'ए' डिभिजन लिग : सातदोबाटोको लगातार दोस्रो जित
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा नेपाल एपीएफ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै सातदोबाटोले दोस्रो जित हात पारेको हो ।
सातदोबाटोलाई जित दिलाउन विलियम असिएडुले निर्णायक गोल गरे । विलियमले खेलको ५५ औँ मिनेटमा गोल गर्दै सातदोबाटोको जित सुनिश्चित गरे । विलियमले सेन्टर केही दूरीबाट गरेको लामो प्रहारले जाली चुमेको थियो ।
यसअघि पहिलो खेलमा सातदोबाटोले न्यूरोड टिमलाई २-१ ले पराजित गरेको थियो । एपीएफले पहिलो खेलमा थ्रीस्टार क्लबलाई २-० ले हराएको थियो ।
यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै पहिलो जित हात पार्यो
हिमालयनको जितमा अमृत श्रेष्ठले निर्णायक गोल गरे । अमृतले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।