गृह जिल्लामा सहानुभूति खोज्दै कमल थापाले भने : अब मात्रै एक चान्स दिनुस्
मकवानपुर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चुनाव आफ्नो जीवनकालको अन्तिम हुने भन्दै समर्थन गरिदिन आग्रह गरेका छन् ।
चुनावी तयारीका लागि गृह जिल्ला मकवानपुर आएका थापाले आफ्नो जीवनमा धेरै राम्रा काम गरेको दाबी गर्दै अब एक मात्रै अवसर दिन शुभेच्छुकहरूसँग आग्रह गरे । 'जीवनमा धेरै पटक चुनाव लडेँ, काम गर्ने अवसर पनि पाएँ, गरेँ पनि, अब मात्रै एक चान्स दिनुस्,' उनले कार्यकर्तासँगको भेटमा भने ।
आफ्नो जीवनमा आफू यसपछि चुनावी माहोलमा नजाने बताउँदै थापाले भने, 'यो मेरो जीवनको अन्तिम चुनाव हो ।'
आफ्नो गृह जिल्लामा सहानुभूति मत अपेक्षा गरेका थापाले अन्तिम निर्वाचन जित्ने ठूलै अभिलाषा रहेको बताए । मकवानपुरमा थापाले पार्टीका नेता कार्यकर्ता तथा स्वतन्त्र युवाहरूसँग भेटघाट गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
भेटघाटमा उनले हेटौंडालाई प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै आएका छन् । हेटौंडामा भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अन्तिम एकपटक चुनाव जितेर जिल्लाको लागि केही गर्न मन भएकोले फेरि पनि जनताको आशीर्वाद चाहेको उल्लेख गरे ।
राप्रपा नेपालले थापालाई प्रतिनिधि सभामा मकवानपुरको क्षेत्र न १ बाट एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।