सहकारी प्रकरणका बारेमा मैले संसदबाट जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपका बारेमा आफूले बोल्न पाउनुपर्ने अडान कायमै राखेका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी ओलीसँगको छलफलका क्रममा लामिछानेले कांग्रेसले सहकारी प्रकरणमा आफूमाथि लगातार आरोप लगाएकाले आफूले संसदबाट त्यसको जवाफ दिन पाउनुपर्ने अडान राखेका हुन् ।
बैठकमा कांग्रेसले संसदीय छानबिन समिति माग गरेको अवस्थामा मंगलबारको बैठक कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो । छलफलका क्रममा लामिछानेले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विरोध गरे आफूले पनि बोल्न पाउनुपर्ने अडान राख्ने बताए ।
छलफलपछि लामिछानेले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्ने बताए । सदनमा जवाफ दिन पाउने आफ्नो अधिकार भएकाले कसैले खोस्न नमिल्ने उनको भनाइ छ । लामिछानेले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन कांग्रेसले संयम अपनाउनुपर्ने सुझाव दिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले सदनलाई सहज रूपमा अघि बढाउन कांग्रेससँग छलफल गर्ने बताएका थिए ।