१ बजे भनिएको प्रतिनिधिसभा बैठक किन अझै सुरु हुन सकेन ?
काठमाडौँ– संघीय संसदअन्तर्गतकाे प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो हुँदा पनि सुरु हुन सकेको छैन ।
मिटरब्याजसम्बन्धी विधेयक आइतबार संसदबाट पारित गर्ने विषयमा दलहरू बीच छलफल जारी छ ।
पास गर्ने प्रक्रियाका सन्दर्भमा थप छलफल गर्ने जिम्मा पार्टीका प्रमुख सचेतकहरूलाई दिइएको छ ।
छलफलमा एमालेले विधेयकको भाषा मिलाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची तय गरिसकेको छ ।