बार्सिलोनाका स्ट्राइकर औबामेयाङको घरमा चोरी
काठमाडौँ- हतारधारी समूहले स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर पियरी-इमेरिक औबामेयाङको घरमा चोरी गरेका छन् । स्पेनको बार्सिलोना प्रान्तको कासलडिफेल्समा रहेको औबामेयाङको घरमा सोमबार चोरी भएको आईएएनएसले जनाएको छ ।
चोरीका क्रममा औबामेयाङमाथि हातपात समेत भएको थियो । स्पेनिस पत्रिका ऐएल पेसले जनाए अनुसार सोमबार राति १ बजे मास्क लगाएका तथा हतियार बोकेका चारजना व्यक्तिहरु उनको घरमा प्रवेश गरेका थिए । उनिमाथि हतियार तेर्स्याउँदै गहना रहेको सेफ खोल्न लगाएका थिए ।
यता आएसी वान रेडियोले जनाए अनुसार औबामेयाङ र उनकी श्रीमतिलाई एक घण्टासम्म भुइमा सुत्न लगाएर उनीहरुले मूल्यवान वस्तुहरु खोजेका थिए ।
बार्सिलोनाका खेलाडीको घरमा भएको चोरीको यो घटना भने पहिलो होइन । यसअघि जेरार्ड पिके र जोर्डी अल्बाको घरमा पनि चोरी भएको थियो ।