जलवायु सङ्कट र अधिनायकवादबाट लोकतन्त्र जोगाउन नेपाल–अमेरिका सघन सहकार्यः राजदूत बेरी
काठमाडौँ– नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठका अवसरमा अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीले नेपाल र अमेरिकाबीचको बहु–पुस्ताको सम्बन्ध जनस्तरसम्म फैलिएको साथै सार्वभौमिकताको सम्मान तथा लोकतान्त्रिक मूल्यमान्यता सम्बन्धको बलियो जग भएको बताएका छन् ।
द्विपक्षीय सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्षमा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिएको उल्लेख गर्दै बेरीले अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्ने गरेको बताएका छन् ।
‘यस साताले हामीलाई अमेरिकी र नेपालीहरूबिचको सम्बन्ध एक यस्तो सम्बन्ध हो जुन पुस्तौँदेखि चल्दै आएको छ र चलिरहने छ भन्ने कुराको स्मरण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउँछ । सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको थियो । युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्‍यो ।’
महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गर्यो । यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्नेछ र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्ने बताइएको छ ।
‘नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ । सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ । यस कार्यक्रमका परिणाममध्ये काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ ।’
विद्यमान जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी अमेरिका र नेपाललाई एक–अर्काको आवश्यकता रहेको बेरीले उल्लेख गरेका छन् ।
‘यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।