राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत
बुटवल- लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।
विवादमा आएकी लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले यहीँ असार १२ गते दिएको राजीनामा आज स्वीकृत भएको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् ।
जेठ ३१ गते दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिटमा संलग्न रहेको भनी उनी विवादमा तानिएकी थिइन् । घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन् ।
पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो।