनि सबै काम बुटवलमै केन्द्रित छ । लुम्बिनीमा तत्कालीन मुख्यमन्त्री पोखरेलमाथि सांसद अपहरणको आरोप लाग्यो ।
कर्णालीमा काण्डै–काण्ड
कर्णाली सरकारमा यो वर्ष निकै उथलपुथल भयो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता बचाउन अनेकन् तिकडम गरे । एमालेकै चार सांसदले फ्लोर क्रस गरेर बचाएको सत्ता अन्तत: जोगाउन सकेनन् । कात्तिक १५ मा मुख्यमन्त्री शाहीले राजीनामा दिए । एउटा शाही बाहिरिएर अर्का शाही सत्तामा पुगे । जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भए । कर्णालीमा जेल सजाय काटेकाले मन्त्री खाए ।
पूर्वमन्त्रीमाथि नै बलात्कार आरोप लाग्यो । मूलत: कर्णालीमा स्थिर भनिएको सरकार पाँच वर्ष नपुग्दै फेरियो । सबैभन्दा ठूलो दललाई बाहिर राखेर अल्पमतमा भएकाहरूले सरकार चलाए । सरकारकै मन्त्रीमाथि गम्भीर आरोप लाग्दा पनि निष्पक्ष छानबिन हुन सकेन । घटना सामसुम पार्न अनेक प्रपञ्च रचिए । वर्ष २०७८ मा कर्णालीमा काण्डै–काण्ड भए ।
सुदूरपश्चिममा मन्त्री फेरेको फेर्यै
सुदूरपश्चिम सरकार नयाँ कीर्तिमान बनाउने तरखरमा छ । कुनै राजनीतिक उथलपुथल भएन भने मुख्यमन्त्री त्रिलोचन भट्टले २०७९मा पाँच वर्ष पूरा गर्नेछन् । २०७४ मा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाँच वर्षे कार्यकाल पूरा गर्न अवसर अन्य पाँच सरकारले गुमाइसकेका छन् । मधेश सरकार बाँकी छ ।
सुदूरपश्चिममा सरकार स्थिर रहे पनि मन्त्रिपरिषद् भने अस्थिरताको सिकार बन्यो । कोही रातारात मन्त्री बने त कोहीको क्षणभरमै पद गुम्यो । वर्ष २०७८ मा मुख्यमन्त्री भट्टराई सरकार जोगाउन अनेक सकस आइपरे । पद जोगाउन उनले पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । मन्त्रीहरू हेरफेर गरे । यसको सुरुवात गत वर्षको जेठबाट भयो ।
तत्कालीन नेकपा विभाजन र एमाले विभाजनको सँघारमा जेठ १४ गते पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरे । एमाले (ओली पक्ष) का चार जना मन्त्री हटाएर एमालेकै (माधव पक्ष) का चार मन्त्री थपे । जेठपछि असोजमा पनि उनले मन्त्रिपरिषद् पुनर्गठन गरे । मन्त्रिपरिषद् पुनर्गठनबाट सुरु भएको भट्टको वर्ष पुनर्गठन गर्दै सकियो । उनले चैत अन्तिममा फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
चार वर्षसम्म प्रतिपक्षीमा रहेको कांग्रेसलाई भट्टले सरकारमा सामेल गराएका छन् । चैत २५ गते मुख्यमन्त्री भट्टले काँग्रेसलाई सरकारमा सामेल गराएर वर्ष २०७८ को बिदाइ गरेका छन् । सुदूरपश्चिममा सरकारको नेतृत्व स्थिर रहे पनि मन्त्रीहरू फेरिरहे ।
चुनावको मुखमा स्थानीय सरकार, अधिकांश दोहोरिने दाउमा
नयाँ वर्षको सुरुवातमै स्थानीय सरकार प्रमुखहरू फेरिँदैछन् । वैशाख ३० मा निर्वाचन घोषणा भएको छ । सरकार र दलहरू चुनावमा होमिसकेका छन् । पाँच वर्षे कार्यकालमा उनीहरूले के–के गरे ? गत चुनावमा गरेका वाचा र प्रतिबद्धता पत्रअनुसार काम गरे कि अन्तै रुमलिए ? यसको मूल्यांकन स्थानीय जनताले राखेकै होलान् । इकागजले ३५ बढी स्थानीय पालिकाका प्रमुखसँग संवाद गरेको छ ।
सबै संवादको सार पालिका प्रमुखहरू प्रदेश र संघीय सरकारसँग असन्तुष्ट छन् । केन्द्र र प्रदेश सरकारसँगको अन्तर्संघर्ष उनीहरूले यस वर्ष पनि गर्नुपर्यो । संघभन्दा प्रदेश सरकारसँग उनीहरूको बढी असन्तुष्टि छ । अधिकार प्रत्यायोजनका विषयमा केन्द्रसँग गुनासो छ । कतिपय ऐन, नियमहरू नबनाइदिएको उनीहरूको गुनासो छ । संघीय सरकार मातहतका कर्मचारीसँग काम गर्न असहज भएको उनीहरूले सुनाए । संघीयताबारे विभिन्न प्रश्न उठिरहेका बेला पालिका प्रमुखहरू भने संघीयता बलियो बनाउनुपर्ने बताउँछन् ।
गाउँका सिंहदरबार भनिएका प्राय: पालिकाले भौतिक पूर्वाधार विकासमा जोड दिएको पाइएको छ । कतिपयले अनावश्यक रूपमा अग्ला–अग्ला भ्यु टावरमा बजेट खन्याएका छन् । सडक र बाटो बनाएका छन् । डाँडाकाँडामा डोजर चलाएका छन् । यसैलाई विकास र समृद्धिका रूपमा अर्थ्याएका छन् । सामाजिक विकासका सूचक सकारात्मक छैनन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सकेका छैनन् । त्यतितिर उनीहरूको ध्यान पनि खासै पुगेको देखिँदैन ।
राष्ट्रिय राजनीति विगत दुई/तीन दशकदेखि सीमित मान्छेका वरिपरि घुमिरहेको छ । सत्ता र शक्तिमा उनीहरूकै हालिमुहाली छ । पालिका सरकार पनि केन्द्रको सिको गर्दै पुन: दोहोरिने दाउमा छन् । अधिकांशको दोहोरिने चाहना छ । पाँच वर्ष काम गरेपछि अब नयाँलाई अवसर दिनेमा उनीहरू देखिँदैनन् । सके आफैँ आउन ज्यान फालेर लागेका छन् ।
समग्रमा २०७८ प्रदेश सरकारका लागि खराब रह्यो । चार वर्षसम्म चलेका सरकार (सुदूरपश्चिम र मधेशबाहेक) फेरिए । स्थिरताको नारा दिएर आएकाहरूले नै प्रदेश सरकारलाई अस्थिर बनाए । अब उनीहरूको आयु केही महिना बाँकी छ । ०७९ लाई स्वागत गरिरहँदा यही वर्ष उनीहरूको कार्यावधि पनि पूरा हुनेछ । २०७९ मै प्रदेशमा नयाँ सरकार आउनेछन् । प्रदेश सरकारले जनअपेक्षाभन्दा सत्ता र शक्त बचाउन अनेक काम गरे । संघीयतामाथि प्रश्न उठिरहेका बेला उनीहरूले नै त्यसलाई बढावा दिने काम गरे ।
स्थानीय सरकार त नयाँ वर्षको शुभारम्भमै बाहिरिँदैछन् । बाहिरिने मात्रै होइन नयाँ नेतृत्व पनि आउँदै छ । नयाँ वर्षको सुरुकै महिनामा जनताले नेतृत्व छान्ने अवसर पाउँदैछन् । अधिकांश दोहोरिने दाउमा छन् । उनीहरूले गरेका कामको मूल्यांकन गरेर जनताले पुन: मतदान गर्नुपर्छ । बेलैमा सक्षम नेतृत्व छान्न सकिएन भने पाँच वर्ष पछुताउनुबाहेक अर्को विकल्प हुँदैन । २०७९ सालमा आउने स्थानीय र प्रदेश सरकार जनचाहनाअनुरूका होऊन् । उनीहरूले चुनावी घोषणापत्र र जनअपेक्षा अनुरूप नै काम गरुन् । सबैलाई नयाँ वर्षको शुभकामना ।
(इकागज संघीय ब्यूरोको सहयोगमा)

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया