बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन् ।
सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आंकलनसहितका टिकाटिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता भने नरहेको बताएका हुन् । उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने दाबी गरे ।
उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने जिकिर गरे । उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए ।
उनलै भने, ‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहने छ । एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु । यो सरकार यही गठबन्धन ५ वर्ष रहने छ । केन्द्रमा पनि रहने छ र प्रदेशमा समेत रहने छ । जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ ।’
नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए ।