नि:शुल्क कृषि मिटरका लागि मधेश कृषि मन्त्रालयको पहल
जनकपुरधाम- किसानहरूको सिँचाइ व्यवस्थापनका लागि नि:शुल्क कृषि मिटर उपलब्ध गराउने पहल मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुरु गरेको छ ।
नेपाल सरकारको घोषित कार्यक्रम अन्तर्गत प्रदेशका ४४ वटा पालिकाले कृषि मिटर पाइसकेका छन् । छुट भएका ९२ वटा पालिकासहित वडाहरूको प्रक्रिया गर्न पूरा गर्न प्रदेशका कृषि मन्त्रालयले पहल सुरु गरेको हो ।
मन्त्री बसन्त कुशवाहा, मन्त्रालयका सचिव डा. नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालयका प्रमुख ई. मुनिन्द्र ठाकुरको समन्वयमा मधेश प्रदेशभित्र सम्पूर्ण १३६ वटै पालिकाका वडाहरूमा सिँचाइ व्यवस्थापनका लागि नि:शुल्क कृषि मिटर पहल सुरु गरिएकाे हो ।
कृषि मिटरका लागि प्रक्रिया पूरा गर्न नसकेका पालिकाहरूले जिल्लाको नेपाल विद्युत् प्राधिकरण कार्यालयका प्रमुखसँग भेटेर छलफल गर्ने, नेपाल विद्युत् प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नुपर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउनेसहित निर्णय पालिकाले कार्यपालिकाबाट पारित गराई सम्बन्धित प्राधिकरणलाई उपलब्ध गराउन र बाँकी कार्यका लागि नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालय र प्रदेश कृषि मन्त्रालयले पहल गर्ने निर्णय गरिएको मन्त्री कुशवाहाले जानकारी दिएका छन् ।
उनले भने, 'कृषि मिटर नि:शुल्क पाइसकेका पालिकाका किसानहरूले पम्पिङ्ग सेट मन्त्रालयबाट उपलब्ध गराउने कार्य जारी रहेको छ । हुनत यसअघि पनि पम्पिङ्ग सेट उपलब्ध गराइएको थियो तर त्यो व्यवस्थित थिएन । अब कृषि मिटर पाएकाहरूलाई मात्र पम्पिङ्ग सेट उपलब्ध गराइनेछ ।'
उनका अनुसार सप्तरीको ९, धनुषाको १४, महोत्तरीको ११, रौतहटको ६ र पर्सा तथा सर्लाहीको १/१ वटा पालिकाका अधिकांश वडाहरूले नि:शुल्क कृषि मिटर पाइसकेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका सप्तरी जिल्लाको राजबिराज नगरपालिका, रूपनी गाउँपालिका, छिनमस्ता गाउँपालिका, बिष्णुपुर गाउँपालिका, बलान बिहुल गाउँपालिका, बोदेबरसाइन नगरपालिका, खड़क नगरपालिका, सुरूँगा नगरपालिका, अग्निसाइर कृष्णसवरण गाउँपालिकासहितका ९ वटा पालिकालाई कृषि मिटर उपलब्ध गराइएको छ ।
त्यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, सहिदनगर नगरपालिका, बिदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, हंसपुर नगरपालिका, कमला कमला नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसरनिया गाउँपालिका, मिथिला बिहारी नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीनिया गाउँपालिकासहितका पालिकका वडाहरूले पाएका छन् ।
महोतरीका औरही नगरपालिका, गौशाला नगरपालिका, सम्सी गाउँपालिका, भंगहा नगरपालिका, एकडारा गाउँपालिका, पिपरा गाउँपालिका, मनारा सिस्वा नगरपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिका, महोतरी गाउँपालिका, रामगोपालपुर नगरपालिका, सर्लाहीका ईश्वरपुर, बसवरिया, रौतहटका मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, कटहरिया नगरपालिका, माधवनारायण नगरपालिका, गढीमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र पर्साको बीरगंज महानगरपालिकाका किसानहरूले कृषि मिटर पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरण प्रदेश कार्यालयबाट पालिकाहरूको कृषि मिटरका लागि ४० करोड ८५ लाख २६ हजार ४७४ रुपैयाँ थप बजेटसहितको रकम समेत स्वीकृत गरिएको जनाइएको छ । जिल्लागत रूपमा धनुषाका लागि ४२ लाख, महोत्तरीका लागि ८ करोड ७८ लाख, सर्लाहीका लागि २५ करोड ३५ लाख, रौतहटका लागि ५ करोड २९ लाख र बाराका लागि एक करोड रुपैयाँ छुटयाइएको छ भने थप बजेटका लागि ८२ करोड ६३ लाख फाइल पठाइएको छ ।