नक्कली भुटानी शरणार्थी प्रकरणको विषय सदनमा जानकारी गराउन सांसद गैरेको माग
काठमाडौँ– नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको कारबाहीका बारेमा सदनमा जानकारी गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाकाे बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘प्रतिनिधिसभाको २६ र २७ गतेको बैठकमा स्वयं सभामुख महोदयले संसद्को तर्फबाट जानकारी गराउन रुलिङ पनि भएको थियो,’ सांसद गैरेले भने, ‘तर, आज पनि सरकारले सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूची देखिनँ । म मान्य सभामुख ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सरकारले सदनमा जानकारी दिन के कारणले समस्या भइरहेको छ भन्दै प्रश्नसमेत गरे ।
‘यस्तो जघन्य विषयमा अपराध जन्य विषयमा सरकारले यो सार्वभौम सदनलाई आएर यस्तो भएको छ,’ उनले भने, ‘यति प्रगति भएको छ भनेर हामीले गर्दै छौँ भन्न के कारणले समस्या भइरहेको छ ? जनतालाई यसको निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वास छैन ।’
उनले नेकपा एमालेको केन्द्रीय समितिले पनि यसको निष्पक्ष छानबिन गर्न माग गरेको भन्दै यसको बारेमा सदनलाई जानकारी दिन माग गरे ।