एएफसी यू-१७ छनोटः आत्मविश्वस नभएको नेपाली टिम
काठमाडौँ- सन् २०२३ मा हुने एएफसी यू-१७ एसियन कपको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बुधबार खेल्दैछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्नेछ ।
नेपाल र थाइल्यान्डबीचको खेल भियतनामको भिएट ट्री स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ । समूह ‘एफ’ मा नेपाल र थाइल्यान्डसँगै आयोजक भियतनामर चाइनिज ताइपेइ रहेका छन् ।
समग्रमा छनोटमा सहभागी ४४ टिमलाई १० समूहमा विभाजन गरिएको छ । र प्रत्येक समूहको विजेता टिमले यू-१७ एसियन कपमा स्थान बनाउनेछन् । साथै उत्कृष्ट पाँच समूह उपविजेताले पनि एसियन कप खेल्न पाउनेछन् ।
तर नेपाली टिममा छनोट हुने कुरामा आत्मविश्वासी छैन । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले छनोट हुने लक्ष्य रहेको बताए पनि उनी आत्मविश्वासी देखिएनन् । उनले छनोट हुन नसके समूहमा दोस्रो हुने प्रयास गरिने बताए ।
‘प्राथमिक लक्ष्य भनेको छनोट हुने नै हो । त्यसो हुन नसके कमसेकम समूहमा दोस्रो हुने र छनोटको ढोका खुला राख्ने हाम्रो चाहना हो । समूहमा बलिया टिम छन् । हामी पनि बलियो नै छौँ । हामी राम्रो खेल देखाउन चाहन्छौँ,’ उनले थपे ।
श्रेष्ठले भने समूहका अन्य टोलीका खेल नदेखेको भएपनि सहभागी सबै टिम उही स्तरको हुन सक्ने जनाए ।
‘मलाई लाग्छ यो उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै हुन्छ । सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन् । सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन् । मुख्य कुरा खेलाडीले मैदानमा आफ्ना प्रशिक्षकले योजना बनाए अनुसारले खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो । जुन टिमले प्रशिक्षकको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ,’ उनले थपे ।
थापाले भने टिममाथि जित हात पार्नुपर्ने दवाव रहने बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता हो, उमेर समूहकै भए पनि राष्ट्रिय टिम हो। त्यसकारण जित्नै पर्छ भन्ने दबाब महसुस हुन्छ, यो स्वाभाविक हो।’
नेपालले समूह चरणको दोस्रो खेल भियतनामविरुद्ध अक्टोबर ७ तथा तेस्रो खेल चाइनिज ताइपेइसँग अक्टोबर ९ मा खेल्ने तालिका रहेको छ ।
प्रशिक्षक थापाले नेपाली युवा खेलाडीहरुका लागि छनोट आफ्नो स्तर र प्रतिभा देखाउने मञ्च पनि रहेको बताउँदै राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्नसक्छ भनेर फेरि एकपटक प्रमाणित हुने विश्वास व्यक्त गरे ।
‘हाम्रो योजना ४–३–२–१ संरचनामा खेल्नेछौँ। बल पाएका बेला आक्रमण गर्ने, नभए अनुशासित भएर रक्षात्मक खेल्ने। दुवै रणनीतिमा सम्हालिएर खेल्नेछौँ, हतार गर्नेछैनौँ। सुरुवाती समयमा विपक्षीको खेल पनि बुझ्नु पर्छ। त्यसकारण हतार नगरी खेल्ने योजना हो। उनीहरु पनि सुरुमा त हामीलाई बुझ्ने कोसिस गर्लान्। त्यसकारण सुरुबाटै प्रेसिङ गेम नहुन सक्छ।’
प्रशिक्षक श्रेष्ठका लागि थाइल्यान्ड पहिलो तगारो हो । ‘थाइ टिमविरुद्ध हाम्रो रणनीति कत्तिको सफल हुन्छ, दोस्रो खेलमा भियतनाम र चाइनिज ताइपेईबीचको खेल कस्तो हुन्छ, यी सबै कुरालाई विश्लेषण गरी बाँकी दुई खेलका लागि रणनीति बनाउने छौँ,’ उनले थपे ।