सम्पादकीय
राजनीति लोकरिझ्याइँ, नागरिक तिरिमिरिझ्याइँ
नातावाद, वंशवाद र लोकरिझ्याइँको राजनीतिले श्रीलंका टाट पल्टियो । नेपालीको प्रतिव्यक्ति आय बल्ल १३ सय डलर छ, श्रीलंकाली जनताको केही वर्षअघि नै ४ हजार डलर पुगेर मध्यम आय भएको मुलुक बनिसकेको थियो ।
जतिसुकै समृद्धशाली, वैभवशाली मुलुक भए पनि स्रोतसाधनको अनुशासित र उत्पादनमूलक उपयोग भएन भने देश टाट उल्टिन धेरै समय लाग्दो रहेनछ भन्ने श्रीलंकाको उदाहरण हाम्रो आँखै अगाडि छ । वंशवादको राजनीति, सञ्चारमाध्यममाथि नियन्त्रण, अस्थिर नीतिगत व्यवस्था, लोकरिझ्याइँमा आधारित योजना र प्रतिफल दर नहेरी विकास गरिएका पूर्वाधार आयोजनाले श्रीलंकाले कठोर नियति भोग्नुपरेको छ ।
कुशासन र अव्यवस्थामा नेपाल पनि श्रीलंकाकै बाटोमा अघि बढेको छ । नातावाद, आसेपासे पुँजीवाद, भ्रष्टाचार र अव्यवस्थाले गाँजेको मुलुकमा दलहरूले त्यसलाई सुधार गर्नेबाहेक अरु सबै सपना देखाउँछन् । तिनका चुनावी प्रतिबद्धता राजनीतिको फोहोरी खेल समाप्त गर्ने र अव्यवस्थामाथि हस्तक्षेप गर्नेभन्दा लोकरिझ्याइँका नारा समावेश छन् । जसले मुलुकको स्रोतसाधन र आर्थिक अनुशासनको पर्वाह गरेका छैनन् ।
मुलुकमा उत्पादन र रोजगारी छैन । संस्थाहरू अव्यवस्था र अतिराजनीतिकरणले जर्जर भएका छन् । तिनले आफूले गर्नुपर्नेबाहेक बाँकी सबै काम गर्छन् । दलहरू र यसका नेताले योग्यता, श्रेष्ठताका आधारमा जिम्मेवारी, कार्यसम्पादनमा आधारित जवाफदेही प्रणाली, सार्वजनिक सेवा प्रवाहमा गुणस्तर र पहुँच विस्तारभन्दा पनि आफ्ना आसेपासे, हनुमान, चाचाचु (चाकडी, चाप्लुसी र चुक्ली) हरूलाई मात्र पश्रय दिए । मुलुकको हितका लागि बोल्नेहरू टिक्नै नसक्ने स्थिति भयो, बुद्धिजीवी भनिएकाहरू दलजीवीमा परिणत भए । दलमाथि दलाल, बिचौलिया, अपराध कर्म गर्नेहरूको लगाम छ । यो अवस्थाबाट अघि बढ्दै जाँदा हामी भड्खालोमा पर्ने त निश्चित नै छ ।
नेपाली कांग्रेसजस्तो जिम्मेवार दलले पनि अन्य दलको लोकरिझ्याइँको अगाडि प्रतिस्पर्धा गरेर वृद्धभत्ताको उमेर घटाएर ७० बाट ६५ मा झार्छौं भनेर मत मागिरहेको छ । औसत आयु बढिरहेको अवस्थामा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाउनु राज्यमा अर्को अर्बौं रुपैयाँको भार थप्नु हो ।
अन्य कतिपय दलले वितरणमुखी र स्रोत अनुमानविनाका ठूला–ठूला परियोजनाको लालसा देखाएका छन् । यसका लागि स्रोत कहाँबाट ल्याउने ?
खाडीमा युवाले श्रम गरेर पठाएको रेमिट्यान्सलाई हामीले मुलुकभित्र उत्पादन, रोजगारी सिर्जना गर्ने गरी उपयोग गर्ने कि खायो, पियो, उडायो गरेर सधैं मगन्ते नारायण भइरहने हो ?
हल्लाखोर हाबी भएको हाम्रो समाज र लोकरिझ्याइँको लालसा राख्ने जनताकै कारण यथार्थमा आधारित बोली क्रमशः मधुरो बनेर गइरहेको छ । यो अवस्थाले सिंगो समाजको चेतनामाथि नै प्रश्न गरेको छ ।
यो अवस्थाबाट मुक्त हुनका लागि लोकरिझ्याइँको राजनीतिबाट सम्भव छैन । कुशासन र अव्यवस्थामाथि सशक्त हस्तक्षेप गर्न आवश्यक छ । यो लोकप्रिय बाटो होइन, सबैलाई थाहा छ । सबैले लोकप्रियताकै राजनीति गर्ने हो भने त्यो लोकरिझ्याइँले हामी संकटमा जकडिनेछौं ।