शून्य समयमा सांसदहरू : कसले के भने ?
काठमाडौँ - प्रतिनिधि सभा सांसद नारायणप्रसाद खतिवडाले सिसडोलवासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलवासीमाथि भएको दमन उचित नभएको भन्दै विरोध गरेका हुन् ।
उनले स्थानीय निर्वाचनमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको पनि बताए । फोहोर व्यवस्थापनको नाउँमा नुवाकोटमा १७ वर्ष अगाडिदेखि बेथिति हुँदै आएको भन्दै खतिवडाले स्थानीय जनताको जायज माग सम्बोधन गरेर फोहोर व्यवस्थापन गर्न सरकारसँग माग गरे ।
‘जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङ जिल्लाको धुनीबेसीबीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने विषयमा नुवाकोटे जनताहरूमाथि प्रहरी दमन भएको छ,' उनले भने, 'स्थानीय चुनावमा चुनाव चिह्न लगेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ । फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ वर्ष अगाडिदेखि बेथिति भएको छ । त्यसको व्यवस्थापन गरेर स्थानीय जनताको जाहेज माग सम्बोधन गरेर फोहोर गर्ने व्यवस्था होस् ।’
त्यस्तै, सांसद नवराज राउतले रुखका पात र आकाशमा बादल लाग्ने बित्तिकै बत्ति जाने प्रदेश भनेर कर्णाली प्रदेशलाई भन्न थालिएको बताए। उनले कोहलपुर सुर्खेत १३२ केभी प्रशारण लाइनको कामको टेण्डर भएको दुई वर्ष भइसक्दा पनि काम हुन नसक्नुले यो समस्या आएको बताए। राउतले पछिल्लो समय दिनको ३५ पटक समेत बत्ति जानेको गरेको जनताको गुनासो रहेको बताए ।
‘कर्णाली प्रदेशको राजधानीस्थित कोहलपुर सुर्खेत १३२ केभी प्रशारण लाइनको कामको टेण्डर भएको दुई वर्ष भइसक्यो । इआइएको काम पनि सम्पन्न भएको छ,' उनले भने, 'राष्ट्रिय निकुञ्जभित्र पर्ने रुख कटानीको अनुमति नेपाल सरकार र वन तथा वातावरण मन्त्रालयले त्यसको टुङगो लगाउनु पर्ने १३ हजार रुखको टुङ्गो अहिलेसम्म वनमन्त्री ज्युको टेवलमा पुग्दामा पनि टुङ्गो लागेको छैन । त्यसले काम अवरुद्ध भएको छ । सिङ्गो कर्णालीवासी र सुर्खेत वीरेन्द्रनगर स्थित दिनको ३५ पटक बत्ति जाने गरेको छ । रुखका पात हल्लिएमा, आकाशमा बादल लागेमा बत्ति जाने प्रदेशको नाम कर्णाली प्रदेश भनेर त्यहाँका जनताले भनेका छन् ।'
त्यस्तै सांसद नवराज सिलवालले निजी अस्पातालहरूले जनताको ढाड सेकिने गरी उपचार खर्च लिँदासमेत सरकार मौन बसेको बताए । उनले निजी अस्पतालले १० प्रतिशत बेडमा जनतालाई निःशुल्क उपाचार गर्ने सरकारसँग सम्झौता गरे पनि कुनैले पनि कार्यान्वयन नगरेको भन्दै सरकारलाई तत्काल अनुगमन गर्न माग गरे।
‘संसद्मा उठेका विषय सरकारले गम्भिरताका साथ लिने गरेको देखिँदैन । एउटै विषय बारम्बार उठ्दा पनि सरकारले सम्बोधन गरेको देखिँदैन । निजी अस्पतालहरूले अहिले जनु ढङ्गले कामहरू गरिरहेका छन्,' उनले भने, 'औसत उपचारको शुल्क जुन हिसावले लिइरहेका छन् । त्यो जनताले धान्नै नसक्ने खालको रहेको छ । निजी अस्पतालहरूले सरकारसँग १० प्रतिशत बेडसम्म निःशुल्क उपचार गर्ने सम्झौता गरेका छन् । तर १० प्रतिशत बेडहरूमा कसैलाई पनि निःशुल्क उपचार गरिँदैन ।’
सांसद निरुदेवी पालले सरकारले छिटो भन्दा छिटो संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पास गर्न माग गरिन् । उनले नागरिकता विद्येयक संसदबाट पास नहुँदा विशेष व्यवस्थामा रहेका नागरिकले नेपाली नागरिकता पाउनबाट बञ्चित भएको बताइन् । उनले सांसदबाट यसअघि नै पास भएको आमाको सिफारिसमा छोरा छोरीले नागरिकता पाउने व्यवस्था सरकारलाई लागू गर्नसमेत माग गरिन् ।
‘नागरिता विधयेक लामो समयदेखि राज्य व्यवस्था समितिमा रह्यो । अहिले सांसदमा विचाराधिन रहेको छ । यस्तो संवेदनशील विषयमा सरकार संसद किन मौन ?,' उनले भनिन्, 'यो विधेयक पास नहुँदा विशेष अवस्थामा रहेका नेपाली नागरिकता लिनबाट बञ्चित छन् । नागरिकता लिन नपाउँदा उच्च शिक्षा र रोजगारी पाउनबाट समेत बञ्चित बन्नु परेको छ । निर्वाचनमा समेत मताधिकारको समेत प्रयोग गर्न पाएका छैनन् । अब छिटो भन्दा छिटो नागरिकता विधेयक संसदबाट पारित परियोस् ।’
त्यस्तै सांसद पार्वती विशुंखेले ललितपुरको शंखमुलमा २०६९ सालदेखि सञ्चालनमा रहेको जगतगरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई पढाइबाट वञ्चित गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले आर्थिक रुपमा विपन्न परिवारका बनलकहरूले किन पढ्न पाउँदैनन् भन्दै सरकारलाई प्रश्न गरिन् ।