मन्त्रिपरिषद् बैठक
सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न प्रतिपक्षी दललाई सरकारको आग्रह
काठमाडौँ- सरकारले सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न प्रतिपक्षी दललाई आग्रह गरेको छ ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले समस्या समाधानका लागि सरकार गम्भीर भएर लागिरहेको भन्दै जिम्मेवार प्रतिपक्षी भएर सहमति खोज्न आग्रह गरेकी छन् । उनले सम्वाद छलफलबाटै समाधान निस्कनेमा सरकार विश्वस्त रहेको बताइन् ।
प्रवक्ता शर्माले सहकारी समस्या समाधान गर्नका लागि सबै एकमत रहेको भन्दै सबै विषयवस्तुमाथि वा व्यक्तिमाथि छानबिन गर्ने भन्ने प्रश्न उठेको धारणा राखिन् । समग्र सहकारीका विषयमा छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने विषयमा सहमति नजिक पुगे पनि प्रतिपक्षी दल अर्को ढंगले प्रस्तुत भएको उनको भनाइ छ ।
त्यस्तै मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रवक्ता शर्माले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूले प्रधानमन्त्री कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको बताइन् । बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने र फौजदारी कसुर तेस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै मन्त्रिपरिषदले स्टाण्डर्ड नाप र तौल छैटौँ संशोधन नियमहरू स्वीकृत गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको एक संयन्त्रमा नेपालको सहभागिताका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।