सम्पादकीय
सडकमा जलवायु संकट
एकातिर देश वायु प्रदूषणको चपेटामा छ । अर्काेतिर प्रदूषण कम गर्ने उपाय खोजिएको छैन । संघीय राजधानी काठमाडौँ उपत्यका प्रदूषित सहरमध्येमा एक नम्बर छ । यो साह्रै नै चिन्ताजनक विषय हो । तर, सरोकारवालाहरू चिन्तित देखिँदैनन् ।
वायु प्रदूषण कम गर्ने उपाय अनेक होलान् । जसरी प्रदूषणका कारण पनि अनेक छन् । तर, हामीले गर्नुपर्ने तर नगरिरहेको विषयमा सोच्नु जरुरी छ । सहर प्रदूषित हुनुमा यातायात मुख्य जिम्मेवार छ । यातायातको अव्यवस्थाले जनजीवन पनि कष्टकर बनेको छ । हरेक दिन समयको बरबादी भएको छ । दीर्घ रोगको संक्रमण बढेको छ ।
सहर भद्रगोल यातायातको पर्याय बनेको छ । विशिष्टहरूको सवारीको आतंकले बिरामीदेखि विद्यार्थीसम्म आजित छन् । कार्यालय समयमा जाम हुने कारण स्कुले साना बालबालिका बिहानै सातै बजे बस चढ्न बाध्य छन् । दूधे बालकहरू रुँदै हर दिन घण्टौँ बसमा आमासँग यात्रा गर्छन् । यो उनीहरूको बालअधिकार विपरीत हो । एम्बुलेन्सदेखि वारुणयन्त्रसमेतले विशिष्टका लागि बाटो छाड्नुपर्ने देश बनेको छ, नेपाल । ठूलाबडा शासकहरूका लागि बाटोमा कहिल्यै कुनै अवरोध छैन । तर, आम सर्वसाधारणका लागि त्यही बाटोको यात्रा ‘नर्कयात्रा’ बनेको छ ।
देश कस्तो छ भनेर हेर्नै आँखीझ्याल एउटा सडक हो । जुन देशमा सडकपेटी छैन, साइकल लेन छैन, अपांगतामैत्री मार्ग छैन, त्यो देश कस्तो देश होला ? सडक वरपरका ढलमा पुरिएर कतिको त अनाहकमा ज्यान पनि गइसक्यो । के यो सामान्य अवस्था हो ? अब बर्खा सुरु हुन्छ, केही महिनापछि । के हाम्रा सडक बर्खामैत्री छन् ?
सडक भनेको शरीरको नसा जस्तै छ । नसामा अवरोध हुँदा शरीरले काम गर्दैन । त्यसैले सडक सुरक्षित र भरपर्दाे हुनुपर्छ । सडकमा धुवाँ फ्याक्ने सवारी होइन, वातावरणमैत्री सवारी गुड्नुपर्छ । जुन देशमा यत्रो बिजुली छ, त्यो देशमा धुवाँमा कति पैसा उड्छ ? डिजेल र पट्रोलको विकल्प कहिले खोजिन्छ ? डिजेल र पेट्रोलमा जति पैसा बाहिरिन्छ, त्यसले स्वदेशमै धेरै गर्न सकिन्थ्यो । पैसा पनि नबाहिरिने, वातावरण पनि स्वच्छ हुने, अझ मानवको स्वास्थ्य पनि नबिग्रिने यस्तो हरित विकास गर्न किन नसकिएको हो ?
सडकलाई संवेदनशील र अत्यावश्यक स्थल घोषणा गर्नुपर्छ । कसैको पनि एक मिनेट विलम्ब गराइदिनु अपराध ठानिनुपर्छ । अनि सडकलाई प्रदूषणको कारक बनाइनुहुन्न । चीन सरकारले अनुदानमा दिएको बिजुलीबाट चल्ने ट्रली बसलाई बहुदलले खाइदियो । भएको ट्रलीबस, रोप वे नेताहरूले सिध्याइदिए । यस्ता संरचना/पूर्वाधार देशका लागि आवश्यक छ भन्ने कुरा उनीहरूको दिमागमा अझैसम्म चढेको छैन । कस्तो दिमाग होला ? विदेशमा त घुमेर, देखेर आएका त छन् नि यिनीहरूले ?
आफ्ना राजनीतिक कार्यकर्ता व्यवस्थापन गर्न ल्याएको प्रदेश संरचना काम नपाएर बसेको जस्तो देखिन्छ— यसले खर्च गर्न नसकेको, नभएको इत्यादि देख्दा । कम्तीमा संघीय राजधानीसहित प्रदेशका राजधानीहरूले घनाबस्ती, जहाँ आउँजाउँमा अत्यधिक भीड हुन्छ, त्यस्ता ठाउँमा ट्रलीबस सञ्चालन गर्नुपर्ने होइन र ? उदाहरणका लागि कोशी प्रदेशको इनरुवादेखि इटहरी हुँदैन जोगबनीसम्म । हरेक प्रदेशमा ट्रली बस र पहाडी प्रदेशमा साधन ढुवानीका लागि रोपवे बनाउन सकिन्छ । वर्षायाममा बिजुली खपत हुन नसकी खेर जाने, तर नेताहरूलाई यस्ता कुरामा परवाह नहुने । यिनका तलब, भत्ता पाकेकै छ । काम नगरे पनि अर्काेपटक ‘जनअनुमोदित’ भइहालिन्छ, किन काम गर्नुपर्‍यो भन्ने मानसिकता छ ।
जलवायु परिवर्तन अब विश्वमै जलवायु संकट बनिसकेको छ । यस्तोमा नेपालले आफ्नो तयारी गर्नुपर्छ । धुवाँ र धुलोरहित विकास गरेर दुनियाँका सामु आफ्नो पावर बढाउन सक्नुपर्छ । पृथ्वी जोगाएबापत नेपालले विकसित र धनी राष्ट्रबाट आर्थिक लाभ लिन सक्छ । आर्थिक लाभभन्दा पनि मुख्य कुरा त आफ्ना देशवासीको स्वास्थ्य हो । भावी पुस्ताको स्वस्थ जीवन झनै महत्वपूर्ण पाटो हो ।
यतातिर नेपाल सरकारले चासो नदिने हो भने विश्वले भन्नेछ— वनजंगलले ढाकिएको नेपाल अब तुवाँलो, धुलो, मैलो, प्रदूषित हावाले ढाकिएको छ ।