प्रधानमन्त्रीको अभिव्यक्ति जातीय द्वन्द्वका लागि झिल्को बन्यो : शेखर कोइराला
काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिले कोशीमा जातीय द्वन्द्व फैलनका लागि झिल्कोको काम गरेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘धरानमा भएको घटना देख्दा धार्मिक लडाइँ जस्तो देखिए पनि धरान पुगेपछि मलाई त्यो जातीय लडाइँ हो जस्तो लाग्यो,’ उनले भने, ‘यसमा झिल्को दिने काम प्रधानमन्त्रीकोे अभिव्यक्तिले काम गरेको जस्तो लाग्छ ।’
पुष्पकमल दाहाल एउटा पार्टीको अध्यक्ष मात्रै नभएर प्रधानमन्त्रीको पदमा भएकाले उनको अभिव्यक्ति ठिक नभएको कोइरालाको भनाई छ । ‘आदिवासी जनजाति दिवसमा प्रधानमन्त्रीले ‘मलाई बहुमत देऊ, म जातीय राज्य बनाइदिन्छु’ भन्ने अभिव्यक्ति दिनुभएको थियो,’ कोइरालाले भने, ‘उहाँ एउटा पार्टीको अध्यक्ष मात्र भएको भए नोटिस हुने थिएन होला । तर, देशको प्रधानमन्त्रीले त्याे बोल्ने कुरा थिएन । मैले प्रहरी प्रशासनसँग संवाद गर्दा कुनै बेला त्यहाँको परिस्थिति भड्किन सक्छ भन्ने बुझेँ ।’
प्रधानमन्त्रीको अभिव्यक्तिले फरक सन्देश जाने उनको भनाइ छ । करिब दुई घण्टा पत्रकारसँग छलफल गरेका कोइरालाले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरे।
उनले मुलुकको राजनीतिक आर्थिक, सामाजिक सांस्कृतिक धार्मिक समाजका कुनै पनि आयाम ठिक अवस्थामा नभएको दाबी गरे । देश अराजकता तर्फ उन्मुख भएको उनको भनाइ थियो । ‘चुच्चे नक्साको इस्यू आएपछि कूटनीतिक अराजकता थपिएको स्पष्ट छ,’ कोइरालाले भने, ‘चुच्चे नक्साको विषयमा पूर्व परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रीबाट फरक–फरक कुरा आएका छन् । यसमा राज्यले गम्भीर हुँदै सोच्नुपर्ने विषय हो भन्ने मलाई लाग्छ ।’
सरकारका मन्त्रीहरूको समीक्षा गर्ने बेला भइ नसकेको भएता पनि सरकारले राम्रो काम गर्न नसकेको बताए । विभिन्न संस्थामा दलीय भागबण्डामा नियुक्ति भएकाले मन्त्रीहरूले स्वतन्त्ररूपमा काम गर्न नपाएको उनको गुनासो थियो । सरकारले ललिता निवासमा पूर्वप्रधानमन्त्रीहरूसँग लिएकाे बयानबारे समेत उनले असन्तुष्टि जनाए ।
कोइरालाले कांग्रेसमा गगन र आफूबीच समान अजेन्डा भएकाले आफ्नो समुह एकबद्ध रहेको पनि संकेत गरे । आगामी महाधिवशेनबारे कुनै स्पष्ट कुरा नगरे पनि कोइरालाले गगन–शेखर समूह सँगै लड्ने योजनामा रहेको प्रष्ट्याए । पार्टीसभापतिमा एकपटक मात्रै बस्ने भनेका शेखरले अघिल्लो पटक हारेकाले एक पटक नै नपुगेको भन्दै आफू सभापतिमा लड्नेकुरा समेत स्पष्ट पारेका थिए । अबको अजेन्डा भनेको सुशासन भएकाले आफू सुशासनकै अजेन्डा लिएर जनतामाझ जानेसमेत उनले उद्घोष गरे ।