सम्पादकीय

सम्पादकीय

कोशी प्रदेशः सम्भावनाहरूको खेल राजनीति

इकागज | असोज २, २०८०

राजनीतिलाई सम्भावनाहरुको खेल भनेर नेताहरु नै भन्छन् । त्यो सम्भावनाको खेल भनेको को प्रधानमन्त्री खाने, खुवाउने, बस्ने बसाउने, को मन्त्री हुने, कसलाइ मन्त्री बनाउनेमा मात्र सीमित हुने प्रवृत्ति नेपाली राजनीतिमा छ । ‘सम्भावनाको खेल’ बनाएकै कारण राजनीति यति धेरै विद्रुप र आमनागरिकमा वितृष्णा बढाइरहेको छ । जनताले अस्वीकार गरेकालाई राष्ट्रिय सभा र समानुपातिकमा सांसद बनाएपछि त्यो ‘सम्भावनाको खेल’ भयो । जसरी हुन्छ, शान्ति, सुव्यवस्था, अमनचैन र सेवा प्रवाहमा कुनै कसर बाँकी नराखिने नीति नै राजनीति हो तर यहाँ राजनीति भनेको को सत्तामा पुग्ने भन्ने खेलमा मात्र सीमित हुन पुगेको छ । आमसरोकारका विषय गौण बन्ने, युवाहरुलाई विदेश लघारेर सरकारहरुका विरोध गर्ने युवारहित बनाउने खेल नै राजनीति हो ।

यस्तै ‘सम्भावनाको खेल’ अहिले कोशी प्रदेशमा देखिन थालेको छ । आगामी असोज २० गतेभित्र कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत लिनुपर्नेछ । तर हिजो राप्रपा साथमा हुँदा पनि एक सिट नपुगेका कारण सरकार अल्पमतमा परेको र अहिले त कोशी प्रदेशको राप्रपाले कित्ता फेरिसकेकाले विश्वासको मत आर्जन नहुने स्पष्टै छ । त्यही भएर मध्यावधि टार्नका लागि अब संविधानको धारा १६८ (५) को सरकार बन्ने प्रबल सम्भावना छ । यही सम्भावना नै कोशीको राजनीति हो । सरकार गठन भएयता यस्तै खेलहरुका सम्भावना खोज्दाखोज्दै सरकार स्थिर भएन । बजेट आएन । नीति तथा कार्यक्रम, बजेट अनि आमनागरिकले सुविधा पाउने कुरा त फगत ‘सम्भावना’ मात्र भएका छन् ।

केन्द्रको हावी भयो, गाउँघरमा सिंहदरबार गएन, सानो कुरालाई पनि केन्द्र धाउनुपर्ने भयो भन्ने अनेक फत्तुर लगाउँदै अपनाइएको संघीयता अर्थात् प्रदेश सरकारको औचित्य नै नरहेको कोशी प्रदेशको सरकार, राजनीतिक दल  तिनका कृत्यहरुले देखाइसकेका छन् । केन्द्रका टाउके नेतालाई सनक चढ्यो भने धारा १६८ (५) को सरकार नबन्ने अर्काे सम्भावना छ । केन्द्रका टाउकेहरुकै निर्देशन शीरोधार्य गर्नु थियो भने विकेन्द्रित प्रणाली भनिएको प्रदेश सभा किन चाहियो ? प्रदेशका मतादेशको के यो उपेक्षा भएन र ? कोशी प्रदेशका मतदाताहरुको कार्यादेश हो— मिलेर काम गर । स्पष्ट बहुमत कुनै दलको छैन । यद्यपि संघ र प्रदेशमा कुनै एक दलको स्पष्ट बहुमत सैद्धान्तिक रुपमा मात्र आउँछ, व्यवहारमा आउँदैन । जहाँ समानुपातिक प्रणालीमार्फत आफ्ना कार्यकर्तालाई जागिर दिने चलन संविधानतः आयो, त्यहीं एकल दलको बहुमत आउने सम्भावना केवल सम्भावनामा मात्र सीमित हुन पुग्यो ।

गठबन्धनमा अदलाबदली भइसकेपछि दलहरुले कित्ता परिवर्तन गरे । समीकरण फेरियो । मुख्यमन्त्रीको जागिर गयो । सभामुखको जागिर गयो । तैपनि सरकार स्थिर बनेन । धारा १६८(५) बमोजिम सरकार गठन भएर विश्वासको मत प्राप्त हुँदा पनि समर्थन फिर्ता लिनेबित्तिकै पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । अनि यस्तै सम्भावनाका खेलहरु मज्जाले मञ्चित हुँदै जानेछन् । राजनीतिक भनेको यत्ति मात्र हो । अब आमनागरिकले दुःख पाएका, घरको चुल्हो बाल्न विदेश जानुपरेका, दाइजो नपाएर दिनहुँजसो महिलाहरु प्रताडित हुनुपरेका, किसानले खेताका गह«ामा पानी पु¥याउन नसकी रोपाईं गर्न नसकेका, आकाशे पानी परेर पनि समयमा मल पाउन नसकेका, समाजमा शान्ति सुरक्षा कायम हुन नसकेका विषयहरुप्रति प्रदेश न संघ, कुनै सांसद र नेताहरुलाई चिन्ता र चासो छैन । उनीहरुलाई केवल चासो छ त— सम्भावनाहरुको खेल कसरी खेल्ने भन्ने ।

केन्द्रको गठबन्धन र विपक्षीबीच पानी बाराबार छ । राजनीतिक संस्कार छैन । सके संसद विघटन नै गरिदिने, चलेको बेला अवरुद्ध गर्ने । यस्तो संस्कार लिएको मुख्य विपक्षी अहिले कोशी प्रदेशमा सम्भावनाहरुको खेल खेल्न आलोपालोको कुरा गरिरहेको छ । तर प्रदेश सरकारको रचना केन्द्रको टाउके नेताको मुख सुँघेर निर्णय गर्ने थिएन । कोशी प्रदेशका जनताको मतादेशअनुसार मिलेरै गर्नुपर्ने थियो । तसर्थ कोशी मात्र होइन, संघ र अन्य प्रदेशहरुमा पनि यस्तै सम्भावनाहरुको खेल खेल्दाखेल्दै जनता आजित भइसकेको चाहिं यी दल र यिनका नेता बेखबर छैनन्, हामीबाहेक अरु को छ र भन्ने दम्भ छ ।

राष्ट्रिय पुरस्कारमा गरिएको भाँडभैलोको जवाफ भुवन केसीले दिने कि रेखा शर्माले

इकागज | भदौ १४, २०८०

गत मंगलबार राष्ट्रपति निवासमा २०७९ र २०८० को राष्ट्रिय पुरस्कार बाँडियो । यही अवसरमा सरकार निकट केही ब...