मधेश सरकारले गर्यो संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा
जनकपुरधाम - प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरूद्ध आन्दोलनको घोषणा गरेका छन् । संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आएपछि बाध्य भएर संघीय सरकारविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिए ।
आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खाणसहित गठबन्धनका नेताहरूलाई ज्ञापन बुझाए पनि समायोजन गर्ने मनसायमा नदेखिएकोले आन्दोलनको बाटो रोज्नु परेको उनले बताए ।
'संघ प्रहरी हुने, स्थानीय तहको पनि प्रहरी हुने तर प्रदेश सरकारले संविधानमा व्यवस्था भए पनि राख्न नपाउने ? यो संघीयता विरोधी कदम हो, ' उनले भने, यसविरूद्ध न्यायलयसमेत ईमान्दार देखिएन ।'
मन्त्री साहले प्रदेश सरकारविरूद्ध उजुरी दिए पनि न्यायलयले मधेश प्रदेशलाई विभेद गर्दै पेशीआउनेबितिकै मिति सार्ने नाटक गर्दै आएको आरोप लगाए ।
पहिलो चरणमा ७ दिने अल्टिमेटमसहित साउन २२ गते संघ सरकारका प्रतिनिधि प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।।
अल्टिमेटमभित्र माग पूरा नभए सरकारमा बसेका दलसहित सर्वदलीय निर्णय गरेर आगामी अर्को चरणको आन्दोलन गरिने उनले बताए ।
गठबन्धन दलका शीर्ष नेता सहमत भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाड जस्ता केही व्यक्तिको समायोजनको पक्षमा नरहेको आरोप उनले लगाए । सरकारले निर्देशन दिए एक हप्ता भित्रै समाोजन हुने उनको भनाइ छ ।