विश्वकप छनोटः आयरल्यान्डले यूएईविरुद्ध खेल्दै
काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज समूह चरणका अन्तिम दुई खेल हुँदैछ । आज समूह ‘बी’ मा रहेका आयरल्यान्डले युनाइटेड अरब इमिरेट्स (यूएई) तथा श्रीलंकाले स्कटल्यान्डको सामना गर्ने तालिका रहेको छ ।
सुपर सिक्स दौडबाट बाहिरिसकेका टेस्ट राष्ट्र आयरल्यान्ड र यूएईबीचको खेल बुलावायो एथलेटिक क्लबमा हुनेछ । आयरल्यान्ड र यूएई दुवैले खेलेका अघिल्ला तीन खेलमै पराजय भोगेका छन् । आजको खेलमा जित हात पार्ने टोली समूहको चौँथो तथा पराजित हुने टिम पाँचौ स्थानमा रहनेछ ।
समूह ‘ए’ मा भने नेपाल चौँथो तथा अमेरिका पाँचौ स्थानमा रहेका छन् । प्लेअफमा नेपालले आयरल्यान्ड र यूएईबीच हुने खेलमा पराजय भोग्ने टोलीविरुद्ध खेल्नेछ ।
समूह ‘बी’ मै रहेका श्रीलंका र स्कटल्यान्डबीचको खेल क्विन्स स्पोर्ट्स क्लबमा हुनेछ । जित हात पार्ने टोली समूह विजेताको रुपमा सुपर सिक्समा पुग्नेछ । यस समूहबाट श्रीलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा पुगिसकेका छन् ।
समूह ‘ए’ बाट भने जिम्बाब्वे, नेदरल्यान्ड्स र वेस्ट इन्डिज सुपर सिक्समा पुगेका छन् ।