कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, मत विभाजनमा जसपा सहभागी नहुने
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेश सभाको बैठक बस्न लाग्दा जनता समाजवादी पार्टीले विश्वासको मत लिने प्रक्रियाको मत विभाजनमा सहभागी नहुने भएको छ ।
जसपा प्रदेश समितिका अध्यक्ष दिपक याख्खाले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सम्बन्धमा हुन लागेको मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् ।
जसपा मत विभाजनको प्रक्रियामा सहभागी नहुँदा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको प्रदेश सभाको बहुमत ४७ मत प्राप्त गर्न सक्दैनन् भने विश्वासको मत दिन्न भन्ने विपक्षी गठबन्धनको पक्षमा पनि प्रदेश सभाको बहुमत नपुग्ने भएको छ ।
जसपाले मत विभाजनमा सहभागी नभए मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढल्ने निश्चित छ । सरकारमा अहिले एमालेको ४० र राप्रपाको ६ सांसदसहित ४६ सांंसद छन् । जसपाले मत विभाजन हुँदा मत प्राप्त गर्ने आशामा मुख्यमन्त्री कार्की बसेका थिए । तर, जसपाले मत विभाजनमै सहभागी नहुँदा उनको सरकार संकट नजिक पुगेको हो ।
मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट जेठ १७ गते जसपा फिर्ता भएको थियो । जसपाले आफ्नो विज्ञप्तिमा संघीयता र पहिचानको निम्ति संघर्ष गर्दै आएको र प्रदेशका रैथाने पहिचानहरूलाई समाप्त पार्ने षड्यन्त्र गरी प्रदेश नम्बर १ को नामकरण जालझेलपूर्ण तरिकाले कोशी राख्ने र त्यसविरुद्ध पहिचान पक्षधर न्यायप्रेमी जनताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि समेत एमालेले दमन गरेको आरोप लगाएको छ ।
साथै कोशी नामकरणको पक्षमा मतदान गर्ने अरु दलहरूप्रति पनि जसपा विश्वस्त हुन सक्ने कुनै राजनीतिक आधार नदेखिएको भन्दै मतदान कार्यमा सहभागी नहुने जनाएको छ ।
‘पहिचानलाई सम्बोधन गरेर पुनः प्रदेशको नामकरण गर्नेबारे बलियो राजनीतिक आधार निर्माण नभएसम्म जसपा प्रदेश नम्बर १ कसैको पक्ष वा विपक्षमा मतदान नगर्ने र तटस्थ रहने नीतिका साथ अगाडि बढेको स्पष्ट पार्न चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ ।
कोशी प्रदेशमा जसपाको एक सिट रहेको छ । प्रदेश सदस्य निर्मला लिम्बु सभा सदस्य रहेकी छन् । उनी यसअघि मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा स्वास्थ्यमन्त्री थिइन् ।