सेयर

२०७८ मा सेयर बजार : सुखारम्भदेखि दुःखान्तसम्म

समग्र परिसूचक ३ सय २० अंकले घट्यो

कमल धिताल |
चैत ३०, २०७८ बुधबार १८:५१ बजे

२०७८ साल आजदेखि हामीबाट बिदा लिँदैछ। वर्षले बिदा लिँदै गर्दा यस वर्ष सेयर बजारमा के कस्ता कारोबार भए त कुन क्षेत्र कस्तो रह्यो यसको बारेमा पुनः एक पटक समीक्षा गरौं । यस वर्षको सेयर बजार नियाल्दा बजार निकै उतारचढाव रह्यो । दसैं अगाडिसम्म बुलिस रहेको बजार त्यसपछि क्रमश ओरालो तर्फ लम्किँदै वर्षको अन्त्यमा भने २४ सय अंक नजिक रह्यो । वर्षको अन्त्यतिर आइपुग्दा तरलता समस्या मुख्य कारण तथा बजार नीति रेमिट्यान्समा कमी लगायतले बजार क्रमश घट्दै गएको देखिन्छ ।

२०७८ बजार ३२ सय विन्दु नजिक पुग्दै रेकर्ड ब्रेक गरेर पुनः झरेको बजार हालसम्म फर्किएको छैन् । भदौ २ गते ३१ सय ९८ दशमलव ६० विन्दुमा पुगेको थियो । यद्यपि कारोबारकै क्रममा भने ३२ सय २७ विन्दुसम्म बजार पुगेर घटेको थियो । 


पुँजी बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाको अनियमितताले पनि २०७८ को सेयर बजार निकै गरम रह्यो । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्काशनमा सर्वसाधरणलाई प्रिमियम मूल्यमा बिक्री गर्न सक्नेगरी धितोपत्र बोर्डले अनुमति दिएको प्रकरणमा ढुङ्गानाले सेयर बजार तताएको थियो ।

अध्यक्ष ढुंगाना र दोस्रो बजारमा धितोपत्र कारोबार गराउने निकाय– नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले एकाघर परिवारका सदस्यको नाममा प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरिएको सर्वोत्तम सिमेन्टको सेयर राखेको पाइएपछि ढुङ्गाना बर्खास्तीमा परेका थिए । 

त्यस्तै धितोपत्र बोर्डले सेयर बजारमा ५१ वटा कम्पनीहरूको सेयर मूल्यमा चलखेल गरी अस्वभाविक मूल्य वृद्धि गरिएको भेटिएको भन्दै सुची निकालेको थियो । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरूको सेयर मूल्यमा अप्राकृतिक वृद्धि गराई कारोबार भएको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेको थियो।
सेयर मूल्यमा उच्च वृद्धि भएपछि सेयर कर्नरिङको आशंकामा धितोपत्र बोर्ड कमिटी नै गठन गरी अध्ययन सुरु गरेको थियो ।

यस्तै २०७८ मै सेयर बजार कारोबारमा पनि रेकर्ड रह्यो । एक दिनमै झन्डै २२ अर्बको कारोबार हुँदा हालसम्मकै उच्च कारोबारको रेकर्डसमेत बजारले राख्यो । असोजपछि बिस्तारै खुम्चिँदै गएको बजार मंसिर २८ मा बजार १ सय ३५ अंकले उच्च कारोबार भएको थियो ।

कोभिडका कारण सरकारले वैशाख १६ गतेदेखि लकडाउन गरेपछि अन्य क्षेत्रका लगानी सेयर बजारमा आउँदा ६ महिनासम्म बजारमा चमक देखिएको थियो । यस अवधिमा बजार उच्च अंक चुम्नेदेखि लिएर कारोबारले पनि रेकर्ड कायम गर्‍यो ।

२०७८ वैशाख २ गते २,७३५.४६ अंकबाट बजार सरु गरेको नेप्से परिसूचक क्रमशः उकालोतर्फ लम्किएको बजार भदौ २ गते ३१ सय ९८ विन्दुमा पुगेर क्रमशः ओरालो लाग्दै वर्षको अन्तिम दिनसम्म आइपुग्दा २४१५ दशमलव २५ अंकमा पुगरे यस वर्षका लागि बजार बन्द भएको थियो । वर्षभरिमा बजार परिसूचक ३ सय २० दशमलव २१ अंकले घटेको छ ।

कारोबार 
कारोबार रकममा २०७८ लाई हेर्दा दैनिक झन्डै २२ अर्बसम्मको रेकर्ड राखेको छ । दैनिक कारोबारमा यो सबैभन्दा ठूलो कारोबार हो । वार्षिक कारोबारमा भने यस वर्ष कारोबार रकममा कमी आएको छ । २०७८ मा सेयर बजारमा करिब १७ खर्बको कारोबार भएको थियो । वर्षभर औसत ५ अर्बको कारोबार भएको देखिन्छ । २०७७ मा दैनिक औसत ५ अर्ब ३० करोड कारोबार हुँदा करिब २० खर्बको कारोबार भएको थियो । 

वर्षको अन्त्यसम्म आइपुग्दा सेयर बजार पुँजीकरण करिब ३५ खर्बभन्दा तल झरेको छ । सुरुवातमा ४० खर्बको हाराहारीमा रहेको बजार अन्त्यमा आइपुग्दा घटेर ३५ खर्ब मुनि पुगेको छ ।  कोभिड–१९ ले अन्य क्षेत्रको लगानी पुँजीबजारमा साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो । राष्ट्र बैंकले असोजमा एकीकृत निर्देशन २०७७ मा थप संशोधन गर्दै कर्जासम्बन्धी नीति–नियममा थप कडाइ गरेसँगै बजार क्रमश खुम्चिन थालेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमा राष्ट्र एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

२०७७ को वर्ष लकडाउनमा सेयर बजार बन्द रह्यो । यस वर्ष भने लकडाउनमा पनि बजार खुल्यो र अन्यत्र लगानीको क्षेत्र तथा आयात बन्द प्रायः हुँदा बैंकमा प्रयाप्त रकम जम्मा भयो ।  बैंकले ब्याजदर घटाएपछि न्यून ब्याजमा पैसा राख्नुभन्दा सस्तो भएका बेला सेयर किन्नु नै धेरैले उपयुक्त ठाने । पैसा विदेशिनबाट रोकिएपछि त्यो पैसा बजारमा आएको देखिन्छ । बजार अन्डरभ्यालुड हुँदा क्रमिक रुपमा सेयरको माग बढ्दै गयो र वर्षभर कारोबार उच्च रहन गयो । 

समूहगत परिसूचक

समूहगत परिसूचकमा सबैभन्दा बलियो बैंकिङ क्षेत्र पनि यस वर्ष सुस्ताउन पुग्यो । राष्ट्र बैंकले गत जेष्ठमा बैंकहरूले सेयर बजारमा लगानी गर्न पाउने तर त्यो लगानी कम्तीमा १ वर्ष होल्ड गर्नुपर्ने नियम ल्याएसँगै बैंकिङ क्षेत्रलाई प्रत्यक्ष असर गर्‍यो । राष्ट्र बैंकको नयाँ नियममा खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने नियम जारी गर्‍यो । वर्षभरको विश्लेषण गर्दा अधिकांश उप सूचकहरू घटेका छन् । 

बढ्ने समूह

वर्ष २०७८ को अन्त्यसम्म आइपुग्दा जम्मा ४ समूह परिसूचक मात्रै बढेको देखिन्छ । यस वर्ष बढ्नेमा विकास बैंक समूह १२ सय ३१ अंकले बढेको छ। हाइड्रो समूह ९८ अंकले बढ्यो। फाइनान्स समूह ५ सय ६५ अंकले बढ्न पुग्यो। त्यस्तै म्युचुअल फण्ड १.७३ अंकले बढेको छ ।

घट्नेमा 

२०७८ मा बैंकिङ समूह ३०० अंकले घटेको छ। वर्षको सुरुवातमा १९०५ अंकमा रहेको बैंकिङ क्षेत्र अन्त्यमा १६०४ अंकमा आइपुगेको छ। व्यापार समूह पनि यस वर्ष उल्लेख्य रूपमा घटेको छ। वर्षको सुरुवातमा ३९८९ अंकमा रहेको व्यापार क्षेत्र अन्त्यमा २२२८ अंकमा आइपुगेको छ। होटेल तथा टुरिजम क्षेत्र पनि यस वर्ष ८ सय ४६ अंकले घट्न पुग्यो। निर्जीवन बीमा समूह २ हजार ५ सय २६ अंकले घट्न पुग्यो। अर्को घट्नेमा म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ रहेको छ जुन ३२ अंकले घट्यो। माइक्रो फाइनान्स समूह ५ सय ६८ अंकले घटेको देखिन्छ। जीवन बीमा समूह ४ हजार २ सय ९१ अंकले घट्यो। लगानी समूह २४ अंकले घट्न पुगेको छ भने अन्य समूह १ सय १६ अंकले घटेको छ।

‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि वर्ष २०७८ मा निकै उतारचढाव देखियो । वर्षको सुरुवातमा ४ सय ८५ दशमलव ७८ अंकमा रहेको थियो । वर्षको सुरुवातबाट क्रमशः उकालो लाग्दै गएको सेन्सेटिभ इन्डेक्स भदौमा ६ सय अंकको हाराहारीमा पुगेको थियो । इन्डेक्सले भदौ २ गतेको कारोबारमा वर्षकै सबैभन्दा धेरै ५ सय ९८ दशमलव ११ अंकको रेकर्ड चुमेको थियो । त्यसपछि क्रमशः ओरालो लागेको सेन्सेटिभ परिसूचक वर्षको अन्त्यमा ‘.. अंकमा पुगेर यस वर्षको कारोबार बन्द भएको छ ।​​

विश्लेषकको नजरमा वर्ष २०७८
सेयर बजार यस वर्ष समग्रमा उत्कृष्ट रहेको बजार विश्लेषकहरू बताउँछन् । वर्षभरिको कारोबारलाई सुरुवातको ६ महिनाको कारोबारलाई बाँकी ६ महिनाले ओझेलमा पार्दा वर्षलाई सुखद रूपमा लिनुपर्ने विश्लेषकहरू बताउँछन् । विश्लेषक मुक्ति अर्याल वर्षको पहिलो क्वाटर बजार राम्रो रहेको बताउँछन् । समग्रमा यस वर्षको बजार हेर्दा उतारचढावमै बितेको अर्याल बताउँछन् । ३२ सयमा पुगेको बजार हाल २५ प्रतिशत घटेर २४ सयको हाराहारीमा आइपुगेको छ । बियरिसभन्दा टेक्निकल्ली दुई महिनाको पिरियडमा २० प्रतिशतले घट्यो भने भन्न मिल्छ तर हाम्रोमा माइनरली हेर्ने चलन नभएको अर्याल बताउँछन् ।

असोज सम्म बुलिस रहेको बजार राष्ट्र बैंकको गलत नीति तथा ४÷१२ को सीमाले गर्दा असर गरेको अर्यालको भनाई छ । 
सेयर बजारको विश्लेषण गर्दै आएका विश्लेषक नवराज दाहाल यस वर्षको सेयर बजारले धेरै कुरा सिकाएर गएको बताउँछन् । राष्ट्र बैंकको गलत नीतिले सेयर बजारमा समस्या पार्दै गर्दा पछिल्लो समय तरलताका समस्या पनि देखिएपछि बजार उतार चढाव देखिएको दाहाल बताउँछन् । कोभिडको लकडाउनको पछिको समय बजारमा पर्याप्त रकम हुँदा लगानीकर्ताहरु सेयर बजारपट्टि आकर्षित हुँदा यस वर्ष लगानीकर्ताहरुको नजरबाट हेर्दा निकै उत्साह जनक देखिएको दाहाल बताउँछन् । 

नेपाल पुँजी बजार लगानीकर्ता संघ अध्यक्ष राधा पोखरेल २०७८ बजारलाई उत्साह जनक नै मान्नुपर्ने बताउँछिन् । समग्रमा बजार उत्साहजनक नै मान्नुपर्छ तर पनि राष्ट्र बैंक तथा नियमकहरूको गलत निर्णय तथा पछिल्लो समय तरलताको समस्याले बजार असर पारेको पोखरले बताउँछिन् । विशेष गरी एक पार्टीको गभर्नर तथा अर्को पार्टीको अर्थमन्त्री हुँदा पनि यसले राष्ट्र बैंक तथा समग्र सेयर बजारमा समेत असर पारेको पोखरेलको भनाइ छ ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x