विश्व

२०७८ मा दुनियाँ, दुःखान्त धेरै

सञ्जीव शाह |
चैत ३०, २०७८ बुधबार १९:१३ बजे

काठमाडौँ – २०७८ मा विश्वमा कैयौँ यस्ता घटना घटे जसले सबैको ध्यान तान्यो । जर्मन चान्सलरले सत्ता छाड्नु, हाइटीका राष्ट्रपतिको हत्या, तालिबानद्वारा सत्ता कब्जादेखि लिएर रुसले युक्रेनमाथि सैन्य आक्रमणका घटना २०७८ मै भए । 

२०७८ मा विश्वभरि भएका महत्वपूर्ण घटनालाई समेट्ने प्रयास गरेका छौँ । 


जर्मन चान्सलर एन्जेला मार्केलले देशको इतिहासमै पहिलो पटक आफ्नै सर्तहरूमा नेतृत्व छाडिन् । मार्केलले १६ वर्षपछि नेतृत्व छाडेकी थिइन् । युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन एजेन्टका रूपमा लुकेर बन्दुकधारीहरूले हाइटीका राष्ट्रपति जोभेनेल मोइसको घरमा विष्फोट गराए, उनको हत्या गरे । आक्रमणमा मोइसकी श्रीमती घाइते भएकी थिइन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडी युनाइटेड अरब इमिरेट्स भागेपछि तालिवानले अफगानिस्तानको सत्तामाथि कब्जा जमायो । अमेरिकाले आक्रमण गरेपछि सन् २००१ मा सत्ता छाडेको तालिवानले अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएसँगै २० पछि पुनः सत्ता कब्जा गर्न सफल भयो ।  पाकिस्तानको राजनैतिक उथलपुथलले पनि विश्वभरि नै चर्चा बटुल्यो । प्रधानमन्त्री इमरान खानमाथि अविश्वासको प्रस्ताव संसद्मा दर्ता भएपछि उपसभामुख कासिम खान सुरीले उक्त प्रस्ताव खारेज गरिदिए । 

लगत्तै प्रधानमन्त्री खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद् भंग गर्न सिफारिस गर्नुका साथै नयाँ आम निर्वाचनको आह्वान गरे । राष्ट्रपति आल्भीले पनि संसद् विघटन गर्दै ९० दिनभित्र निर्वाचन गर्न घोषणा गरे । 

तर पाकिस्तानको सर्वोच्च अदालतले भने संसद् विघटनलाई बदर गर्यो । अदालतले नेसनल एसेम्बलीका उपसभामुख सुरीको निर्णय खारेज गर्नुकासाथै संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानुनी भएको ठहर गर्यो । अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दियो। 

अर्कोतर्फ श्रीलंकाको आर्थिक संकटले राजनीतिक उथलपुथल ल्याइदियो । श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछिकै सबैभन्दा ठूलो आर्थिक संकट झेल्न बाध्य भयो । देशमा खाद्यान्न, इन्धन र अन्य आवश्यक वस्तुको तीव्र अभाव भयो । मुद्रास्फीतिले पनि पीडा थप्यो । सन् २००९ मा गृहयुद्धबाट माथि उठेको श्रीलंकामा सरकारविरुद्ध व्यापक प्रदर्शन भयो । राष्ट्रपति निवासमा आक्रमण, देशव्यापी कफ्र्यू, सेना परिचालन, मन्त्रिपरिषद्का सबै सदस्यबाट राजीनामा जस्ता घटनाहरू भए । 

चिलीमा भएको निर्वाचनमा ३५ वर्षीय गाब्रियल बोरिक राष्ट्रपति पदका लागि निर्वाचित भए । उनले आधुनिक चिलीको सबैभन्दा कम उमेरमा राष्ट्रपति बन्ने व्यक्तिको इतिहास समेत रचे । वामपन्थी गठबन्धन नेतृत्व गरेका बोरिकले करिब ५६ प्रतिशत मत प्राप्त गरेका थिए । अर्कोतर्फ रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणले विश्वलाई नै तरंगित बनायो । 

फागुन १२ गते रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा विशेष सैन्य आक्रमण गर्ने निर्णय गरेको बताए । युक्रेनमाथि कब्जा जमाउने उद्देश्य नरहेको तथा युक्रनेलाई सेनारहित बनाउने उद्देश्य रहेको पुटिनको दाबी थियो । 

