फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस, बिदा दिनु दु:खद् : ओली
काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए । यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उनको भनाइ छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो ? भनि प्रश्नसमेत गरे । उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए ।‘सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ,' उनले भने, 'जुन सही होइन । सरकारले किन त्यो गर्‍यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि महिमामण्डन गर्न पर्‍यो ? त्यो मैले पनि बुझेको छैन ।’
अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताए ।