सम्पादकीय
राजनीतिमा उपयोगितावाद सत्य हो, अरु सब भ्रम
राष्ट्रपतिको उम्मेदवारीमा प्रस्तावक र समर्थक दलका मत हेर्दा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सजिलै चुनाव जित्नेछन् । तर, राजनीतिक नेतृत्ववृत्तमा ‘कुरा फेर्न’ र ‘चाल चल्न’ माहिर प्रवृत्ति हेर्दा मत परिणाम नआएसम्म यसै भन्न सकिने अवस्था छैन । अनि आमआशंका छ, राष्ट्रपतिको चुनावी परिणाम नआएसम्म नवगठित गठबन्धनको पनि भर सकिँदैन । किनभने कसले, कतिबेला, कसलाई धोका दिन्छ भन्ने अड्कल नै काट्न नसकिने राजनीतिक वातावरण बनेकै छ, राजनीतिक नेतृत्ववृत्तमा हाबी चालबाजीका कारण ।
गएकै पुस १० मा केही घन्टामै चुनावअघि बनेको त्यति कसिलो गठबन्धन भत्कियो, नयाँ गठबन्धन बन्यो । नयाँ गठबन्धनसँगै शासकीय पदमा धमाधम भरिँदै थियो, कांग्रेस अमिलो मन लगाउँदै बाहिरिँदै थियो । तर, त्यो गठबन्धन पचपन्न दिन टिक्न समेत नपाइकन धर्मरिन पुगेको छ । राष्ट्रपतिकै उम्मेदवारी दर्ता गर्न जाँदा एमाले नेतृत्वजन खिन्न र उदास अनुहारमा देखिन्थे । उता, कांग्रेस–माओवादी–समाजवादीहरूवालाहरू जितकै हाउभाउमा उज्यालो अनुहारमा थिए ।
यसरी परिवर्तित उदास र उज्यालो अनुहार फागुन २५ सम्म कायम हुन्छ कि हुँदैन अझै शंकाकै विषय हो । त्यसअतिरिक्त राजनीतिमा सिद्धान्त, निष्ठा, पुँजीवाद, साम्यवाद, समाजवाद जे÷जस्ता शब्दावली छन्, हाम्रा हकमा किताबका पानामा सीमित हँुँदैछन् । हामीकहाँ सबभन्दा प्रभावी बनेको ‘वाद’ बनेको छ, ‘उपयोगितावाद’ ।
दल र तिनका नेतृत्ववृत्त ‘उपयोगितावाद’लाई अस्त्र बनाउँदै सत्ता–लाभ लिँदै छन् । यसमा फरक यत्ति हो, कसैले लाभ लिँदा कसैले हानी बेहोर्नुपर्छ । त्यही ‘उपयोगवादी’ नीतिअनुरूप सरकार बनाउँदै गर्दा एमाले–माओवादी प्रभावी भए । अनि राष्ट्रपतिको उम्मेदवारी दिँदा कांग्रेस–माओवादी एक भएका छन् । हाम्रा दलीय नेतृत्व वृत्तको कामै भनेको रणनीतिक दाउपेचमा रम्नु र आफूलाई स्थापित गर्नु हो । त्यसो भएपछि को, कतिबेला, कोसँग मिल्न पुग्छन्, को कसँग छुट्टिन पुग्छन् भनी हिसाब–किताब राख्नु वा विश्लेषण गर्नु नै मूर्खता हो ।
अनि यतिखेर मात्र यस्तो दृश्य मञ्चन पहिलो पनि हुँदै होइन । सत्ता प्राप्तिमा यस्ता खेल अनगन्ती पटक भइसकेका छन् । अनि मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो राष्ट्रपति चुनाव हुँदै गर्दा पनि यस्तै नौटंकी देखापरेको छ । इतिहास केलाउँदा २०६५ साउन १ सम्म माओवादीले तत्कालीन एमाले महासचिव झलनाथ खनाललाई राष्ट्रपतिमा सहयोग गर्ने पक्कापक्की भएको थियो । उतिखेर माओवादीको चाहनामा माधवकुमार नेपाल पनि परेकै हुन् । अंक गणितीय हिसाबले संविधानसभामा माओवादी फराकिलो मतान्तरमा पहिलो पार्टीमा स्थापित थियो भने कांग्रेस–एमाले दोस्रो–तेस्रो शक्तिमा खुम्चिएका थिए ।
नाटकीय तवरमै माओवादीले रातारात एमालेको साथ छाड्यो र राष्ट्रपतिमा नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहलाई अघि सा¥यो । त्यस्तो खेलसँगै एमाले झस्किन मात्र पुगेन कि माओवादीसँग बन्न लागेको समीकरण पनि भत्कन पुग्यो । त्यो खेलसँगै एमाले आक्रोशित बन्न पुग्यो र राजनीतिमा ‘उपयोगितावाद’ हाबी भएको संज्ञा दियो । माओवादीले सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि एमाले कांग्रेससँग मिल्न पुग्यो भने जहाँ उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम पनि मिल्न आइपुग्यो । त्यसपछि एमाले र नौवटा साना पार्टीको मतमा कांग्रेसका उम्मेदवार डा. रामवरण यादव बहुमतका राष्ट्रपति बनेका हुन् । दृश्य उस्तै मञ्चन हुँदो रहेछ, राजनीतिमा जति वर्ष बिते पनि ।
त्यसरी कांग्रेस–एमाले मिलेपछि लगत्तै एमालेबाट सभामुख सुवास नेम्वाङले संविधानसभा अध्यक्ष बन्ने मौका पाए । अनौठो चाहिँ राष्ट्रपतिका निम्ति एक भएका कांग्रेस–एमाले चार सातापछि सरकार निर्माण हुँदै एकै ठाउँमा उभिन सकेनन् । अर्थात् तिनको गठबन्धन टुट्न पुग्यो । सरकारका निम्ति माओवादी, एमाले, फोरमसहितका साना दलहरू सम्मिलित नयाँ गठबन्धन बन्यो । राष्ट्रपति र सभामुख चयनमा जसरी नै कसिलो गरी समीकरण निरन्तर रहेको भए दाहाल प्रधानमन्त्री हुन पाउने थिएनन्।
त्यसो हुँदा राजनीतिमा अन्य ‘वाद’लाई तिलाञ्जलि दिँदै जसरी ‘उपयोगितावाद’ हाबी भएको छ । यस्तो आलोकमा अब रातारात गठबन्धन जोड्ने–टुट्ने खेललाई सामान्य ठान्नुपर्छ । अर्काे सकारात्मक पक्ष चाहिँ गठबन्धन टुटफुटकै कारण राज्यका अंगहरूमा शक्ति सन्तुलन कायम हुन पुगेको छ । यदि राष्ट्रपति निर्वाचन परिणाम आउँदासम्म नवनिर्मित गठबन्धन कायम रह्यो भने ठूला दलहरू कांग्रेस राष्ट्रपति, माओवादी प्रधानमन्त्री र एमालेले सभामुख पद पाउनेछन् र सँगै शासकीय शक्ति सन्तुलन गर्न सक्छन् । अर्थात् रातारात प्रतिनिधि सभा विघटनका सिफारिस सदर नहोलान्, विधेयक–अध्यादेश शीतल निवासकै चिसोमा नकठ्यांग्रिएला भनी विश्वास गर्न सकिने आधार बन्न सक्छ । अर्काे तीतो सत्य चाहिँ राजनीति भनेको ‘उपयोगितावाद’मै मात्र चल्छ भन्ने ठानियो भने नेतृत्व पंक्तिले बचेखुचेको विश्वास गुमाउनेछ ।