धनुषाका चार निर्वाचन क्षेत्रमा ८ पूर्वमन्त्रीहरू चुनावी मैदानमा

मधेशमा निधिबाहेक ‘हेवी–वेट’ नेताहरू प्रत्यक्षमै भिड्दै

सुभाष कर्ण | असोज ३, २०७९

जनकपुरधाम - नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिबाहेक मधेशमा ‘हेवी–वेट’ नेताहरू प्रत्यक्ष निर्वाचनमा भिड्ने भएका छन् । केही नेता निर्वाचन क्षेत्र परिवर्तन गरेर त केही पुरानै क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा भिड्न खोज्दैछन् । पार्टीहरूका क्षेत्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारहरूका नाम सिफारिस गरिसकेको छ ।

धनुषाका चार निर्वाचन क्षेत्रमा ८ पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिने सम्भावना देखिन्छ । महोत्तरीमा पनि पूर्वमन्त्रीसहितका ‘हेवी–वेट’ नेताहरू चुनावी मैदानमा आउने भएकाले प्रतिस्पर्धा रोचक हुनेछ ।

धनुषा– १ मा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा माओवादीबाट पूर्वमन्त्री मातृका यादव र एमालेबाट रामचन्द्र मण्डल लगायतका प्रभावशाली नेताहरू प्रतिस्पर्धामा उत्रन खोज्दैछन् । तर, गठबन्धनबाट कसले टिकट पाउने हो भन्ने अझै स्पष्ट भइसकेको छैन । 

क्षेत्र नम्बर २ मा कांग्रेसबाट रामकृष्ण यादव, नेकपा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री रामचन्द्र झा, लोसपाबाट पूर्वमन्त्री उमाशंकर अरगरिया देखापरेका छन् । अरगरिया एमाले पार्टीमा प्रवेश गर्न लागेको कारण एमालेबाट प्रतिस्पर्धा गर्ने देखिन्छ ।
धनुषा क्षेत्र नं. ३ बाट चुनाव लड्दै आएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र समानुपातिकतर्फ गएपछि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र महतो, पूर्व मन्त्री एवं नेकपा एमालेकी नेतृ जुली महासेठ र जसपाबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह प्रतिस्पर्धामा रहने सम्भावना छ ।

गत निर्वाचनमा एमालेले लोसपा नेता राजेन्द्र महतोका लागि उक्त क्षेत्र छाडेको थियो । यसपालि एमालेले जुली महतोलाई उठाउने भएको छ । गएको भदौ २७ गते एमालेले जनकपुरधाममा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुलीलाई टिकट दिने भन्ने प्रतिबद्धता सार्वजनिक रूपमै जनाइसकेका छन् ।

धनुषा–४ बाट रघुवीर र ३ बाट जुलीको नाम सिफारिस गरिए पनि दुवै जनामध्ये एक जना उम्मेदवार हुने सम्भावना छ । हुन त, एमालेको विधानमा श्रीमान्–श्रीमती उम्मेदवार हुन पाउने व्यवस्था छैन । दुईमध्ये एक जना मात्र उम्मेदवार हुनेछन् । टिकट कसले पाउने छिनोफानो हुन सकेको छैन ।

उक्त क्षेत्रमा एमालेका सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ कांग्रेसका सहसचिव एवं पूर्व मन्त्री महेन्द्रराय यादव र जसपाबाट महाजन यादवबीच प्रतिस्पर्धा हुने भएको छ । कडा प्रतिस्पर्धा भए पनि केही दिनअघि महेन्द्र यादवका दायाँ हात भनिएका सन्तोष यादव एमालेमा प्रवेश गरेपछि उनको अवस्था अलि कमजोर हुने भन्ने आँकलन गर्न थालिएको छ ।

सबै पार्टीका ‘हेवीवेट’ नेताहरू आ–आफ्नो उम्मेदवारी दाबेदारी गरे पनि सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरू चुनावी गठबन्धन भएमा कसले टिकट पाउने अन्यौलता देखिएको छ । कांग्रेसले क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रमा दाबी गरिरहेको छ । जसपाले क्षेत्र नम्बर ३ र २ मा आफ्नो दाबी कायम राखेका छन् भने माओवादीले क्षेत्र नम्बर १ र नेकपा एसले क्षेत्र २ मा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

यसबाहेक मधेशमा अन्य जिल्लाहरूमा समेत नेपाली कांग्रेसका प्रभावशाली नेताहरू अमरेशकुमार सिंह, किरणकुमारी यादव चुनावी मैदानमा छन् । हुन त, सर्लाहीमा अमरेशको ठाउँमा पार्टीका महामन्त्री गणनकुमार थापाको नाम सिफारिस गरिएको छ, तर थापाले काठमाडौबाट नै चुनाव लड्ने भनी सकेपछि अन्ततः सिंह नै त्यहाँबाट उम्मेदवार हुने निश्चित देखिन्छ ।

त्यस्तै, नेकपा एमालेवाट प्रभु साह र सत्यनारायण मण्डल लगायतका ‘हेवी वेट’ नेताहरू चुनावी मैदानमा देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजयकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादव, डा. सुरेन्द्र यादव, डा. सूर्यनारायण यादव लगायतका ‘हेवी वेट’ नेताहरूलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

गठबन्धनको पर्खाइमा रहेका लोसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनल लगायतका नेताहरू चुनावी मैदानमा उत्रिने भएका छन् । हुन त, लोसपाका अध्यक्ष ठाकुरलाई पार्टीमा समानुपातिकमै रहन दबाब छ । तर उनी प्रत्यक्षबाट नै चुनाव लड्ने मनस्थितिमा रहेका उनकै निकटवर्तीहरू बताउँछन् ।

त्यस्तै, नेकपा माओवादीबाट गिरिराजमणि पोखरेल, रामेश्वर यादव, नेकपा एसमा मधेश प्रदेशमा ‘हेवी वेट’ नेता मानिएका पार्टीका अध्यक्ष स्वयंम् माधवकुमार नेपाल स्वयं र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि प्रत्यक्षबाट नै निर्वाचनमा भिड्ने भएका छन् ।

प्रदेशका ३२ प्रतिनिधि सभा र ६४ प्रदेश सभा निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनमा सबै दलले आ–आफ्नो दाबी गरे पनि प्रत्यक्षतर्फ उम्मेदवार पुर्‍याउन समेत दलहरूलाई हम्मेहम्मे परेको छ ।

माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

इकागज | असोज २, २०७९

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छल...

एमाले सचिवालय बैठक सकियो, समानुपातिक उम्मेदवारको नामावली भाेलि तय हुने

इकागज | असोज १, २०७९

काठमाडौँ- आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न ...