अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका १११ रनले विजयी
काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको तेस्रो खेलमा दक्षिण अफ्रिकाले शानदार जित हात पारेको छ ।
मंगलबार राति दक्षिण अफ्रिकामा भएको खेलमा घरेलु टोलीले अस्ट्रेलियालाई १ सय ११ रनले पराजित गरेको हो । यससँगै सिरिजमा अस्ट्रेलियाले २-१ ले मात्र अगाडी रहेको छ ।
जितका लागि ३ सय ३९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३४ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २७ रन बनायो ।
अस्ट्रेलियका लागि डेभिड वार्नरले सर्वाधिक ७८ रन बनाए । अस्ट्रेलियालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीले सर्वाधिक ४ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३८ रन जोड्यो । उसका लागि आइडेन मार्करामले सर्वाधिक १ सय २ तथा क्विन्टन डी ककले ८२ रन बनाए ।