देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् ।
मंगलबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको जिकिर गरे । सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली काँग्रेसहरूमा खुसी र उत्साह हुने उनकाे भनाइ छ ।
महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि काँग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे । उनले संसदीय दलको नेताको चुनाव नेपाली काँग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताए ।
महामन्त्री थापाले नेपाली काँग्रेसको नेतृत्वको सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको बताए ।