खेलकुद

२०७८ मा फुटबल, क्रिकेट र भलिबल

सञ्जीव शाह |
चैत ३०, २०७८ बुधबार १२:५६ बजे

काठमाडौँ- कोरोना महामारीबाट नेपाल माथि उठेसँगै २०७८ मा नेपाली खेलकुद चलायमान बन्यो । विशेषगरी, फुटबल र क्रिकेटमा एकपछि अर्को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तथा सहभागिता भइरह्यो ।

जसका कारण खेलाडीदेखि लिएर प्रशिक्षक, खेलकुद पदाधिकारी र समग्रमा खेलकुद संस्था नै गतिशील रह्यो । मैदान बाहिर खेलकुद संघ र संस्थाभित्रका विवाद र अदालती दौडधुपबाहेक मैदानभित्र पनि एकपछि अर्को गतिविधि संचालन भइरहे । जसका कारण नेपाली खेलकुदले कैयौँ उपलब्धी समेत हात पार्न सफल भयो । 


फुटबलका लागि सफलताको वर्ष 
२०७८ मा नेपाली फुटबलका लागि सबैभन्दा ठूलो उपलब्धी भनेको साफ च्याम्पियनशीपको फाइनल पुग्‍नु नै रह्यो । माल्दिभ्समा भएको च्याम्पियनशीपमा नेपाल फाइनल पुगेको थियो । नेपालले आफ्नो फुटबल इतिहासमै पहिलोपटक साफ च्याम्पियनशीपको फाइनलसम्मको यात्रा तय गरेको थियो । 

साफको फाइनलमा भारतसँग ३–० ले पराजित भएपछि नेपाल उपाधिविहीन हुन पुग्यो । नेपाललाई साफको फाइनल पुर्याउने श्रेय प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि जान्छ ।

त्यसबाहेक नेपालले फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइलाई पराजित गर्दा जोर्डन र अष्ट्रेलियासँग पराजित हुन पुग्यो । नेपालको विश्वकप छनोटको यात्रा लामो नभएपनि एएफसी एसिया कप छनोटको तेस्रो चरणमा भने स्थान बनाउन सफल भएको छ । 

नेपालले पहिलो पटक कुनै पनि अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल समेत २०७८ मै खेल्यो । नेपालले अफ्रिकी मुलुक मरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल्दा दुबै खेलमा समान १–० को नतिजा निकाल्यो । नेपालले बलिया टोली इराक, ओमान र थाइल्यान्डजस्ता बलिया टिमसँग मैत्रीपूर्ण खेल्यो । तर नतिजा नेपालको पक्षमा रहेन । 

घरेलु फुटबलतर्फ सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले हात पार्यो । अपराजित रहदै लिगको उपाधि जितेको मछिन्द्रले पहिलो पटक एएफसी कपको प्रारम्भिक छनोट खेल्ने अवसर समेत प्राप्त गर्यो । तर श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबविरुद्ध पराजित भएपछि मछिन्द्र अर्को चरणमा पुग्‍न भने सकेन ।

अर्कोतर्फ पहिलो संस्करणमै चर्चित बनेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको आयोजना भने विवादित बन्यो । विवादसँगै दोस्रो संस्करण हुने वा नहुने अनिश्चित बन्यो जसको प्रत्यक्ष प्रभाव भने नेपाली फुटबल खेलाडीमाथि पर्‍यो । 

क्रिकेट : विश्वकप नजिकै पुगेर पनि टाढा भएको वर्ष 


नेपाली क्रिकेट टिमका लागि २०७८ आईसीसी टी–ट्‍वान्‍टी विश्वकप छनोट, आईसीसी विश्वकप लिग डिभिजन टु, क्रिकेट सिरिज, नेपाल क्रिकेट संघ र खेलाडीबीचको विवाद र कीर्तिमानको वर्ष बन्‍न पुग्यो ।

नेपालका लागि सबैभन्दा महत्वपूर्ण भनेको आईसीसी टी–ट्‍वान्‍टी विश्वकप छनोट रह्यो । नेपाल दोस्रो पटक टी–ट्‍वान्‍टी विश्वकप खेल्ने सपना साकार पार्ने अन्तिम खुड्किलोमा असफल रह्यो । ओमानमा भएको टी–ट्‍वान्‍टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा युएईविरुद्ध पराजित भएपछि नेपाल विश्वकपको नजिक पुगेर पनि धेरै टाढा हुन पुग्यो । 

नेपाली पुरुष क्रिकेट टिमले यसै वर्ष ५० औँ टी–ट्‍वान्‍टी अन्तर्राष्ट्रिय खेल खेल्यो । त्रिवि क्रिकेट मैदानमा पीएनजीविरुद्ध नेपालले ऐतिहासिक ५० औँ टी–ट्‍वान्‍टी खेल्यो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले त्रिवि मैदानमा भएको त्रिकोणात्म टी–ट्‍वान्‍टी क्रिकेट सिरिजको उपाधि जित्यो । नेपाल, मलेसिया र पीएनजी सहभागी सिरिज अन्तर्गत नेपाल ५ खेलमै अपराजित रह्यो ।  

व्यक्तिगतरुपमा कप्तान लामिछाने टी–ट्‍वान्‍टी अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने । ओमानमा भएको चारदेशीय टी–ट्‍वान्‍टी सिरिज अन्तर्गत आयरल्यान्डविरुद्ध लामिछानेले ५० विकेट पुरा गरे । यता करण केसीले टी–ट्‍वान्‍टीको एकै खेलमा ५ विकेट तथा ह्याट्रिक पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बने । त्रिवि मैदानमा पीएनजीविरुद्ध करणले उक्त कीर्तिमान कायम गरे । 

त्रिवि क्रिकेट मैदानमै दिपेन्द्र सिंह ऐरीले मलेसियाविरुद्धको टी–ट्‍वान्‍टीमा १ सय १० रन जोडे जुन नेपाली क्रिकेटरको लागि सर्वाधिक रनको कीर्तिमान हो । एकदिवसीयमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन दुई अन्तर्गत २०७८ मा जम्मा ८ खेल खेल्यो । जसमध्ये नेपालले ४ खेलमा जित हात पादा ४ खेलमै पराजय भोग्‍न पुग्यो । नेपालले अमेरिका र ओमानलाई एक–एक पटक तथा पीएनजीलाई दुई पटक पराजित गर्‍यो । त्यसैगरी, नेपालले ओमान र अमेरिकासँग एक–एक पटक तथा युएईविरुद्ध दुई पटक हार्न पुग्यो । 

नेपालले त्रिवि मैदानमा पीएनजीविरुद्ध दुई खेलको एकदिवसीय सिरिज आयोजना गर्‍यो । पीएनजीविरुद्धको एक खेलमा नेपालले २ सय ८६ रनको सर्वाधिक योगफल तयार पार्यो । पीएनजीविरुद्ध नै रोहितकुमार पौडेलले नेपालका लागि एकदिवशीयमा सर्वाधिक १ सय २६ रन बनाउने कीर्तिमान कायम गरे । 

पीएनजीविरुद्ध नै देव खनाल र दिपेन्द्र सिंह ऐरीले त्रिवी मैदानमा सर्वाधिक १ सय २९ रनको साझेदारी गर्ने कीर्तिमान कायम गरे । सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा पीएनजीविरुद्ध नै ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने ।

भलिबल : महिला टिमले दिलाएको अन्तर्राष्ट्रिय उपाधिको वर्ष 


भलिबलका लागि मात्र नभएर समग्र नेपाली खेलकुदका लागि एक सुखद खबर के रह्यो भने नेपाली महिला भलिबल टिमले बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन मेन्स एन्ड वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि हात पार्यो । साविक विजेता समेत रहेको नेपालले फाइनलमा उज्वेकिस्तानलाई पाखा लगाएर उपाधि चुमेको थियो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x