सेयर

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नहुँदा चार महिनादेखि भएन आइपिओ निष्कासन

इकागज |
बैशाख १३, २०८१ बिहीबार १५:४२ बजे

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली हुँदा कुनै पनि कम्पनीको आइपिओ खुल्न सकेको छैन । आइपीओ पाइपलाइनमा ३५ कम्पनी हुँदा पनि बोर्डले आइपिओ निष्कासन गर्न नसकेको हो । 

गत पुस २० गते तत्कालीन बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अहिले नेतृत्वविहीन भएको छ । सोही कारण आइपिओ निष्कासन हुन नसकेको बताइन्छ । 


नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति नाथ श्रेष्ठ बोर्ड अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा आइपिओ सर्वसाधारणका लागि जारी हुन नसकेको बताउँछन् । बोर्डमा भएका कार्यवाहक अध्यक्षहरूले आइपिओ जारी गर्न नसकेको उनले बताए । 

'कार्यकारी अध्यक्षको जिम्मेवारी यसअघि बोर्डकै  बरिष्ठतम् कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिइएको थियो', उनले भने, 'फेरि अर्थ मन्त्रालयबाट आउनुभएका सहसचिव रितेश शाक्यले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ तर आइपिओ जारी हुन भने सकेको छैन ।' यसबीचमा पनि धेरै पटक बैठक बसेर आइपिओ जारी गर्न खोजे पनि सहमति हुन नसकेको उनले बताए । 

उनले अब छिट्टै बोर्ड अध्यक्ष नियुक्त भएसँगै आइपिओ जारी हुने जानकारी दिए । बोर्ड अध्यक्ष बन्नका लागि पाँच जना सर्टलिष्टमा परेका छन् । अध्यक्ष पदमा आवेदन दिएकामध्ये छनोट हुनेहरूमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा‍‍‍. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन् । 

छनोटमा परेकामध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समितिका पूर्वअध्यक्ष, अधिकारी र श्रेष्ठद्वय बोर्डकै निर्देशक हुन् । 

प्रस्तुति र अन्तर्वार्ताका आधारमा अब तीन जनाको छनोट हुने छ भने दुई जना बाहिरिने छन् । यसरी छनोट भएका तीन जनामध्येबाट एक जनालाई नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्षका रूपमा नियुक्त गर्ने छ । 

सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । तत्कालीन बोर्ड अध्यक्ष  हमालकाे कार्यकाल सकिएपछि बाेर्डले अध्यक्ष पदका लागि आवेदन माग गरेकाे थियाे ।

आइपिओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरू

 


Author

थप समाचार
x