पुटिनको घोषणालगत्तै युक्रेनको किभ, खार्किभ, ओडेसा र डोनबासमा विष्फोटका आवाज सुनिए । युक्रेनी अधिकारीहरूले रुसी सेना मारिउपोल र ओडेसामा आइपुगेको तथा एयरफिल्ड, सैन्य मुख्यालय तथा सैन्य डिपोहरूमा क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाए । 

अमेरिकाको आशंका के थियो भने रुसले युक्रेनको सरकार सत्ताच्युत गरेर आफ्नै सरकार स्थापना गर्न चाहन्छ । अमेरिकी गुप्तचर अधिकारीहरूले वर्तमान परिस्थितिमा युक्रेन ९६ घण्टाभित्रै पतन हुनेमा विश्वस्त थिए । 

तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिम्मत नहार्ने तथा रुसी आक्रमणको प्रतिकार गर्ने घोषणा गरे । जेलेन्स्कीले युक्रेनमा मार्सल ल लागू गर्ने घोषणा गरे । 
रुसी सेनाले भने युक्रेनको भौतिक पूर्वाधारमाथि आक्रमण सुरु गरे । रुसी सेना युक्रेनको राजधानी किभलाई कब्जा गर्ने अभियानमा अघि बढे । विभिन्न स्थानमा दुईतर्फी आक्रमणको भइरहेको समाचारहरू बाहिर आए । 

रुसी सेनाले युक्रेन ग्यास पाइपलाइन, सैन्य अस्पताल जस्ता अति आवश्यक पूर्वाधार तथा सर्वसाधारणको बसोबास भएको क्षेत्रमा समेत आक्रमण गरेको युक्रेनले दाबी गर्यो । फागुन १७ मा युक्रेनको सुमी ओबलास्टका गर्भनरले सैन्य बेसक्याम्पमाथि रुसी सेनाले गरेको आक्रमणमा ७० जनाभन्दा बढी युक्रेनी सेना मारिएको बताए । 

अ​र्कोतर्फ रुसी विदेश मन्त्री सर्जी लाभरोभले नेटो तथा युरोपियन युनियनले आणविक युद्ध सुरु गर्न खोजेको तथा त्यसो गरे तेस्रो विश्वयुद्ध आणविक तथा विनाशकारी हुने चेतावनी दिए । 

फागुन २६ गते टर्कीमा तीन देशका विदेश मन्त्रीबीच वार्ता भए पनि त्यसको केही निष्कर्ष आएन । दुई दिनपछि युक्रेनी अधिकारीहरूले रुसले पोपास्नामा आक्रमण गर्दा फोसफोरस बमको प्रयोग गरेको आरोप लगाए । सोही क्रममा युक्रेनी सेनाले नेटो देशहरूसँग सैन्य अभ्यास गर्ने याभोरिभ इन्टरनेसनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्यूरिटी बेसमा रुसी सेनाले बम आक्रमण गर्यो । 

रुसी सेनाको आक्रमणकै क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तत्काल नेटोमा सहभागी नहुने बताए भने चेक रिपब्लिक, स्लोभेनिया र पोल्यान्ड प्रधानमन्त्रीले जेलेन्स्कीलाई किभमा भेट गरे तथा आफूहरू युक्रेनको समर्थनमा रहेको जनाए । 

चैत २० मा युक्रेनको बुचामा कम्तीमा २० जनाको शवहरू भेटिएका थिए । साथै २ सय ८० जनाको शव सामूहिक चिहानमा गाडिएको बुचाका मेयरले जनाए । विभिन्न अन्तर्राष्ट्रिय निकायले रुसले युद्ध अपराध गरेको तथा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार गरेको आरोप लगाए । 

रुसी आक्रमण जारी रहेपछि युक्रेनका विदेश मन्त्रीले नेटोलाई केवल हतियार उपलब्ध गराउन माग गरे भने अमेरिकाले युक्रेनलाई हतियार उपलब्ध गराउने कानून पारित गर्ने प्रक्रिया सुरु गर्यो । अर्कोतर्फ संयुक्त राष्ट्र संघले रुसलाई युएन ह्यूमन राइट्स काउन्सीबाट बर्खास्त गर्यो ।
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x