एमाले कैलाली अधिवेशन : मतदान सकियो, आजै मतगणना थालिने
कैलाली - नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन अन्तर्गत आज भएको मतदान सकिएको छ। धनगढीमा सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिएको हो । ६ सय ९ मतदाता रहेकोमा ५ सय ९० मत खसेको प्रमुख निर्वाचन अधिकृत चक्र तिमिल्सिनाले बताए । उनले आज रातिदेखि नै पार्टी कार्यालयमा मतगणना पनि सुरु गर्ने बताए ।
एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। जिल्ला अध्यक्षमा विगतदेखि नै एमाले पृष्ठभुमी भएका दुई नेताबीच प्रतिस्पर्धा भइरहे पनि चुनावमा पूर्व माओवादी विरुद्ध एमाले एक ठाउँमा देखिएको छ। माओवादी छाडेर एमाले रोजेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले अध्यक्षमा थापालाई सहयोग गरेका छन्।
उनको प्यानलबाट सचिवमा पूर्वमाओवादीका दानबहादुर बिक चुनावी मैदानमा छन्। भट्टले आफ्ना स्वकीय सचिव हितेश ओझालाई पनि थापा प्यानलबाटै चुनाव लडाएका छन्। भट्टसंगै एमाले सुदूरपश्चिमका सहइञ्चार्ज कर्ण थापाले पनि थापा प्यानललाई नै सहयोग गरेका छन्। केन्द्रीय सचिव भट्ट पक्षधरका रतन थापाविरुद्ध एमालेका पुर्व उपाध्यक्ष भिम रावल, नारदमुनी राना, झपट रावल, लिला भण्डारी, कमला वली, दीपक देवकोटा लगायतका नेताले मोर्चावन्दी गरेका छन्। उनीहरुले चन्द प्यानललाई साथ दिएका छन्।