सिटीलाई पराजित गर्दै लिभरपुलले जित्यो उपाधि
काठमाडौँ – इंग्लिस क्लब लिभरपुलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । इंग्ल्यान्डको किंग पावर स्टेडियममा शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।
लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट अलेक्जान्डर-आरनोल्ड, मोहमद सालाह र डार्विन नुनेजले एक-एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए ।
खेलको २१ औँ मिनेटमा गोल गर्दै अलेक्जान्डर-आरनोल्डले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर सिटीका अल्भारेजले ७० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी पुर्याएका थिए ।
सालाहले भने ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुलले पुनः अग्रता बनाएको थियो । तर नुनेजले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।