एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको कीर्तिमान
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा रोहितले एक हजार रन पुरा गरेका हुन् । नामिबियाविरुद्धको खेलमा उनले उक्त कीर्तिमान कायम गरे ।
३३ एकदिवसीय खेल खेल्दै रोहितले हजार रन हिर्काए । रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक तथा ६ वटा अर्धशतक समेत प्रहार गरेका छन् । रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एक खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले सर्वाधिक १ सय २६ रन बनाएका छन् ।
रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत चैतमा पपुवा न्यूगिनीविरुद्धको खेलमा ७ चौका र ४ छक्काको मदतमा १ सय २६ रन बनाए ।
नेपालका लागि शतक पुरा गर्ने रोहित तेस्रो खेलाडी हुन् । पूर्व क्रिकेटर पारस खड्काले १ सय १५ रनसहित शतक तथा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रनसहित शतक पुरा गरेका छन् ।