सौर्यको जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौँ - सरकारले सौर्यको जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सह प्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा बिहीबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् ।
साथै सरकारले आगामी दुर्घटना हुन नदिन हाल संचालनमा रहेका विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नागरिक उड्डयन प्राधिकरणले सो को अनुगमन गर्न निर्देशन दिएको उनले बताए ।